लिभिङ टुगेदर : महेन्द्र चालिसे (कथा)

लिभिङ टुगेदर : महेन्द्र चालिसे (कथा)

कपन अनलाइन

काठमाण्डौ,माघ १० ।

उनीहरू पहिलोपटक भेटिएको दिन कुनै नाटकजस्तो थिएन । न त फूलको बुके थियो, न कुनै प्रेमिल संवाद । सहरको महँगो क्याफेमा बसेर उनीहरू दुवैले एकअर्कालाई नापिरहेका थिए—जसरी व्यापारीले सामान नाप्छ । आर्यन श्रेष्ठले उसको उमेर सोधेन । उसलाई थाहा थियो—ती आँखा उमेरले होइन, अवस्थाले थकित थिए । मायाले पनि आर्यनको विगत सोधिन । उसलाई थाहा थियो—यस्ता पुरुषको विगतभन्दा वर्तमान महत्वपूर्ण हुन्छ ।
त्यो भेटपछि न प्रेम बढ्यो, न घृणा । बढ्यो भने केवल सम्झौता । आर्यनले उसको भाडा ति¥यो । उसले आर्यनको खाली रातहरू भरिदिई । यसरी उनीहरूको सम्बन्ध सुरु भयो—नामबिनाको, परिभाषाबिनाको । माया कहिल्यै आफूलाई प्रेमिका ठान्दिनथी । उसले आफूलाई बाँचिरहेकी ठान्थी । गाउँमा आमाले छाडेको अधुरो घर, कलेज छाडेको सपना, र सहरको महँगो साँस— यी सबैसँग लड्न उसलाई भावना होइन, सुरक्षा चाहिएको थियो । आर्यनले त्यो सुरक्षा दियो ।
तर बदलामा उसले के लियो ? उस्को शरीर ? उस्को समय ? वा उस्कै मौन सहमति ? मायाले कहिल्यै आफूलाई बेचिएको महसुस गरिन । किनकि उसले सम्झौतामा प्रवेश गर्दा आँखा खुलेका थिए । आर्यन भने आफैँलाई फरक ठान्थ्यो । ऊ सोच्थ्यो— “म उसलाई सहयोग गर्दैछु । म उदार छु ।” तर उसले कहिल्यै यो प्रश्न सोधेन— यदि म गरिब हुन्थेँ भने के ऊ यहाँ हुन्थी ?
समयसँगै माया बदलिन थाली । उसको चालमा आत्मविश्वास आयो । उसको आँखामा डर घट्यो । आर्यनलाई त्यो परिवर्तन मन परेन । पहिले माया उसको प्रतीक्षामा हुन्थी । पछि आर्यन उसलाई फोन गर्न थाल्यो । पहिले उसले चुपचाप सहन्थी । पछि ऊ “आज मन छैन ।” भन्न थाली । आर्यनले यसलाई स्वतन्त्रता होइन, बेवफाई ठान्यो ।
त्यही समय माया अर्काे मानिससँग भेटिन थाली— ऊं अझ धनी थियो, अझ शक्तिशाली, र अझै कम भावुक । त्यो सम्बन्ध पनि प्रेम थिएन । तर त्यो सम्बन्धले मायालाई एउटा कुरा सिकायो— यहाँ कोही पनि कसैको हुँदैन । मायाले आर्यन छोड्दा कुनै झगडा भएन । न त कुनै ठूलो संवाद । उसले केवल भनि, “अब म अघि बढ्न चाहन्छु ।”
आर्यनले हाँसेर टा¥यो । तर त्यो हाँसोभित्र केही चर्कियो । उसले आफूलाई धोका दिइएको ठान्यो । किनकि उसले दिएको पैसासँगै उसले अधिकार पनि दिएको ठानेको थियो । त्यस रात ऊसले पहिलोपटक एक्लो महसुस ग¥यो । पैसाले भरिएको घरभित्र भावनाको खालि आवाज गुन्जियो ।
अर्को हप्ता उसले पुलिसमा उजुरी दियो । “मलाई यौन ट्र्यापमा पारियो,” उसले भन्यो । पुलिस अफिसमा माया चुपचाप बसिरही । उसको मौनताले बयान दिइरहेको थियो । प्रश्नहरू आयो— किन उसले पैसा लिइ ? किन ऊ बसिरही ? किन ऊ गइ ? तर यी प्रश्नहरू कहिल्यै आर्यनतर्फ फर्किएनन् । समाजलाई प्रश्न चाहिएको थिएन, उनीहरूलाई दोषी चाहिएको थियो । माया त्यो दोषी बन्न सजिलो पात्र थिई— युवती, सुन्दरी, महत्वाकांक्षी । आर्यन भने पीडित देखिन्थ्यो— उमेरले थकित, भावनाले भाँचिएको । तर कसैले यो सोधेन— सहमति भएको सम्बन्धमा शक्ति असमान भए दोष कसको हुन्छ ? अदालतले अन्ततः केस खारेज ग¥यो । प्रमाण थिएन । अपराध परिभाषित थिएन । माया कानुनी रूपमा मुक्त भइ । तर ऊ स्वतन्त्र भइन । उसको नाम समाजले कैद गरिसकेको थियो । आर्यनले पनि केही जितेन । ऊ कानुनमा हार्दैन, तर ऐनाभित्र उसले आफूलाई चिनेन । उसले बुझ्यो— उसले प्रेम किनेको होइन, केवल मौनता किनेको थियो । र मौनता सधैं अस्थायी हुन्छ । सहर फेरि आफ्नै गतिमा चल्न थाल्यो । माया बिदेश गइ । आर्यन अर्को सम्बन्ध खोज्न थाल्यो । तर कथा त्यहाँ सकिँदैन । यो कथा उनीहरूको मात्र होइन । यो कथा त्यो समाजको हो जहाँ पैसा बोलेपछि नैतिकता चुप लाग्छ । जहाँ सहमति हुन्छ, तर समानता हुँदैन । जहाँ दोष अदालतले होइन, भीडले बाँड्छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।