चोर : महेशराज खरेल (कविता )

चोर :  महेशराज खरेल (कविता )

कपन अनलाइन

काठमाण्डौ ,असार २७।

जसले चोरे पनि चोरेकै हो
जसरी चोरेपनि चोरै हो
धेरै थोरै जेजति चोरे पनि
अंश मात्र भिन्नै हो
आँखिरी चोर त चोर नै हो

अलि ठुलाले मुर्ति चोरेको भेटियो
अझ ठूलाले देश बेचेको देखियो
चोरेर होस् कि बेचेर होस
दाम गोजीमा हाल्नेहरू चोर नै भनेर लेखियो

कोही सुन पसलको सुन चोर्छन्
कोही हेमानको बलियो घर फोर्छन्
कोही पशुपतिका भेटी सोहर्छन्
सुन चोरेपनि, घर फोरेपनि वा भेटी सोरेपनि
सबै आ आफ्ना दर्जाका चोर नै हुन्

चोर्नु एउटा आदत हो मानिसको
आदत मात्र होइन कुसंस्कार पनि हो
कुसंस्कारले सिकाएको चोरी आदत
रोकिँदैन कसै गरे
जतिनै ठूलो पदमा किन नपुगोस् त्यो
कुनै दबाब वा दण्डले
फेरिदैन चोर मति जसको
यस्तैले पाउँछन् ताला र चावी सँधै देशको
चोरले चावी पाएपछि
अर्काे चोरको मतियार भएपछि
रोकिँदैन कहिल्यै चोर्ने काम
देशमा चोरै चोर भएपछि

सहकारीको पैसा चोरेपनि
भकारीको धान सोरेपनि
बैङ्को ढिकुटी फोरेपनि
छिमेकीको घर तोडेपनि
बजेटको अंश कोरे पनि
यी सबै दर्जा दर्जाका चोर हुन् ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।