प्रकार्य : कुमार दाहाल (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,असार २७।
“यो कागज जलाउनु पर्छ !” सभा हलको बीचैबाट चिच्याउँदै एक युवक उठ्यो ।
सभाको स्वर थामियो । वडाध्यक्ष अक्क न बक्क भए । त्यो युवक अब माइकसामुन्ने उभिएको थियो– हातमा फाटेको टोपी, अनुहारमा आक्रोश थियोे ।
“२० वर्ष भयो गणतन्त्र आएको, तर हामीले के पायौं ? राहत र आश्वासनबाहेक केही छैन !”
सभा हलको हावासम्म थर्कियो । विद्वानहरूले एकापसमा हेरे, उपस्थित हाकिमहरू चुप लागे ।
वडाध्यक्षले संयमित स्वरमा भने, “यो कागज सपना होइन, भविष्यको यथार्थ प्रारूप हो । समृद्ध राष्ट्रहरूको अभ्यास, स्थानीय संसाधनको उपयोग, आत्मनिर्भर कार्ययोजना, सबै समेटिएको छ ।”
“हामीलाई योजना होइन, रोजगारी चाहिएको छ ! विचार होइन, व्यवहारको बाटो चाहिएको छ !” त्यस युवकले दस्तावेज च्यातेर फालिदियो ।
अर्का विद्वान उठे, टेबल ठोकेर भने, “हामीले दिन सक्ने जति दिनुपर्छ, अनि माग्नेले पनि हैसियत अनुसारको काम खोज्नुपर्छ र सरकारले दिलाउनुपर्छ । यही हो प्रकार्य !”
युवकले संयम भएर थपे, “विचारको बाँदर जति नचाए पनि अब पेटको पाठशाला खोल्नैपर्छ !”
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक