क्रोध : ढाका मोहन बराल (लघुकथा)

क्रोध : ढाका मोहन बराल (लघुकथा)

कपन अनलाइन

काठमाडौं ,जेष्ठ १७।

“बुबा धेरै रिसाउनु भएको छ ।” म भित्र पस्दा पस्दै श्रीमतीले भनिन् ।

उमेरले जति नै परिपक्व बनाए पनि अभिभावक रिसाए पछि मनमा हल्का डर महसुस हुने रहेछ ।
“बुबाले खाना खानु भयो ?” मैले सोधेँ ।
“अघि नै खानु भयो औषधि पनि खुवाइ सकेँ ।” उनले भनिन् ।
“त्यसो भए सुतिसक्नु भयो कि, भोलि कुरा गर्नु पर्ला ।” बुबाको रिसको सामना गर्न नसकेर हो अथवा उहाँको मायाले थाहा भएन तर मेरो मुखबाट यो वाक्य निस्कियो ।
“होइन भान्छामा नै हुनुहुन्छ ।” श्रीमतीले भनिन् ।
“बाबु खोइ त ?” मैले छोरोलाई खोजें ।
आज धेरै दिन पछि विद्यालय गएको अलि बेर काम परेको थियो । लगभग एक महिना बुबाको उपचारको लागि काठमाडौ भुलियो । पढाई भरखरै सुरु भएकोले अलि मेहनत गर्ने हो भने समयमा कोर्ष सक्न सकिन्थो जस्तो लाग्यो ।
“कर्मचारी सञ्चय कोष सापट र यताउती गर्दा त निकै खर्च भयो है हाम्रो यसपटक ?” श्रीमतीले वित्तिय प्रसंग उठाइन ।
“के गर्नु आफ्नो कर्तव्य निभाउनु पर्यो ।” भन्दै उनले आफ्नो कानको गहना बेचेर मलाई दिएको ढाडसको मैले प्रसंग उठाइन ।
सोचेँ “लामो समय भएको थियो आमाले पस्केर दिएको खान नपाउनु भएको, त्यसैले बुबा भान्छामा लामो समय बस्नु भएको छ ।”
बिस्तारै म पनि भान्छामा पसें ।
बुबाको आँखा रसिलो अनि हेराईमा हल्का क्रोध देखिन्थ्यो ।
“बुबा के भयो ?” मैले सोधेँ ।
“यो बालकको छाक कटाएर मलाई किन बचाउनु पथ्र्यो ।”
बुबाको नजर लैनो भैंसी बेचे पछि सुख्खा भात खाँदै गरेको मेरो छोरातर्फ थियो ।

सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।