आकार : शुक्रराज कुँवर (लघुकथा)

आकार : शुक्रराज कुँवर (लघुकथा)

कपन अनलाइन

काठमाडौं ,जेष्ठ १७।

रनबहादुर भुनभुनाउँदै तल्लाघरे कुमाले कहाँ पुग्यो ।
“के भयो दाइ आवेशमा हुनुहुन्छ त ?” कुमाले भाइले हार्दिकता पूर्वक बस्न आग्रह गर्दै आफ्नै काममा तल्लिन रह्यो ।
“के हुनु नि छोरोले वाक्क लगायो । भर्खर नौ वर्षको छ । चकचके त्यस्तै, मुखाले त्यस्तै, उपद्रोको त कुरै नगरुम । हिजोमात्रै किनेर ल्याएको हाँसको टिउरो खुट्टाले किचेर मारेछ । एक थप्पड दिएर आएको ।”
“बालबालिकालाई त्यसरी पिट्नु हुँदैन नि दाइ !” कुमाले भाइले प्रत्युत्तर ग¥यो ।
“नपिटेर हुन्छ ? तह लगाउन परेन? स्कूल जानेबेला त्यस्तै झगडा गर्छ । त्यसकी आमाले पुलपुलाएर राखेकी छे ।” स्वास्नीलाई दोष थोपर्दै रनबहादुर झनै कुर्लिए ।
“त्यस्तो होइन दाइ …!” कुमाले भाइ केही भन्न खोज्दै थिए त्यसैबेला उसको छोरो सुकिलो स्कूले लुगा लगाएर बाहिर निक्ल्यो । विनीत मुद्रामा रनबहादु तर्फ फर्केर नमस्कार ग¥यो र स्कूल तिर लाग्यो ।
“ओहो …! छोरो भनेको त यस्तो पो हुन्छ त । मेरो छोरो त राक्षेस छ राक्षेस । छोरालाई कसरी यस्तो सुसंस्कृत बनाइस् हो भाइ ?” रनबहादुर डाहा मिश्रित स्वरमा बोल्यो ।
कुमाले भाइले माटाको कलशलाई अन्तिम आकार दिँदै भने, बालबच्चा भनेका गिलो माटाका डल्ला सरह हुन् दाइ, जस्तो आकार दिन चाहनु हुन्छ त्यस्तै बन्छन् ।”

सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।