मुटुका कित्ताकित्ता लिम्पियाधुरा र लिपुलेक : मणिराज सिंह
कपन अनलाइन
काठमाण्डौ,फगुन २।
हिउँको सुगन्ध बोकेर
एक झोक्का बतास फुरफुरिरहेको छ
ढुंगाहरूले नीलो आकाशको शपथ खाँदै
हिमालका मौन कुमारी घाँटीहरूका छातीमा इतिहासले धड्कन उनिरहेकै छ
मौन साक्षी जस्तो उभिएर
मुटुका कित्ताकित्तामा सुसाइरहेको छ
लिम्पियाधुरा र लिपुलेक ।
नसा–नसामा उनेर माटोको सुँवास
जनजनको मुटु छाम्छन् कालीहरू
जहाँ हिउँ केवल सेतो मात्र छैन स्मृतिको चादरझैँ फैलिएको छ
पूर्खाका पाइला पछ्याउँदै भोलिका सपना न्यानो पार्दै
बतासले कानमा फुसफुसाउँदै फगत भूमि नाप्दैन
छिमेकीको बलमिच्याई र हेपहा प्रवृतिको मार खेप्दै
पिल्सिरहेका छौँ
समयले खोपेको मुहारजस्तै पाच्छिएर घिस्रीरहेको छौँ
कपटीहरूका स्वार्थी दाउ खुइल्याउन
खुकुरीको बिड समाउँदै धरोहरहरूका इन्द्रेणी पाइला
टेकिरहेका छौँ हामी
हाम्रै स्वाभिमानको सगरमाथामाथि उक्लेर
अस्मिता रक्षार्थ हामी मुट्ठी उचालेर
मनको प्रत्येक धड्कनमा छापिरहेका छौँ– इन्कलाव
मुटुका कित्ताकित्ता गुनगुनाइरहेका छन्
लिम्पियाधुरा र लिपुलेक ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
