विश्वास : गीता बराल (लघुकथा)
कपन अनलाइन
काठमाडौं ,जेष्ठ १७।
एकाबिहानै चामुण्डा देवीको दर्शनमा पुगेका राशी र शशी दुबैले मस्त टिकटक बनाए । पालो गरीगरी मोवाइलमा अभिनय कैद गरे । दुईचारवटा गीतहरूमा अभिनय गरिसकेपछि शशीले भनिन्, “राशी ! तिम्रो विहा दर्ताको कागत, उसको फोटो र छोराछोरी, बाआमा सबैका फोटासहित त्यो पूजा थाली र जलपात्र ल्याऊ त !” मूल गेटनेर पुगेर शशीले भनिन् ।
मलिन अनुहार टिलपिल भरिएका आँखा पुलुक्क दायाँबायाँ हेर्दै राशीले दिइन् “यि लिनुस् दिदी !” शशीले टाउकामा एउटा पहेँलो पछ्यौरा ओढिन् । शशी भित्र छिरिन् । माताको जस्तै स्वर निकालिन् । “ऊँ .. ह्रीं क्लिम चामुण्डाय विच्चछे । ”…………………….तीन पटकसम्म मन्त्रोच्चारण गरिन् । लालाबाला खाउँला पिँउँला, तरुनो स्वास्नी …. वृद्ध बाआमा …. लौ परमेश्वरी तिमी जहाँ भए पनि सम्पर्कमा आउनू ।
तिम्रो बाटो छेक्ने भूत, प्रेत, पिचाशलाई देवी भगवतीको शक्तिले नष्ट गरुन् । राशी ! तिम्रो न्वारानको नाम भन..। दायाँबायाँ कसैले सुन्छ कि भनेजसरी सानो स्वरमा राशीले भनी, “मङ्गलादेवी” …फेरि शशीले केके फतफताउँदै फेरि के के मन्त्रोच्चरण गरिन् । तिम्रो बुढाको न्वारानको नाम भन । …..उसै गरी दायाँबायाँ हेरेर मधुरो स्वरमा राशीले उत्तर दिइ, “हर्कजीत” फेरि के के फलाकिन् । छोराछोरीको पनि न्वारानको नाम उच्चरण गर्दै के के जाति फलाकिन् र एउटा नरिवल फुटाइन् । अब केही दिनमा खबर खाउला ….!
राशीले दक्षिणपट्टिको गेटबाट उत्तरतिर फर्किएर नमस्कार मुद्रामा मुन्टो निहु¥याएर उभिइ रहिन् ।
चामुण्डा मन्दिर निलाम्मे फूलहरूले ढकमक्क थियो । झरेका फूलहरू भुइँभरि छरिएका थिए । घण्टको कर्णप्रिय आवाजसँग अगरबत्तीको सुगन्धले चामुण्डा देवीको मन्दिर परिसर आनन्दित लाग्थ्यो । भक्तजनको उपस्थिति बाक्लिँदै थियो । मन्दिर परिसरमा सरसफाइ गर्ने दिदीबहिनीहरू झाडु लगाइरहेका देखिन्थे ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक