पर्म : रामकुमार पण्डित (लघुकथा)

पर्म : रामकुमार पण्डित (लघुकथा)

कपन अनलाइन

काठमाडौं ,जेष्ठ १०।

ककले फेसबुकको साहित्यिक समूहमा रचना पोस्ट ग¥यो । खले देख्नासाथ लाइक ग¥यो । गले गम खाँदै प्रतिक्रिया लेख्योः “राम्रो छ !” उसलाई भित्रभित्र मनमा खल्लो लागे पनि मनमनै भन्योः “क त हाम्रै समूहको मान्छे । उसलाई माथि उठाउनु छ । उसले पनि हामीलाई सहयोग गर्छ ।” घले घडी हेर्दै राम्रो भएको प्रतिक्रिया जनाइन् । यसपछि ङ देखि ञसम्म सबैले कको रचनाको तारिफ गरे । फेसबुकमा लाइक र कमेन्टले कको त्यो रचनालाई कएक नै भएको सावित ग¥यो ।
फेसबुकको त्यही समूहमा णले फ्वात्त एउटा लघुकथा पोस्ट ग¥यो । ग एडमिन भएको नाताले लाइक मात्रै ग¥यो । बाँकी कदेखि ञ सम्मकाले पढ्नचाहिँ पढे, प्रतिक्रिया केही जनाएनन् ।
एउटा मात्र लाइक पाएको णको रचना अरूले पोस्ट गर्न थालेपछि पिँधमा झ¥यो । घले चसँग मेसेन्जरमा बात मारिन् “हेर न ! त्यो णे ! हामीहरू कसैको पोस्टमा लाइक कमेन्ट केही गर्दैन । हामी चाहिँ त्यसकोमा किन गर्नु ?”
चले चर्चा मिलाउँदै जोडिन् “अँ त नि, त्यो णे । अस्ति मेरो एउटा लघुकथाको समीक्षा लाइभमा गर्दाखेरी आदि र अन्त्य विपरीत भावमा छैन रे, व्यङ्ग्यभावको अभाव छ रे, झट्केदार अन्त्य भएन रे भनेर भन्यो । त्यसको यी सबै भएको लघुकथामा लाइक र कमेन्ट छैन । हुनुपर्ने त लाइक कमेन्ट हो नि, होइन र ? बालीमा नमिलेको के जाती भनेजस्तो ।”
णले आफ्नो लघुकथामा आएको एउटा मात्र लाइकलाई हेर्दै आफैँसँग भन्योः “आजकाल लेखरचना सिकाउन खुलेका फेसबुक समूहहरू लाइक र कमेन्ट मात्र गर्नलाई सिकाउन थालेजस्तो छ ।”

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।