फर्केर हेर्दा बाल्यकाल : जेबी खत्री (संस्मरण)
कपन अनलाइन
काठमाण्डौ ,माघ ५।
एस.एल.सि.पास गरेपछि एक किसिमले मैले गाउँ छोडेँ । सबै साथीसङ्गी छुटे । छुट्यो परिवारको साथ । टाढियो आफन्तको मायाँ । त्यो भन्दा पहिले स्कुले जीवनमा त शुक्रबार घर आइँदै थियो । हप्तामा एक दिन । त्यसपछि त पाहुना जस्तो महिनौ वा वर्ष दिनमा एक पटक त्यो पनि दशैँतिहारमा । टिका लायो । फर्कियो । हुँदाहुँदा वर्षौका लागि टाढिए आफन्त । टाढियो गाउँघर । अब त परदेश जस्तै भएको छ । अहिले त म जन्मिएको घर पनि छैन । सुन्छु पछि हामीले बनाएको तीन तले सेतो चुन लगाएको घर पनि भत्कनै लागेको छ रे । घर अगाडिबाट नागबेलीहुँदै गाडी बाटो झरेको छ रे । राती टुकी बाल्नु नपर्ने । सोलार बत्तिले झिलिमिलि हुन्छ रे गाउँ । इन्द्रेणी मा.वि.मौवामै बाह्र कक्षासम्म पढाइ हुन्छ रे । मैले कखरा चिनेको चुवाडे स्कुलमा पनि अहिले त दससम्म पढाइ हुन्छ रे । गाउँमा खानेपानीको व्यवस्था भएको छ रे । यति हुँदाहुँदै पनि दुःखको कुरा अहिले त प्रायःसबै गाउँ छोडेर मधेश झरिसके रे । अब त दुई–चार घर मात्र बाँकी छन् रे ।
२०२८ साल असोज १३ गते बुधबार विजया दशमीको दिन बेलुकीपख जन्मेको रे म । टिका लाउँन टिकाको दिन जन्मिएको मेरो नाती भनेर हजूरबाले जन्मिनासाथ टिका लगाइदिनु भएको थियो रे मलाई । आमाले भन्नु भएको यस्तो । हजूरआमा पनि त्यसै भन्नुहुन्थ्यो । हजूरबा कस्तो हुनुहुन्थ्यो मलाई ख्याल छैन । पछि म हजूरआमासँग बस्दा हजूरआमा मलाई भन्नुहुन्थ्यो,बिरामी भएर आँखाभरि आँसु पार्दै अब म मर्छु नानी भनेर हजूरबाले भन्दा म रुँदै हजूरबाको हातका औँलामा समाएर हजूरबालाई सुतेको ठाउँबाट उठाउँन खोज्थेँ रे । पाँचथर जिल्ला मौवा गा.वि.स. वडा नं.७ चुवाडेमा जन्मेको म । हाम्रो घर माथि गाउँभरिका गाउँलेले उखु पेल्ने कोल थियो रे । बुबाले भन्नुभएको । हाम्रो घर माथि कोल भएको र कोलमुनि हाम्रो घर भएकै कारण हामीलाई गाउँलेहरू कोलामुनि भन्थे । कोलमुनि भन्दाभन्दै कोलामुनि भएको हुनुपर्छ । त्यसो त शुद्ध बोल्नेहरू कोलमुनि नै भन्थे । अशुद्ध बोल्नेहरू मात्र कोलामुनि भन्थे ।
अहिले सम्झन्छु । रमाइलोसँग वितेछन् मेरा बाल्यकालका दिनहरू । पहाडको ठाउँ । दूर–दराज नै त थियो नि हाम्रो गाउँ । त्यसबेला त अहिलेको जस्तो बत्ति,यातायात,पानीको सुविधा कहाँ थियो र । यद्यपी बुबाआमाले हामीलाई कुनै कुराको पनि अभाव महसूस हुन दिनुभएन । बुबाआमाको ठूलो खेतीपाती थियो । निम्न मध्यम वर्गीय परिवारमा जन्मेको म बुबाआमा आफूले नभ्याएको काम मान्छे लगाएर गर्नुहुन्थयो । आफैँ पनि रातदिन अहोरात्र खट्नुहुन्थ्यो । बुबाआमाले त्यसरी खटेको देख्दा हामीलाई पनि काम नगरि बस्न मन लाग्दैनथ्यो । हामी पनि सकिनसकि भएपनि बुबाआमालाई काममा सघाउँथ्यौँ । हाम्रो खानेपानी घरदेखि निक्कै पर थियो । वस्तुभाउलाई दिने,नुहाउँने,लुगाधुने पानी चाहिँ घर नजिकै थियो । खानेपानी लिन चुवाडे खोला पुग्नु प¥थ्यो । अलि पर थियो । कुवाबाट उगाएर ल्याउँनु प¥थ्यो । गाउँभरिका सबैले त्यही खोलाको कुवाको पानी खान्थ्यौँ । वस्तुभाउलाई चाहिँ हामीलाई सजिलो थियो । हाम्रो घर नजिकै एउटा सानो गन्दे खोला थियो । त्यहीँको पानी ल्याउँथ्यौँ । पछि त एडिपीको सहायताले खानेपानी पनि नुहाउँने,लुगाधुने गन्देखोलाको पानी पनि घरमै ल्याउँने पाइप पायौँ । सुविधा भयो । सबैथोक गर्ने पानी घरमै आयो । बत्ति र यातायातको भने हामी त्यहाँ रहुन्जेल सुविधा भएन ।
सानोछँदा म साथीहरूसँग खुब खेल्न रुचाउँथेँ । हामी तल्लाघर–माथ्लाघर । वल्लाघर–पल्लाघरका केटाकेटी भेला भएर खुब खेल्थ्यौँ । कहिले आफ्नो घरमा । कहिले साथीको घरमा । हाम्रो घर माथि भैँसीको थलो थियो । त्यसको छेउमा ठूलो दाउराको खल्यो थियो । दाउराको खल्योको आडमा हाम्रो खेल्ने ठाउँ थियो । हामी कहिले भात पकाइ । कहिले बेहुली लुकाइ । कहिले खोयाको घर बनाइ खेल्थ्यौँ । कहिले माटोको पिठो मुछेर रोटी बनाइ खेल्थ्यौँ । कहिले माटाको भात,झारपातको तरकारी बनाएर खाएझैँ ग¥थ्यौँ । बडो आनन्द आउँथ्यो यसरी साथीसाथी भेला भएर खेल्न । हामी दिनभरि नै खेल्थ्यौँ । हाम्रो काम भात खाएर खेल्न जाने । खेलिसकेर घर आएर फेरि भात खाने । कहिले त भोक लागेपछि मात्र खान घर आउँथ्यौँ । स्कुल जानु नपर्ने । पछिसम्म पनि आफूले गर्न सक्ने काम भए मन लागे गर्ने नलागे नगर्ने । केटाकेटीले के काम गर्नु । बुबाआमाले कर गरेर काम लाउँनु हुन्नथ्यो । त्यतिबेला निक्कै ठूलो भएपछि मात्र स्कुल पढ्न पठाउँने चलन थियो । स्कुल नजिक थिएनन् । स्कुल जानआउँन सक्ने भएपछि मात्र पढ्न पठाउँने चलन थियो । स्कुल जान थाल्दा म त्यस्तै पाँच वर्षको थिएँहोला । त्यतिबेला सबकोहीले छोराछोरी स्कुल पढ्न पठाउँदैनथे । अहिले जस्तो थिएन । अलि ठूलो भएपछि गोठालो जानुप¥थ्यो । सारै थोरैले मात्र छोराछोरीलाई स्कुल पठाउँथे । त्यसमा पनि छोरीलाई भन्दा छोरालाई बढी स्कुल पठाउँने चलन थियो । त्यतिबेलाको चलन नै त्यस्तै थियो । स्कुल जान थालेपछि खेल्न कम भयो । साथीभाइसँग भेट्न पनि पातलियो । कहिले काहीँ गोठालो जाँदा पनि हामी एउटा चौरीमा भेला भएर दिनभरि खेल्थ्यौँ । आफू भन्दा ठूलालाई साथी दिन्थ्यौँ हामी गोठालो जान । गोठालो त सादर मात्र थियो । हामी दिनभरि खेल्न पाउँथ्यौँ । दिदीहरूले हेर्नुहुन्थ्यो वस्तुभाउ । विहान लाँदा र बेलुका ल्याउँदा चाहिँ अगिअगि हिँड्नु प¥थ्यो । कसैको बालीमा पस्छन् कि भनेर । नत्र वस्तुभाउ दिनभरि चरिरहन्थे । हामी गोठालो जान भनेपछि फुरुक्क हुन्थ्यौँ ।
मलाई पाँच वर्ष नपुगुन्जेल हजूरआमाले स्कुल भर्ना गर्न दिनु भएन । पहिलेका दुई दाजुहरू सानैमा वितेपछि तीन दिदीहरू पछि बल्ल नाती जन्मेको छ भनेर हजूरआमा सारै माया गर्नुहुन्थ्यो मलाई । बुबाआमाको पनि म बुढेसकालको रहरको छोरो । कसैले कुटिदिन्छन् कि,गाली गर्दिन्छन कि मेरो नातीलाई । सानै छ ठूलो भएपछि मात्र पढ्न पठाउँनु पर्छ भनेर हजूरआमा मान्नुभएन । त्यसैले पनि मेरो उमेर भन्दा पढाइ निक्कै पछि प¥यो । मेरो एउटा भएको नाती घरैमा खेल्छ,बस्छ,भन्नुहुन्थ्यो हजूरआमा । दुई वर्ष जति त म हजूरआमासँगै बसेँ । हाम्री हजूरआमालाई पनि हामी नै हे¥थ्यौँ । हाम्रा दुईओटा घर थिए । एउटा अलिक माथि थियो । माथ्लो घरबारीलाई हामी चुहानबारी भन्थ्याँै । त्यहाँ हाम्रो एउटा पुरानो घुमाउँने दुईतले घर थियो । बारी पनि थियो । त्यो बारीमा हाम्रा साठी–सत्तरी भारी मकै फल्थे । त्यो घरबारी हेरेर त्यहाँ हजूरआमा बस्नुभएको थियो । हजूरबा वित्नुभएपछि हजूरआमा अलग्गै बस्नुभएको रे । धेरैजसो मेरा बाल्यकालका दिनहरू हजूरआमासँगै बसेर विते । पाँच वर्षको भएपछि मात्र मलाई बुबाआमाले स्कुल भर्ना गरिदिनु भयो । त्यतिबेला कखरा नचिनुन्जेल छुट्टै कक्षा कोठामा राख्ने चलन थियो । कखरा चिनिसकेपछि मात्र एक किलासमा बस्न पाइँन्थ्यो । एक भन्दा मुनिको किलासलाई शिशु किलास भनिन्थ्यो । मैले त्यतिधेरै लामो समयसम्म शिशुमा बस्नु परेन । चाँडै चिनँे कखरा । एक किलासमा पुगिहालेँ ।
स्कुल भर्ना भएपछि पनि हामी स्कुल नगएको दिन घरको कोही ठूलो मान्छेसँग गोठालो जान्थ्यौँ । सिम्लेघारी,ठाडोबाटो जता लगे पनि वस्तु । घाम ढल्कन लागेपछि डोप्किले डाँडातिर फर्काउँथ्यौँ । घर लाने बेला नभएसम्म त्यहीँ छेकेर चराउँथ्यौँ । डोप्किले डाँडो एउटा खुल्ला डाँडो थियो । त्यहाँ आएर हामी कहिले टोपी लुकाइ खेल्थ्यौँ त कहिले डण्डिबियो खेल्थ्यौँ । कहिले चट्टि खेल्थ्यौँ । कहिले थुँबा जुँधाइ खेल्थ्यौँ । हाम्रा भेडाबाख्राको हुलमा एउटा,दुईटा ठूलाठूला भेडाका थुँबाहरू हुन्थे । सिङ घुमेका थुँबा । हामी सिङमा समातेर आफ्ना–आफ्ना थुँबा माथि चढ्थ्यौँ । थुँबा माथि चढेर घोडा जस्तै थुँबा दौडाउँथ्यौँ । घण्टौँसम्म थुँबा जुँधाइ खेल्थ्यौँ । कति मुर्ख तिनीहरू एक पटक ल्याएर सिङ जोडिदिएपछि घण्टौँसम्म थुँबाहरू आफैँ जुँधिरहन्थे । हामी धुसुरका पोथ्रामुनि शितलमा बसेर रमिता हे¥थ्यौँ । रात पर्न लागेपछि चर्दैचर्दै वस्तुहरू घरतिर लाग्थे । सनाई जस्तै पिपिरीका पात बजाउँदै हामी अगिअगि हिँड्थ्यौँ । दिदीहरू पछिपछि वस्तु धपाउँदै ल्याउँनुहुन्थ्यो । साँझमा हामी वस्तु घर पु¥याउँथ्यौँ । घरमा आमाले खाजा बनाएर राखिदिएको हुन्थ्यो । कहिले मकै,भट्मास भुटेर राखिदिएको हुन्थ्यो । कहिले गहुँका रोटी । कहिले चाम्रे भात पकाएर राखिदिएको हुन्थ्यो । हामी बाँडेर रमाउँदै खान्थ्यौँ । घरमा खाजा नहुँदा हामी आमासँग रुन्थ्यौँ । झगडा ग¥थ्यौँ । आमाले बासिभात भएपनि तताएर नदिएसम्म आसुँ थामिदैनथे । बासिभात भएपनि आफ्नी आमाले तताएर दिँदा कति मिठो हुन्थ्यो । हामी खुशी भएर खान्थ्यौँ । त्यसपछि दिदीहरू घाँस काट्न जान्थे । म पढ्न बस्थेँ ।
श्री त्रिवेणी प्राथमिक विद्यालय चुवाडेमा तीन कक्षासम्म मात्र पढाइ हुन्थ्यो । त्यतिबेला तीन कक्षासम्मलाई प्रा.वि.मानिन्थ्यो । मैले तीन कक्षा पास गरेपछि चार पढ्न श्री इन्द्रेणी माध्यामिक विद्यालय मौवा डाँडा,थापा गाउँ जानु प¥थ्यो । त्यहाँ दस कक्षासम्म पढाइ हुन्थ्यो । सँगै तीन पास भएका कतिपय साथीहरूले स्कुल टाढा भएकै कारण पढ्नै छोडिदिए । हाम्रो गाउँबाट लगभग तीन घण्टा भन्दा बढी लाग्थ्यो । विहान छ बजे खाना खाएर हिँड्दा केटाकेटीको हिँडाइ कहिले त स्कुल लागेपछि मात्र पुगिन्थ्यो । गाह्रो थियो । घरबाट धाएर पढ्न केटाकेटीलाई त मुस्किल नै थियो । उहीँ कोठा खोजेर बस्न पनि त्यतिबेला कोठै पाइँदैनथ्यो । छात्रबासको व्यवस्था त थियो । त्यो पनि अर्को गाउँबाट आउँने वा धेरै टाढाबाट आउँनेहरूका लागि मात्र । त्यो पनि हामी त आफैँ पकाएर खान सक्ने,जान्ने भएकै हुँदैनथ्यौँ । घरबाट धाउँन पनि नसक्ने । घरबाट आफू भन्दा ठूलाको साथ लगाएर पठाउँनु हुन्थ्यो बुबाआमाले । ढिलो हुने भएपछि बिच बाटोबाटै उनीहरू छोडेर हिँड्थे । हामी घिस्रदै पुग्थ्यौँ स्कुल । मैले पनि घरबाट धाएर पढ्न सकिन । कतिपय साथीहरूले त स्कुलै पढ्न छोड्दिए ।
तीन कक्षा पास गरेपछि नै मैले एक किसिमले घर छोडेँ । हजूरआमाले निक्कै पिर गर्नुभयो । हाम्रो मामली मौवा डाँडा,थापा गाउँका थापाहरू । स्कुल नजिकै थियो मामाको घर । आमाले कुरा गर्नुभएछ । भानिजले घरबाट धाएर पढ्न सक्दैन । यहीँ बसेर पढोस । मामलमा पनि हजूरबा–हजूरआमा आमा सानी हुँदै वित्नु भएको रे । हामीले थाहा पाउँदा हुनुहुन्नथ्यो । आमाले भन्नु भएको आमा सानो हुँदै दुवै जना वित्नुभएको रे । मामा,माइजू र दाजु,दिदी,भाइ,बहिनीहरू मात्र थिए । दुई जना मामाहरू सरकारी जागिरे हुनुहुन्थ्यो । अन्तरे मामा र कान्छो मामा । जेठा मामा मौवा गाउँ पञ्चायतका प्रधानपञ्च हुनुहुन्थ्यो । सामान्यतःयी तीन मामाहरूको चालचुल राम्रै थियो । अरू मामाहरू पहाडमा हुनुहुन्नथ्यो । साइँला मामा मधेशमा हाम्रै जग्गा कमाएर बस्नु भएको थियो । सकिनसकि म घरबाटै धाउँदै थिएँ । एक दिन मामाले स्कुल छुट्टि भएर घर फर्कने बेलामा स्कुलमै आएर भन्नुभयो, भान्जा तिमी घरबाट धाएर पढ्न सक्दैनौ । अब यतै बसेर पढ्नुपर्छ । भोलिदेखि मेरोमा बसेर पढ्ने है । मैले केही पनि भनिन । हुन्छ पनि भनिन । हुँदैन पनि भनिन । अन्तरे मामाको घर स्कुलै अगाडि थियो । दुई–चार पाइला हिँडेपछि स्कुल पुगिने । मामाको ठूलो किराना पसल पनि थियो । माइजू पसलमा बस्नुहुन्थ्यो ।
मामाकोमा बसेर पढ्दा घरबाट धाउँन त परेन । दिनैपिच्छे उकालो–ओरालो हिँड्नु पनि परेन । एकदुई सँगैका साथीहरू घरैबाटै धाउँथे । दुःखै भएपनि घरबाट साथीहरूसँग स्कुल जानुआउँनुको छुट्टै आनन्द । अब साथ छुट्ने भयो । अलिकति पिर प¥यो । नपर्ने त कुरै भएन । सँगैका साथी । बेलुका घर आएर आमालाई मामाले भनेको कुरा सुनाएँ । आमाले ठिकै छ त मामाले यहीँ बसेर पढ भान्जा भनेको छ भने अब भोलिदेखि उहीँ बसेर पढ । आइतबार चामल लिएर जानु शुक्रबार बेलुका घर आउँनु शनिबार बसेर फेरि आइतबार जानु । माइजूले भात पकाएर दिइहाल्छे । तंैले केही काम गर्नुपर्दैन । काम लाउँदा पनि लाउँदैनन् । काम पनि के नै हुन्छ र । मामा नजिकैको हेल्थपोष्टमा काम गर्नुहुन्थ्यो । कहिले काहीँ फिदिम जानुआउँनु प¥थ्यो । अलिकति बारी थियो । खेत थिएन । त्यसैले आमाले भन्नुभएको थियो,मामालाई धानचामलको दुःख छ । आफूलाई लाग्ने चामल घरबाटै लैजा । म चामल घरबाटै लान्थेँ । भन्न त मामा मलाई चामलसामल केही पनि ल्याउँनु पर्दैन भान्जा भन्नुहुन्थ्यो । जस्तो छ त्यस्तै खानुपर्छ । यस्तै भन्नुहुन्थ्यो । तर म चामल चाहिँ घरबाटै लिएर जान्थेँ । चामल नलिइ जान अफ्ठेरो लाग्थ्यो । मामाका पाँच जना छोराछोरी मामामाइजू सात जना मसँग आठ जनाको परिवार हुन्थ्यो । ठूलै भाँडामा पाक्थ्यो भात ।
यता मलाई चाहिँ पहिलेपहिले त कहिले शुक्रबार आउँछ र घर जानु जस्तो हुन्थ्यो । पछिपछि त साथीभाइसँग चिनजान पनि भयो । मामाका छोराछोरी पनि साथीसाथी जस्तै भए । शिक्षकहरू पनि सबै मामली गाउँका मामाहरू नै थिए । पछिपछि त काइदै भयो । मामाहरूले भान्जाभान्जा भन्दाभन्दै मामली गाउँका सबैले भान्जा भन्न थाले । सबैको भान्जा भइयो । सरहरूको पनि भान्जा । दोकानेहरूको पनि भान्जा । यसरी म मामाकैमा बसेर पढ्न थालेँ । मैले चार कक्षा पास गरेर पाँचमा पढ्न थालेपछि तल गाउँको चुवाडे स्कुलमा चार कक्षा पढाइ हुन थाल्यो । जहाँ मैले तीन कक्षा पास गरेर छोडेको थिएँ । त्यसलाई हामी तल्लो स्कुल भन्थ्यौँ । घरदेखि धेरै माथि भएकोले इन्द्रेणी मा.वि. मौवालाई माथ्लो स्कुल भन्थ्यौँ । मनले खाएका साथीहरू फेरि तलै रोकिए । अर्को वर्ष फेरि पाँच पनि तलै चुवाडे स्कुलमै पढाइ हुने भयो । पाँच पास गरेर छमा पढ्न माथ्लो स्कुल आउँन थालेपछि मात्र छुटेका साथीहरूसँग भेट भयो । साथीहरू घरबाटै धाउँथे । म मामलमै बसेर पढ्दै थिएँ । हामी पुरानो मोजामा प्लास्टिक खाँदेर झुम्राको गोल बनाएर आँगनमा खेल्थ्यौँ । मामली गाउँका हाम्रा दामले अरू पनि भेला हुन्थे । खेल्दाखेल्दै एक दिन हाम्रो झगडा भयो । एकअर्का विच बाझ्ने क्रममा मामाको छोराले मलाई एउटा नराम्रो शव्द प्रयोग गरेर गाली ग¥यो । उसले त्यो शव्द प्रयोग गरेर गाली नगरेको भए पनि हुन्थ्यो । ऊ म भन्दा उमेरले कान्छो थियो । म दाइ ऊ भाइ । मलाई नरमाइलो लाग्यो । मलाई मामाको छोराले पनि यसो भन्ने । म उसको घरमा बसे पनि आफ्नै चामल खाएर बसेको थिएँ । फेरि मामाले बस भनेर पो बसेको थिएँ । मन खिन्न भयो । अब म यहाँ बस्दिन । बरू साथीहरूसँग घरबाटै धाउँछु । अब त घरबाटै धाउँन पनि सकिहाल्छु नि । घरबाट धाउँने साथीहरू पनि छन् । सोचेँ अब भोलि नै कुम्लो कुटुरो बोकेर फर्कन्छु घर । यस्ताको घरमा के बस्नु ठानेँ । निहुँ पाएपछि भोलिपल्ट कसैलाई केही नभनि लुगा र किताब बोकेर लागेँ घरतिर ।
केटाकेटीपन हुन त मामाको छोराले त्यति भन्दैमा दौडेर घर आइहाल्नु पर्ने पनि होइन । भनि त हाल्यो । ऊ झन् म भन्दा कम उमेरको केटाकेटी नै थियो । त्यति सानो उमेरमै उसले कसरी त्यस्तो बोल्न जान्यो होला । अहिले सम्झदा पनि मलाई अश्चर्य लागेर आउँछ । जेहोस म मामल बस्न छोडेर साथीहरूसँग घरबाटै धाएर पढ्न थालेँ । आमाले भन्नु भएको थियो,हुन्देन त नानी मामाका छोराले त्यति भन्दा के भयो त । केटाकेटी नै छ । बुद्धि आउँने बेला भएको छैन । फुपूको छोरा हो । त्यसो भन्नु हुँदैन भन्ने जान्ने बेला भएको छैन । तैँले पनि त केही भनिस होला र त उसले पनि त्यसो भन्यो । उसले केही भने पनि तैँले केही नभन्नु । ऊ तँ भन्दा सानो छ । उसले भनेपनि मामामाइजूले केही भनेका छैनन् । तँ अझै सानै छस् । मामलमै बसेर पढे राम्रो हुन्थ्यो । हामीलाई पनि ढुक्क हुने थियो । मामलमा बसेर पढ्दा । तँलाई कसैले चलाउन,केही भन्न सक्दैनथ्यो । भने,चलाए मामामाइजूले हेर विचार गर्थे । तर म मानिन । मान्दै मानिन ।
अब त म दुःखसुख घरबाटै स्कुल धाएर पढ्न सक्ने भएको थिएँ । दामले पाँच पास गरेर छ पढ्न जाने साथीहरूको सङ्ख्या पनि बढेको थियो । रमाइलो हुन्थ्यो । साथीहरूसँग स्कुल जानआउँन । विहान उठ्दा आमाले खाना पकाएर तयार गरिदिएको हुन्थ्यो । बुबाले गाईभैँसी दुहेर दुध कुँडेमा बसाएको हुन्थ्यो । म दुधभात खाएर विहान छ बजे नै स्कुल हिँड्थे । साथीसाथी भेला भएर ठाउँठाउँ बस्दै जान्थ्यौँ । घरबाट हिँडेपछि थुम्केबारीको चौतारोमा बस्थ्यौँ । त्यहाँ एकछिन् बसेर हिँडेपछि नेवार गाउँको चौतारोमा बस्थ्यौँ । त्यहाँबाट पनि हिँडेपछि सातदोबाटोको चौतारोमा एकैछिन् बस्यो । त्यसपछि गडी थुम्काको चौतारोमा एकछिन् बसेर लुगा,किताब,कपी,झोला मिलाउँथ्यौँ । त्यसपछि स्कुल पुग्थ्यौँ । यही क्रमले पढ्दै गइयो । स्कुल विदाको बेला बुबाआमालाई घरको काम सघाउँथ्यौँ । त्यसो त बुबाआमाले हामीलाई कहिल्यै पनि आज यस्तो काम गर्नुपर्छ है नानी हो भनेर किमार्थ भन्नु भएन । उहाँहरूको चाहना छोराछोरीले राम्रोसँग पढुन् भन्ने नै थियो । काम गरेपनि नगरे पनि हाम्रो खुशी । पछि बुबाआमाको बुढेसकाल हुँदै र काम गर्ने मान्छे पनि पाउँन छोडेपछि भने अलि कठिन भयो । आमा पनि रोगाउँदै जानुभयो । आमालाई रोग पसेपछि बैनीहरूले चाहिँ निक्कै दुःख गरेर पढे । विहान उठेर एक भारी घाँस काटेर स्कुल जानुपर्ने । बेलुका स्कुलबाट आएर पनि सके एकभारी नसके पनि कति सकिन्छ,घाँस काटेर ल्याउँनु पर्ने । मलाई भने त्यतिबेला पनि स्वतन्त्र थियो । काम गरे पनि हुने । नगरे पनि हुने । पहिले पनि बुबाआमाले एकजना काम गर्ने मान्छे घरमा राख्नु भएको थियो । उसले छोडेपछि पछि फेरि अर्को जनालाई राख्नुभयो । उचित पारिश्रमिक दिएर राखेका थियौँ । पहिलेकालाई पनि पछिकालाई पनि । दुवै गाउँकै थिए । पहिलेकाको हेलचेक्राइँले हाम्रा सबै वस्तुभाउ खोलाले बगाएपछि उनले छाडेका थिए । उनले छोडेपछि निकै लामो समयसम्म बुबाआमाले घरमा काम गर्ने मान्छे राख्नु भएन । धेरैछि फेरि घरमा काम गर्ने मान्छे नराखी नहुने भएपछि मात्र राख्नु भएको थियो । बुबाआमा सकेसम्म आफैँ काम गर्नुहुन्थ्यो । विहान हामी उठ्दा आमाले घरको सबै काम,चार–पाँच पाथी मकै पिँधी,चामल केलाई,दुहुना गाईभैँसीलाई खोले पकाइ,पँधेराबाट पानी ल्याई,हामी सबैलाई खाना पकाइ गाईभैँसीलाई घाँस हालेर घाँसै काट्न जानुहुन्थ्यो । एकैछिन्मा दुई भारी घाँस काटेर ल्याउँनुहुन्थ्यो । उता बुबा रातीनै उठेर खेतमा पानी लाउँन जानुहुन्थ्यो । उज्यालो हुँदा खेत पानीले छिचोलाएर गाईभैँसी दुहुन आइपुग्नु हुन्थ्यो । विहान छ बजेदेखि बाह्र बजेसम्म एक हल गोरू जोत्नु हुन्थ्यो भने बाह्र बजेदेखि चार बजेसम्म अर्को हल गोरू जोत्नु हुन्थ्यो । बुबाआमाको खेतीपाती धेरै थियो । अति मेहनती र परिश्रमी हुनुहुन्थ्यो बुबाआमा । आफ्नै पाखुरीका भर र बलबुत्तामा प्रसस्त अन्न उब्जाउँनु हुन्थ्यो । आफूलाई खानलाउँन पु¥याएर पनि अन्न,वस्तुभाउ बेचविखन गरेर पैसा आर्जन गर्नुहुन्थ्यो । ठाउँ अनुसार त्यतिबेला हाम्रो आर्थिक अवस्था राम्रै थियो । हामी सबैलाई दिएर खाने हुनेखाने मै गनिएका थियौँ । हामीलाई खानलाउँनको दःख थिएन । हामीले जे खान्छौँ । जे लाउँछौँ भन्दा पनि ठाउँ अनुसारको बुबाआमाले जसरी भएपनि पु¥याउँनु नै भएको थियो । त्यसैले हाम्रो बाल्यकाल त्यति दुःखमय रहेन । पछि आएर हाम्रो आर्थिक अवस्था विग्रदै गयो । बुबाआमा बुढाबुढी हुँदै जानुभयो । काम गर्न सक्न छाड्नु भयो । दिदीहरू पनि विहे गरेर अर्काको घर जानुभयो । हामी छोराहरू पनि घर नबस्ने । देशविदेश चहार्न थाल्यौँ । आमा दिनानु दिन रोगिदै जानुभयो । काम गर्ने मान्छे पनि पाउँन छोडे । भएको खेत,बारी पनि बाँझिने अबस्थामा पुग्यो । अहिले सम्झदा यो सबै कथा जस्तो लाग्छ ।
हाम्रो रातो माटोले पोतिएको दुई तले घर थियो । त्यहीँ जन्मेको म । पछि अगाडि एउटा पाली बनायौँ । पाली पनि दुई तले नै थियो । पैँतालीस सालको भुकम्पले घरको चुली चिरिएर वस्न डरमर्नु भएपछि हाम्रो राखनधरन पालीको टाँढमा थियो । तल खाना पकाएर खाने ग¥थ्यौँ । त्यो भन्दा अगाडि त्यहाँ एउटा सानो पुरानो बाख्राभेडा हुल्ने खोर थियो । त्यहाँ पाली बनाएपछि बाख्राभेडालाई पाली मास्तिर एउटा अस्थिाई खोर बनाइदिएका थियौँ । छेउमा पाडाबाच्छा बाँध्ने ठाउँ थियो । त्यहाँ भन्दा मास्तिर भैसीलाई एउटा एक पाखे खोल्मा थियो । दुई माउ भैँसी त्यहीँ बान्थ्यौँ । त्यहाँ भन्दा मास्तिर एउटा ठूलो बाह्र खाँबे गतिलो खोल्मा थियो । त्यहाँ भूइँमा गाईगोरू बस्थे । टाँढमा घाँस राख्थ्यौँ । पछाडि एउटा सानो खोल्सो थियो । खोल्साको छेउमा एउटा ठूलो फँडिरको रूख थियो । त्यसैले हामी त्यस खोल्सालाई फँडिरको खोल्सो भन्थ्यौँ । खोल्सा पारि बारी थियो । त्यसबारीलाई हामी सेताबारी भन्थ्यौँ । त्यहाँ हाम्रो एउटा ठूलो पराल राख्ने माच थियो । त्यहाँ हामी खेतको पराल ल्याएर राख्ने ग¥थ्यौँ । दाइँ गरेको नगरेको एक माच पराल हुन्थ्यो हाम्रो । मास्तिर एउटा सानो चौरी थियो । त्यसलाई हामी सेताबारीको चौरी भन्थ्यौँ । त्यो खाली चौरी थियो । त्यहाँ हामी गाईवस्तु,भेडाबाख्रा चराउँने,खेल्ने ग¥थ्यौँ । पर्तिर एउटा सानो खोलो थियो । त्यसलाई हामी गन्दे खोलो भन्थ्यौँ । त्यहाँ सानो पानी उम्रन्थ्यो । त्यहाँको पानी गाईवस्तुले मात्र खान्थे । मान्छेले खानु हुँदैन गाँड निस्कन्छ भन्थे । सायद आयोडिन नभएको पानी थियो होला । खाँदैनथ्यौँ । खानेपानीको कुवा चुवाडे खोलामा थियो । त्यहाँको पानी खान्थ्यौँ । सेताबारीको डिलमा एउटा ठूलो बाँसको झाँङ थियो । त्यहाँ थुप्रै चराचुरुङ्गीहरू बास बस्थे । विहान उज्यालो हुनुभन्दा पहिले झर्को लाग्ने गरि एकै स्वरमा कराउँथे । तन्द्राबाटै व्यूँझाउँने गरि । हामी बाँसको झाँङमा रुपी कराएपछि एकपटक व्यूँझन्थ्यौँ । आमा त आकासमा तीन आँख्ले तारा झुल्केपछि नै उठ्नुहुन्थ्यो ।
हाम्रो घरदेखि तल लखुवा खोला थियो । असार,साउँन,भदौसम्म यो खोला मनै बराल्ने गरि सुसाउँथ्यो । कहिले त विरहनै चल्ने गरि । तरुनातन्नेरीहरू खोलै थर्कनै गरि गीत गाउँथे । पारि आङ्नाको ढुकुरे गाउँ त्यहाँ भन्दा माथि रातमाटे । अझ माथि माल्मासे । त्यहाँ भन्दा माथि शिरमा थापा गाउँ । यता मौवाको साँधने । सातदोबाटो । नेवार गाउँ । त्यहाँ भन्दा तल चुवाडे । अझ तल तमोर । तमोर पारि धनकुटा र तेह्रथुम । हाम्रो घरबाट तमोर सुसाएको त विरलै सुनिन्थ्यो । कहिलेकाहीँ मात्र । कहिले हामी वस्तुभाउ चराउँन तमोरको किनारतिर लान्थ्यौँ । दिनभरि तमोरको भँगालोमा पौडी खेल्थ्यौँ । सानो हिउँदे भँगालो छुटेर आएको हुन्थ्यो । आठ–दस फिट गहिरो । सारै रमाइलो हुन्थ्यो । बगरको बालुवामा लडिबडी खेल्दै,पौडी खेल्दै ग¥थ्यौँ । गाईवस्तु,भेडाबाख्रा दिनभरि बगरमा चर्थे । लखुवा दोकानमा गएर मिठाई,विस्कुट किनेर खान्थ्यौँ । बेलुकी भएपछि वस्तुभाउलाई घरजाने बेला भएको आफैँ थाहा हुन्थ्यो । गाईवस्तु आफैँ बाटो लाग्थे । हामी तिनको पछि लाग्थ्यौँ । कहिले त साँझमा मात्र घर ल्याइपु¥याउँथ्यौँ । कसरी विते ती बाल्यकालका दिनहरू पत्तै भएन ।
दशैं,तिहार आउँन लागेपछि झन् हामी खुशीले उफ्रन्थ्यौँ । दशैंमा आफू भन्दा ठूलाको हातबाट टिका थाप्न पाइँन्थ्यो । धेरथोर दक्षिणा हात लाग्थ्यो । मिठोमसिनो खान पाइँने । राम्रा र नयाँ लुगा लाउँन पाइँने । तिहारमा भाइटिका लाएर देउसीभैलो खेल्न पाइँने । साँच्चै रमाइलो हुन्थ्यो । तिहार आउँनु भन्दा पहिले नै हामी देउसीभैलो खेल्ने ग्रुप बनाइसक्थ्यौँ । लक्ष्मी पूजाको दिनदेखि भाइटिकाको दिनसम्म देउसी खेल्न हिँड्थ्यौँ । भेला पारेको पैसा,चामल जनङ्गे भाग लगाएर बाँड्थ्यौँ । मैले तिहारमा देउसी खेल्न आफ्नै पैसाले मादल किनेको थिएँ । हामी त्यही मादल लिएर देउसी खेल्न जान्थ्यौँ । मन मिल्ने,मन मिल्ने मात्र भेला भएर देउसी खेल्न हिँड्थ्यौँ । मैले तेह्रथुमको म्याङलुङ्ग बजारबाट एउटा राम्रो मादल किनेर ल्याएको थिएँ । मेरो काँधमा मादल हुन्थ्यो । शरीरमा नयाँ लुगा हुन्थे । खुट्टामा जुत्ता । हातमा सिको फाएभ घडी हुन्थ्यो । म अलिक ठूलो भएपछि बुबाले मलाई एउटा राम्रो जापानिज सिको फाएभ घडी किनिदिनु भएको थियो । त्यो घडी मलाई बुबाले धरान लिएर आउँदा किनिदिनु भएको । छोराले अझ राम्रोसँग पढोस भनेर किनिदिनु भएको थियो । त्यतिबेला गाउँकै अरू कसैको हातमा सिको फाएभ घडी थिएन । मेरो हातमा थियो । सिको फाएभ घडी त्यसबेलाको राम्रो घडी मानिन्थ्यो । आज भन्दा तीस–पैँतीस वर्ष अगाडिको कुरा हो । मैले त्यतिबेलै जीवनमा पहिलो पटक हातमा घडी बाँधेको थिएँ । मेरा बुबाआमाले आफूले नखाई,नलाई भएपनि मेरा चाहना पूरा गरिदिनु हुन्थ्यो । कुनै कुराको पनि अभाव खड्किन दिनु भएन । बुबा अलि कडा स्वभावको हुनुहन्थ्यो । हामी आफूलाई लागेको कुरा पहिले आमा समक्ष राख्थ्यौँ । आमाले नै हाम्रा कुराहरू बुबासम्म पु¥याई दिनुहुन्थ्यो । आमाले पनि जोड दिएपछि हामीले जे भनेपनि बुबाले ल्याइदिनुहुन्थ्यो ।
म सानोमा पढ्न भन्दा पनि साथीहरूसँग खेल्न,डुल्न,घुम्न बढी मन पराउँथेँ । बुबाआमाकै ढिप्पिले मात्र स्कुल जान्थेँ । कहिले स्कुल जान मन नलाग्दा आज मेरो टाउको दुखेको छ । म स्कुल जान्न भनिदिन्थेँ र स्कुल जाँदैनथेँ । यस्तै क्रममा एक दिन स्कुल गएन भनेर बुबाले नराम्रोसँग पिट्नु भएको सम्झना अझै ताजै छ मनमा । बुबाले यसरी पिट्दा म सिकुवाको खाटमुनि पसेर जोगिएको थिएँ । आमा फकाउँदै भन्नुहुन्थ्यो, पढ्नुपर्छ नानी तिमेरकै लागि हो । हाम्रा लागि पढिदिने होइन । हामीले नपढेर दुःख पायौँ । तिमेरूलाई चाहिँ दुःख नहोस भनेर पढ्न पठाको । कतै मन नलाई खुरूखुरू पढ । तिमेरको पढ्ने बेला यही हो । तैँले राम्रोसँग पढिस भने हामी दुःख गरेर भएपनि पढेसम्म पढाउँछौँ । पढिनस भने त के लाग्यो र । हामीले त पढ्न पनि पाएनौ । सानैमा बाउआमा मरिहाले । कसले पढाउँने । फेरि त्यतिबेला पढाउँने,पढ्ने चलन पनि उति थिएन । यसो चार–पाँच किलाससम्म पढाउँथे । मैले त त्यही पनि पढ्न पाइँन । साँच्चै हाम्री आमाले पढ्नु भएको थिएन । हाम्री आमा पैसा पनि चिन्नुहुन्नथ्यो । कसैले पैसा दियो भने पनि हामीलाई बोलाएर नानी हेरहेर यो कति रूपयाँ हो ? भनेर सोध्नुहुन्थ्यो । त्यसैले आमा कहीँ हिँड्नु हुन्नथ्यो । आमा बजार गएको मलाई थाहा छैन । पछि हामी ठूला भएपछि हामीले आमालाई पाँच,दस,पचास र सयका नोट चिन्न सक्नेसम्म बनाएका थियौँ । त्यतिबेला हाम्री आमाले पनि अब पैसा चिन्न थाल्नुभयो भनेर म खुशीले उफ्रेको थिएँ । आमाले कत्ति दुःख गरेर बाख्रापाठा,पाडाबाच्छा हुर्काउँनु हुन्थ्यो । बेच्नुपर्दा पैसा गन्न जान्नु हुन्नथ्यो । अर्कैलाई पैसा गन्न लाउँनु हुन्थ्यो । कहिले त दिक्क मान्दै भन्नुहुन्थ्यो, मैले दुई–चार किलाससम्म पढ्न पाएको भएपनि पैसा गन्न त जान्दथेँ होला । पैसा गन्न पनि अर्कालाई लाउँनु पर्छ ।
म विभिन्न क्लासमा रोकिदैओर्दै दसमा पुगेँ । एस.एल.सि.को लागि तयारी गर्नुपर्ने । घरबाट धाएर पढाई हुँदैन । बुबाआमाले माथि नै बसेर पढ । मामलमा नबस्ने भए कोठा खोजेर भएपनि उहीँ बसेर राम्रोसँग पढ भन्न थाल्नुभयो । त्यतिबेलासम्ममा म तीनै मामाकहाँ बसिसकेको थिएँ । आफूले भने जस्तो कहीँ भएन । बढी जसो कान्छामामा कहाँ बसेँ । राम्रै भयो । पछि केटाकेटी बढेपछि चाहिँ पढ्न मलाई अलिक बाधा होला जस्तो भयो । एउटै बत्तिमा वरिपरि पुतली झैँ झुम्मिएर पढ्थ्यौँ । एस.एल.सि.को तयारी हो । कोठा खोजेर बस्नुपर्ला ठानेँ । त्यस बेलासम्ममा त कोठापनि पाइँन थालेको थियो । म्यारी भन्ने एक जना अमेरिकी मिसले आफ्नो लगानिमा हाम्रो स्कुललाई एउटा ठूलो दस–बाह्र कोठे तीन तले नयाँ छात्रवास भवन बनाइ दिएकी थिइन् । उनी आठ,नौ र दसलाई इङलिस पढाउँथिन् । उनी त्यही हाम्रो स्कुलकी इङलिस टिचर । इङलिस टिचर नभएर प्रधानध्यापक श्याम सरले खोजेर ल्याउँनु भएको थियो । सारै राम्रो पढाउँने । विद्यार्थीलाई सारै धेरै माया गर्ने । विद्यार्थीसँग साथीको जस्तो व्यबहार गर्ने । हाम्रो स्कुलमा उनले धेरै वर्ष पढाएर पछि अमेरिका फर्किइन् । अहिले पनि हामी उनलाई सम्झिइरहन्छौँ । उनले हाम्रो स्कुललाई ठूलो योगदान दिएकी छन् । त्यो बेला हामीलाई ठूलो सेवा र टेवा पु¥याएकी छन् । म गाउँको विद्यार्थी छात्रबासमा बसिन । अन्तै कोठा खोजेर बसेर पढेँ । हाम्रो भन्दा टाढाबाट आउँनेले नै भरियो,छात्रबास ।
मैले २०४७ सालमा एस.एल.सि. दिएँ । रिजल्ट आउँदा त म फेल भएँछु । म रोइन तर आमा रुनुभयो । मलाई यो घट्नाले धेरै चिन्तित तुल्यायो । आमालाई खुशी बनाउँनका लागि भएपनि मैले फेरि टुप्पि कसेर पढ्ने सोच बनाएँ । मार्कसिट आयो । एउटा विषय मात्र लागेको रहेछ । इङलिसमा १९ आएछ । अर्को साल मैले त्यही एउटा विषय इङलिसको मात्र जाँच दिदा हुने भयो,दिएँ । रिजल्ट आयो । सबै भन्दा बढी आमा खुशी हुनुभयो । राम्रो नम्मर ल्याएर पास गरेँछु । एस.एल.सि. पास गरेपछि साथीहरू सबै छुटे । कतिले त आठ पासै गर्न सकेनन् । गर्नेहरू कतिपयले पनि पढ्न छोड्दिए । कोही सेन्टपमा रोकिए । कोही एस.एल.सि.मा । एकदुई सँगै पास गर्ने पनि कोही कता । कोही कता । कोही नपढ्ने भए । आज एस.एल.सि.पास गरेको पनि पच्चीस वर्ष भन्दा बढी भइसकेछ । स्कुल पढ्दाका कुनै साथीहरू सम्पर्कमा छैनन् । मलाई बारम्बार त्यही बाल्यकाल र तिनै बाल्यकालका साथीहरूको सम्झना आइरहन्छ । मैले तीन कक्षा पास गरेदेखि नै गाउँघर छोडेँ । लगभग पैँतीस वर्ष भन्दा बढी भएछ । बिचमा पाहुना जस्तो कहिले काहीँ आउँदैजाँदै गर्ने गरेपनि ठप्पै गाउँ नपुगेको बीस वर्ष भन्दा बढी नै भएछ । बुबाआमाले पहाड छोडेर मधेश झरेकै तेह्र–चौध वर्ष भइसकेछ । अब त झन् किन जानु र एक–दुई आफन्त बाहेक आफ्नो भन्नु केही छैन ।
यस्तो लाग्छ कहिले त समयले मानिसलाई अग्लो रूखबाट झरेको पात जस्तै उडाउँदै–उडाउँदै नसोचेको ठाउँसम्म पु¥याउँदोरहेछ । कहिले कहाँ अल्झिदै । कहिले कहाँ ठोक्किदै । कुनै बेला त्यस्तो गरि बसेका हामी त्यो ठाउँमा । अहिले सम्झन्छु । म जन्मिएको त्यो पुरानो दुई तले रातो माटोले पोतेको घर । तँ यही मझेरीमा जन्मिएको भनेर आमाले देखाउँनु भएको म जन्मिएको ठाउँ । सम्झन्छु हजूरबा–हजूरआमा त्यही घरमा वित्नुभयो । तीन बालख दाइहरू त्यही घरमा जन्मे । त्यही घरमा विते । बाँकी हामी बुबाआमाका आठ सन्तान त्यही घरमा जन्मियौँ । त्यही घरमा हुर्कियौँ । बढ्यौँ । पढ्यौँ । पखेटा लागेपछि भविष्य खोज्दै बेग मा¥यौँ । दिदीहरूको विहे दान त्यही घरबाट भयो । खुट्टा लागेपछि भित्र बाहिर गरेको त्यो सिकुवा,आँगन । छानाबाट बलेसिमा झरेको पानीको धारोमा खेल्दै नुहाएको । करेसा बारी । जुठेलाको बारमा फलेकाकाँक्रा,फर्सी,करेला,राममेडा,चिचिन्ना,घिरौँला । त्यहाँ आएर गाउँदै नाच्ने भँगेरा,जुरेली,रुपी । आँगनको तल्लो डिलमा चारैपाटा मिलाएर काटेको हरियो निलकाँटाको बार । आँगनको माथ्लो डिलमा फुल्ने घडी फूल,सयपत्री,गोदाबारी,मखमली । बारीको डिलको बुढो दारिमको रूख । त्यहाँ आएर दिनभरि बस्ने एक जोडी ढुकुर । ती बासेको तिनको मिठो स्वर । रूखै ढाक्ने गरि बस्ने भँगेरा । जहाँ पुगेपनि खानाखाने बेलामा बोलाउँदा दौडेर आइपुग्ने कुकुर । ढाडे विरालो । डाँडाबारी,घरबारी,चुहानबारी । बारीको डिलका अम्बकका बोट । लखुवाका डुँडेखेत,छतिमुनेखेत । नावाखोला छब्बीसेका खेत । खेतमाथिका डिलका आँपका बोट । त्यहाँ लटरम्म फल्ने अम्बक,तित्री,आँपका दाना टिप्दै खाएको । खोलामा पौडी खेलेको । ती जामुनाका बोट । जामुन टिपेर खाँदा व्याँङे कमिलाले टोकेको । रूख चढ्न नसक्दा खुकुरीले अखेटा बनाउँदै–बनाउँदै चढ्थ्यौँ हामी । चुवाडे खेतका बाँस नुहाएर सैसला खेलेको । करुम गैराको त्यो ठूलो बयारको बोट । हिउँदमा बाख्रा चराउँन लाँदा बयार टिपेर खाएको । सेताबारीमा चाकाचुली बनाएर खेल्थ्यौँ । घर मुन्तिर बारीको गरामा नेट टाँगेर भलिबल खेल्थ्यौँ । परालको माचमा लुकामारी खेल्थ्यौँ । भैँसीको ढाडमाथि चढेर भैँसी चराउँन लान्थ्यौँ । दशैँतिहारमा पिङ हाल्न तमोर पारि मराङे भीरमा बाबियो काट्न गएको । त्यतिबेलाका साथीसङ्गी,समय । त्यतिबेलाको जिन्दगी । कति रमाइलोसँग विताइयो । बाँसका खुट्टि टेकेर हिँडेको । सिमलीमा लाग्ने पहेँलो लहरा,ऐजेरुको चस्मा बनाएर आँखामा लाएको । बन्दुक बनाएर पड्काएको । माखे साङलो खेलाएर हिँडेको । गोरू जुँधाइ खेलेको । गाउँभरिका गोरूलाई जित्ने हाम्रो साँखे भन्ने ठूलो सेतो गोरू थियो । हामी त्यसको सिङमा झुण्डिन्थ्यौँ । पुच्छरका किर्ना टिपिदिन्थ्यो । जिउ कन्याइदिन्थ्यौँ । कत्ति सुभानी ऊ आनन्द मानेर उभिइरहन्थ्यो ।
हिउँदमा रात्तीनै उठेर हामी सोभाराखोला पारि मकै भट्मास बोकेर दाउरा काट्न जान्थ्यौँ । सतिबयरका दाउरा डोकाभरि बोकेर ल्याउँथ्यौँ । जून नहुँदा राँको बालेर पनि जान्थ्यौँ । पर्म लाएर नावा खोलादेखि धान बोरामा ओसा¥थ्यौँ । तीन–चार घण्टाको बाटो । थाप्लोमा नाम्लो लाएर । अहिले सम्झदा जिउभरि काँडा उम्रिन्छन् । पहिले,अहिलेको जस्तो यातायात,बत्ति र पानीको सुविधा थिएन । यद्यपी अहिले सम्झदा लाग्छ कति आनन्द र रमाइलो जीवन विताइएछ । यस्तै लाग्छ । ती दुःखका दिनहरू पनि दुःखका दिनहरू जस्तो लाग्दैनन् । त्यसबेलाका ती बालसखीहरू सबैसँग एक पटक भेटेर धित मरुन्जेल एक ठाउँ बसेर बाल्यकालका बारेमा कुरा गर्न मन छ । एक ठाउँबाट छुटेका बाटाहरू अर्को ठाउँमा पुगेर फेरि भेट भए जस्तै गरि तिनलाई भेट्न पाए कति रमाइलो हुने थियो होला बाँकी जिन्दगी । कहिले त जिन्दगी त्यो पो रहेछ जस्तो पनि लाग्छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक