खाजावादी : रुपक राई
कपन अनलाइन
काठमाडौं , चैत २९।
जुलुस होस् कि आन्दोलन
पार्टी होस् कि सम्मेलन
मरौ होस् कि भजनकिर्तन
उनीहरुलाई चासो नाराको होइन
सहानुभूति सर्वहाराको होइन
समस्या भाइमारा वा गाइमारा होइन
पटक्कै नेताहरुको पारा होइन ।
हातपार्न पाए पकुवा र चिउरा एक मन
जोकोहिलाई हान्नसक्छन् मुठभेटमा लात
त्यसमा पाउनुपर्छ रक्सी झन्
जोकसैको हान्नसक्छन् घरगेटमा लात
अझ जुत्तो किन्ने खर्च पाए त
हान्नसक्छन् आफ्नै पेटमा लात !
लेख्नेहरुले उनिहरुको ‘आँ कक’ लाई क्रान्तिकारी आवाज भनी लेखे
देख्नेहरुले उनिहरुको मुट्ठीलाई फौलादी लाल सलाम देखे
(मुट्ठीभित्र मुठ्याएको सुकुटी देखेनन्)
कुशल मुर्तिकारले सोही भावभङिको हुबहु सालिक बनाइदिए
र फुर्तिकारले फुर्तिसाथ उनिहरुलाई ‘अमर सहिद’ घोषित गरिदिए
तर इतिहासको पोस्टमार्टम गर्दा
यस्ता अनगिन्ती खाजावादिहरु खासमा
घाँटी भन्दा ठुलो गाँस हाल्नाले
अड्किएर अचानक अचल भएका थिए ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक