सफाइ : ललिता ‘दोषी’ (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर १६ ।
आँसु झार्दै रविना बोलिन्, “हैन छोरा, म खानु न खुट्नु अस्पतालमा छु । तिमीहरूले दुई–चार दिन अफिसमा बिदा लिए के फरक पर्छ हँ ? तिमीहरूको दिल नै छैन कि क्या हो ? पाँच दिनदेखि बिरामी ड्याडी मात्र कुरुवा बस्नुभएको छ ।”
छोराले सहजै उत्तर दियो— “धन्न हामी हजुरलाई हेर्न आएका छौँ । यसमै गर्व गर्नुहोस् । हजुरलाई सम्झना छ कि छैन ? हजुरबुबालाई पनि यसै गरी हस्पिटलमा राखिएको थियो । उहाँको कुनै पर्वाह नगरी हजु्रले आफ्नो जन्मदिन भव्यताका साथ मनाउनुभएको थियो । त्यो बेला म नौ कक्षामा पढ्दै थिएँ । मैले ‘जन्मदिन पछि मनाए हुन्छ’ भन्दा मलाई धेरै गाली गर्नुभएको थियो ।”
रविनाले पुलुक्क छोराको मुखमा हेरिन् । उसका ओठ चलि नै रहेका थिए, “हजुरले न कुनै दिन हजुरबुबा र हजुरआमालाई एक कप चिया दिनु– भयो । न कहिल्यै सम्मान गर्नुभयो । जाडोमा बत्तीको पैसा धेरै लाग्छ भनेर हिटर बन्द गरिदिएको याद छ नै
होला ? हजुर बिरामी भएर बिर्सनुभयो होला । अस्ति हजुरको नातिको पनि जन्मदिन थियो ।सात वर्षको बच्चाले ‘हजुरआमा बिरामी हुनुहुन्छ । यस्तो बेलामा खुसी मनाउनु हुँदैन’ भन्दा सहजै माने । सात वर्षको बच्चाको जति पनि हजुरको बुद्धि भएन । कस्तो दिलको कुरा गर्नुृहुन्छ ? मलाई सफाइ दिने कुनै शब्द छ हजुरसँग ?”
रविनाको ओठ मौन रह्यो । आँखामा भने आफूले गरेका कर्तुत फनफनी नाच्यो ।
उनको मनले यही भन्यो—“घाम डुबिसकेपछि आँखा खुल्यो । ‘जसले जे बीउ छर्छ त्यही त उम्रिन्छ ।’ उफ् के सफाइ दिऊँ खोइ ?”
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।