चावहिल दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबलको क्वाटरफाइनलमा
कपन अनलाइन
काठमाण्डौ ,पुस २५।
चावहिल भेट्रान दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगितामा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
जावलाखेल मैदानमा चावहिलले डिफेन्डिङ च्याम्पियन कुपण्डोल ४० प्लस भेट्रानलाई ३–० गोलले पराजित गर्यो । चावहिलका अजब श्रेष्ठले २ तथा राजनलाल नेपालीले १ गोल गरे ।
श्री कुसुन्ती युवा क्लब र ललितपुर महानगरपालिका वडा १३ द्वारा संयुक्त आयोजित प्रतियोगितामा थर्ड आई क्लब, आईयुएफसी र आयोजक कुसुन्ती ‘बी’ पनि क्वाटरफाइनलमा पुगे ।
थर्ड आईले आयोजक कुसुन्ती ‘ए’ लाई १–० गोलले हरायो । थर्ड आईका विश्व बैरागीले निर्णायक गोल गरे । आईयुएफसीले वि आर ब्रडर्सलाई ४–१ ले पाखा लगायो । विजयी टिमका लागि यम गुरुङले २ तथा विनोद महर्जन र कुमार शाहीले समान १–१ गोल गरे ।
कुसुन्ती ‘बी’ ले बूढानीलकण्ठ भेट्रानलाई २–१ गोलले पन्छायो । कुसुन्ती ‘बी’ का लागि दुवै कृष्णबहादुर राईले गरे । बूढानीलकण्ठका अर्जुन लामाले १ गोल फर्काए । क्वाटरफाइनल पुग्ने बाँकी ४ टिमको टुंगो शुक्रबार लाग्ने छ ।