सफाइ : छायाँदत्त न्यौपाने (लघुकथा)
कपन अनलाइन
काठमाडौं, कात्तिक१०।
हैन, के भा हो ?अचेल मान्छेसँग अनुशासनको बिउ पनि छैन । व्यवहारमा कतै देखिँदैन । देखासिकी बढेको छ, उद्दण्ड–उद्दण्डको बोलबाला छ । अरु कुरै नगरौं परिवार सहिष्णु छैन । ७१ बर्से बुढाले चिन्ता व्यक्त गरे ।
परिवार भाँडियो भनेर बाले चिन्ता व्यक्त गरेको सुनेपछि बुहारी चुप रहन सकिनन् । उनले भनिन् – मान्छे आफैले आफूलाई अनुशासनमा राख्न सकेन, जानेन, चाहेन बा ! ऊ विवेक प्रयोग गर्दैन अचेल ! आफ्नो आङमा भैंसी लुकाएर अरुका आङमा लिखा कोट्याउन दौडिन्छ ।
हँ , बुहारी तिमी यो के भन्दै छ्यौ ? सल्लाहमा हिँडे परिवार भाँडिन्छ ? हल्लामा हिँडेर हो नि बिग्रेको ! हो, ससुराबाले बुझेको र मैले भनेको कुरो उस्तै हो । मान्छे लहैलहैमा लाग्यो , कुरौटे पत्यायो । आफूले गर्नुपर्ने काम नगर्ने उसले गरेन भनेर गाउँ गुहार्ने ? यति मात्र होइन, अरुले बढाई–चढाई जे भन्छ त्यै पत्याउने ? आफूसँग भएको बुद्धि–विवेक प्रयोग नगर्ने, आफैलाई विश्वास नगर्ने ?
बुहारीको तर्क सुनेर– हो, बुहारी ठिक भन्यौ । कुरौटे पत्याएपछि जीवन सजिलो हुँदैन । हो, ससुराबा अझ साँच्चै (भन्न नहुने तर सत्य यही हो ) भन्ने हो भने सासूआमाहरू दोषी छन् । बुहारीकी सासू छोरो बिगार्छिन् , ज्वाइँकी सासू छोरी बिगार्छिर्न् । दुवै उस्तै, दुवै दुवैलाई बल गरी गरी कुरा दोचारेर बिगार्छन् । अनि ती बुहारी र ज्वाईं फतौरे कुरा सुनेर बत्तिन्छन् । सत्य के हो, सही के हो, हुनुपर्ने के हो ? बुझ्नै खोज्दैनन् । अझ बुझ पचाउन बेर लाउन्नन् ।
परिवार भएसी सबैले कर्तव्य चिनेर व्यवहार गर्नुपर्ने नि ! पर्ने मात्र हुन्छ चिनिँदैन । आपसमा सम्मान गर्ने, असमझदारी भए छलफल गरेर सफा हुने त मतलबै छैन,उस्तै मै–मत्त !
यहाँ बुहारी नभई भएको छैन उत्तिकै खाँचो छ ज्वाईं !
कस्तो गजबको कुरा ग¥यौ बुहारी –यी कान नछामी कागको पछि लाग्ने आफूले त दुख पाए पाए नाबालक सन्तानको भविष्य पनि अँध्यारै पार्ने भए कस्ता नकचरा असत्ती !
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक