जिन्दगीको हिसाब : त्रिलोचन आचार्य (कविता )

जिन्दगीको हिसाब :  त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन
काठमाडौं, कात्तिक१०।

हार्दा हार्दै छन् जितेका कसैले ?
बढ्दा बढ्दै घट्छु भन्ने सबैले
यस्तोमा खै ! हुन्न केही निसाफ
हेर्दै जाऊँ जिन्दगीको हिसाब

बाँच्दा बाँच्दै जिन्दगी बल्नसक्छ
हाँस्दा हाँस्दै जिन्दगी छल्नसक्छ
हिँड्दा डुल्दा घाम जाँदा घुमेर
मेलो भन्दै बढ्छ मेरो उमेर

बाटोमा वा खेतमा वा घरैमा
निद्रामा वा होसमा वा डरैमा
जाऊँ आऊँ वा बसी झन् कुदौँला
पर्खी हेर्ने हैन भन्ने बुझौँला

खाँदा खेल्दा गफ्फिँदा भाइ साथी
माया गर्दा चैत्र वैशाखमाथि
छन् आनन्दी फाँट कुर्दै बसेर
हेर्दा हेर्दै हुन्छ होला अबेर

चम्की चम्की बस्छ यो धाम जस्तै
लम्की लम्की हिँड्छ यो घाम जस्तै
प्यारो प्यारो लाग्छ यो प्रीत जस्तै
भन्छन् मान्छे जिन्दगी गीत जस्तै

नानी भन्लान् हुन्न कैल्यै अबेर
बाबा भन्लान् यो गैसक्यो उडेर
जाने नै हो जान्छ भन्ने बुझेर
आफ्नै बाटो हिँड्छ हाम्रो उमेर

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।