रिमोट : राजु क्षत्री ‘अपुरो’ ( लघुकथा)
कपन अनलाइन
काठमाडौं, भदौ २२।
काठमाडौं, भदौ २२।
छिमेकीको घरमा केबल लाइन जोडेपछि केटाकेटी उतै आकर्षित हुन थाले । यहाँसम्म कि मेरो आडमा टाँस्सिएर नेपाल टेलिभिजनबाट आएका कार्यक्रम हेर्ने अर्धाङ्गिनी समेत छिमेकिको घरतिर धाएर सिरियल हेर्न थालेपछि बाध्य भएर मैले पनि केबल लाइन जोडिदिएँ । केटाकेटीको खुसीको सीमा रहेन । अर्धाङ्गिनीका आँखाबाट हर्षाशु बगे ।
केटाकेटीहरू स्कुलबाट आउने बित्तिकै गृहकार्य सकेर आ –आफ्नो मन परेको कार्यक्रम हेर्थे । म पालो मिलाएर उनीहरूको मन परेको कार्यक्रम लगाइदिन्थें । श्रीमतीको सिरियलको पालो आउँदा केटाकेटी चुप लाग्थे । राम्रा फिल्मको पालो आउँदा म आफू रिमोट थिच्थेँ । एवम् रितले हामी मनोरंजन लिने गथ्र्यौँ ।
केही दिन यता रिमोटले काम गरिरहेको थिएन । एउटा बटन दवायो अर्को च्यानलको प्रोग्राम आउँथ्यो । च्यानल बटार्दा बटार्दै त्यसले पनि काम गर्न छाडेको थियो । केटाकेटी र अर्धाङ्गिनी आफ्नो मन परेको कार्यक्रम हेर्न नपाउँदा रिस्सिदै मलाई नै कराउँथे । मेसो मिलाएर मैले मेकानिकलाई घरमा नै बोलाएँ ।
मेकानिकले रिमोट हे¥यो, टिभी खोल्यो । टि भीमा ‘सामान्य गडबडी भएको’ भन्दै मर्मत गरेर दक्षिणा लिदै आफ्नो बाटो लाग्यो । बिहान बनाएको टि भीमा फेरि पुरानै रोग देखा पर्न सुरु भयो ।
उसलाइ फेरि झिकाइयो । उसले टि भी चेक गर्यो । सबै पार्टपुर्जा सहि सलामत थिए । तैपनि रिमोटले काम गरिरहेको थिएन । नेपाल टेलिभिजन २ लगाउँदा दिल्ली दूरदर्शन १
आउथ्यो । १ लगाउँदा दूरदर्शन २ आउँंथ्यो । फिल्म च्यानल लगाउँदा गीत बज्थ्यो । कार्टुन लगाउँदा सिरियल आउँथ्यो ।
केटाकेटी मलाई कराइरहेका थिए, “बाबा यो टिभी नै बिग्रेको हो अर्को ल्याउदिनुहोस् ।”
मेकानिकले भन्यो –“नानीहरू, टि भी र रिमोट ठिकठाक छन् ।तर रिमोट तिम्रो हातमा भएपनि चलाउने संयन्त्र चाहिँ अरुबाटै परिचालित छ । बुझ्यौ ?”
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।