सांस्कृतिक पर्व तीज : वर्तमान अवस्था (डा.सीता सुवेदी पन्थी)
कपन अनलाइन
काठमाडौं, भदौ २२।
परापूर्व कालदेखि हिन्दु महिलाहरूले उत्साहपूर्वक मनाउँदै आएको चाड हो– तीज । तीज भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइन्छ ।हाम्रा हरेक पर्वको आफ्नै धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्व रहेको छ । तीज हाम्रो मौलिक संस्कृति मात्र नभएर सभ्यता पनि भएकाले यसको आफ्नै महत्व छ । तीजका सम्बन्धमा हिमालय पुत्री पार्वतीले शिवलाई पति पाऊँ भनी कठोर तपस्या गरेको धार्मिक कथन रहेको छ । पार्वतीले एकाग्रतापूर्वक गरेको तपस्याबाट शिवजी प्रसन्न भई चिताएको कुरा पुगोस् भनी आशीर्वाद दिएको र पार्वतीले शिवलाई पतिका रूपमा प्राप्त गर्न सफल भएको धार्मिक विश्वास रहेको छ । यस प्रसङ्गले कुनै पनि कार्यमा सफलता प्राप्त गर्न दृढ सङ्कल्प, एकाग्रता तथा धैर्यपूर्वक गरिएको निरन्तर साधनाको आवश्यकता पर्छ भन्ने सङ्केत गर्दछ ।
भाद्र शुक्ल द्वितियाका दिन शुद्ध र अडिलो हुने खानेकुरा दरका रूपमा ग्रहण गरिन्छ । तीजका दिन पूजाआजामा सहभागी हुने, दुःखसुख साटासाट गर्दै नाचगान गरी मनोरञ्जन गर्ने भएकाले अघिल्लो दिन दरका रूपमा विशेष गरी दुधबाट बनेका खानेकुरा (ठाउँअनुसार फरक फरक) खाने चलन चलेको पाइन्छ । यस दिन विवाह गरेर गएका चेलीबेटीहरूलाई माइतमा बोलाएर दर खुवाउने गरिन्छ । छोरीचेलीहरू आफ्नो जन्मघरमा जान पाउने, स्वतन्त्रपूर्वक रमाइलो गर्न पाउने, कामको बोझ र थकानबाट मुक्त रहने हुँदा यस चाडलाई नारी स्वतन्त्रतासँग पनि जोडेर हेर्ने गरेको पाइन्छ । यस पर्वको धार्मिक, सांस्कृतिक महत्व त छँदैछ, यसलाई आमाबुबा, दाजुभाइ, दिदीबदिनीका साथै बाल्यकालीन साथीहरूसँग भेटघाट गर्ने, दुःखसुख साटासाट गर्ने महत्वपूर्ण अवसरका साथै पारिवारिक, सामाजिक सद्भाव बढाउने पर्वका रूपमा पनि लिइन्छ । तृतीयाका दिन विवाहित हिन्दु नारीहरू भगवान् शिवको पूजा, आराधना गरी विशेषतः पतिको दीर्घायु, आरोग्य, ऐश्वर्य, सुस्वास्थ्य तथा अटल सौभाग्यको कामना गरी व्रत बस्ने प्रचलन छ । अविवाहित नारीहरू भने असल पति पाऊँ भनी व्रत बस्ने गरेको पाइन्छ । यो दिन हरितालिका तीजका नामले प्रसिद्ध छ । त्यसै गरी गणेशको जन्म भएको दिनका रूपका गणेश चतुर्थी मनाइन्छ । पञ्चमी तिथिमा सप्तऋषिको पूजा गरी तीज पर्व समापन हुन्छ । तीज पर्वका चारै दिनको छुट्टाछुट्टै विशेषता र महत्व रहेको पाइन्छ ।
धार्मिक, सांस्कृतिक, आध्यात्मिक महत्वका साथै वैज्ञानिक दृष्टिले पनि यस चाडको महत्व पुष्टि गर्न सकिने पर्याप्त आधार छन् । जस्तै ः ऋषिपञ्चमीमा दतिवन चपाउने, त्यसले दाँत माझ्ने, स्नान गरिसकेपछि दुध, घिउ, दही, दुबो, कुश, गोबर मिसाएर तामाको भाँडोमा राखिएको दुई थोपा सेवन गर्ने प्रचलन छ । औषधीय गुणयुक्त रोगनाशक जडीबुटी तथा पदार्थको सेवन गर्नु स्वास्थ्यका दृष्टिले निकै महत्वपूर्ण मानिन्छ । स्वस्थ र शुद्ध खानपान, योग, ध्यान, साधना, उपवास, मनोरञ्जन जस्ता विषयहरू शारीरिक तथा मानसिक स्वास्थ्यका दृष्टिले महत्वपूर्ण छन् । वैज्ञानिक दृष्टिले विश्लेषण गर्ने हो भने ऋषिपञ्चमी व्रतविधिसँग जोडिएका कतिपय सन्दर्भहरू प्रजनन स्वास्थ्यसँग सम्बन्धित पनि छन् । यसरी परम्परागत रूपमा अवलम्बन गरिँदै आएका तीजसँग सम्बन्धित कतिपय प्रचलनहरू वैज्ञानिक दृष्टिले निकै महत्वपूर्ण रहेको तथ्य प्राप्त गर्न सकिन्छ । हाम्रा मौलिक संस्कृतिमा भएका ग्रहणयोग्य विषयहरूको संरक्षण र अवलम्बन गर्नु तथा अन्धविश्वासयुक्त कुराहरू परिमार्जन गरी समयसापेक्ष बनाउँदै जानु आजको आवश्यकता हो ।
केही समय यता धार्मिक, सांस्कृतिक पर्वका रूपमा मानिँदै आएको तीजका नाममा निकै विकृतिहरू देखिन थालेका छन् । लामो समयसम्म भेटघाट नभएका दिदीबहिनीरू माइतीमा भेला भएर माइती, साथीभाइसँग सुखदुःख साटासाट गरी पुनर्मिलनको उत्सवका रूपमा मनाउनुपर्ने पर्व अहिले आएर होटल, रेस्टुरेन्ट, बार, पार्टि प्यालेसमा महङ्गा लुगा र गरगहना प्रदर्शन गरी छाडा किसिमका गीत र उच्छृङ्खल नृत्य प्रदर्शनसम्म पुग्नु निकै दुखदायी विषय हो । महिनौँ अगाडिदेखि दर खाने, दरका नाममा स्वास्थ्यमा प्रतिकूल असर गर्ने अभक्ष्य भोजनका साथमा रक्सी, वियर आदिको सेवन गर्ने प्रचलनले दरको संस्कृति विकृति बनेर अगाडि बढेको देखिन्छ । यसले हाम्रो धर्म, संस्कृति, संस्कार र सामाजिक अवस्थालाई कता लैजाँदै छ भन्ने विषयमा सोच्नु पर्ने बनाएको छ । तीजको भड्किलो दर कार्यक्रम तथा तीजका नाममा गरगहना र लुगाफाटोमा गर्ने फजुल खर्चलाई उत्पादनमुखी बनाउनेतर्पm चेतना जागृत गराउनुपर्ने समय आएको छ ।
महिलाहरूको पर्वका रूपमा मनाउँदै आएको तीज पर्वमा महिलाहरूबाटै महिनौँ अगाडिदेखि दर खाने, महङ्गा गरगहना र लुगाफाटोले भड्किलो बनाउने, अनावश्यक खर्च गर्ने, श्रावण सुरु भएदेखि नै मेहन्दी, हरिया, पहेँला चुरा, लुगाफाटो आदिको प्रदर्शन गर्ने, सामूहिक रूपमा एकै रङका पोसाकहरू किन्ने, लगाउने र विभिन्न भड्किला कार्यक्रमहरू गर्ने, उच्छृङ्खल शब्दहरू संयोजन गरी संस्कृतिलाई नै विकृत बनाउने गीतहरू गाउने, छाडा नृत्य गरी सामाजिक सञ्जालमा राख्ने आदि आदि कार्यहरू भइरहेका छन् । हिजोआज तीजका नाममा देखिएका यस्ता उत्ताउला व्यवहार, छाडा प्रकृतिका गीत र नृत्यले समाजमा नकारात्मक प्रभाव परिरहेको देखिन्छ । नारी अस्मिता तथा सम्मानमाथि नै चोट पुग्ने कार्य केही नारीहरूबाटै गरिनुले समग्र नारीहरूको इज्जत बढेको छैन बरु समाजमा नकारात्मक टीकाटिप्पणी हुन थालेका छन् । यसरी संस्कृतिलाई स्वयम्ले विकृत बनाउन नहुने कुरामा नारी वर्ग सचेत रहनु जरुरी छ ।
नारी स्वतन्त्रता, अधिकार प्राप्ति र प्रयोगका सन्दर्भलाई यस्ता विकृत व्यवहारसँग जोडेर हेर्ने गरियो भने नारी अस्मितामाथि चोट लाग्ने, हिंसाका घटनाबाट प्रताडित हुनुपर्ने तथा दुर्घटित जीवन बिताउनु पर्ने अवस्था नआउला भन्न सकिँदैन । त्यसैले यस्ता विकृतिको अन्त्यका लागि महिला दिदीबहिनीहरू स्वयम् सचेत बन्नुपर्ने आवश्यकता छ । अस्वाभाविक गतिविधिमा संलग्न भएर हामी कसैको हाँसोको पात्र नबनौँ ।
अन्य चाडपर्व समन्धित तिथिमितिमा मनाएर हुन्छ भने तीज महिनाभरि मनाउनुपर्छ भन्ने छैन । यसको धार्मिक, सांस्कृतिक महत्व नयाँ पुस्तामा हस्तान्तरण गर्न विद्यालयमा तथा अन्य संघसंस्थामा त्यससँग सम्बन्धित विचार गोष्ठी, प्रतियोगिता गराउने, पाठ्यवस्तुका सान्दर्भिकतानुसार धार्मिक, सांस्कृतिक महत्वलाई समय सान्दर्भिक हुने गरी सिकाउने, सकारात्मक सन्देश र चेतना जागृत गराउने किसिमका गीत रचना तथा प्रचारप्रसार गर्ने, सिर्जनात्मक क्षमता बढाउने, अभिव्यक्ति क्षमता बढाउने उद्देश्यले विभिन्न कार्यव्रmम गर्दा सान्दर्भिक हुन आउँछ । यस्तो गर्न सकेमा समाजमा विकृति होइन संस्कृतिको महिमा उच्च बनाउन मद्दत मिल्छ । हामी अपमानित होइन सम्मानित बन्न सकौँ । जनमानसमा सबैभन्दा छिटो प्रभाव छोड्न सक्ने गीत, सङ्गीतलाई व्यक्ति तथा समाजको समृद्धिका लागि चेतना जागृत गराउने, समाजका विकृति हटाउने, समाजको सकारात्मक रूपान्तरणका लागि मार्गदर्शन गर्ने तथा सन्देशमूलक हुने गरी शब्दचयन, निर्माण, संयोजन तथा प्रचारप्रसार गरौँ । सस्तो लोकप्रियता र मनोरञ्जनका नाममा विकृति पैmलाउने कार्य बन्द गरौँ ।
अन्त्यमा, यस वर्षको हरितालिका तीजका अवसरमा सबै किसिमका असमानता र विकृतिहरूको अन्त्य गरी सकारात्मक सोच र सद्भावको विकास गर्न सकियोस्, नारी अस्मिताको रक्षा गर्न सकियोस्, स्वतन्त्रता र अधिकारको सही रूपमा प्रयोग गर्न सकियोस्, संस्कृतिलाई गौरवमय बनाउन सकियोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक