दुर्घटना : श्रीप्रसाद पोखरेल (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,साउन २१ ।
“हामीलाई पनि मायाले हेर अस्मिता ।” भन्दै एउटा फटाहाले जिस्क्यायो ।
अस्मिता नबोली अगाडी बढिन् ।
फेरि हिँसाले “ट्वाक्क…” गरेर जिब्रो पड्कायो ।
हातको किताब बलियो गरी छातिमा च्यापेर अस्मिता अगाडि बढिन् ।
सार्वजनिक बाटो । बाटामा न्याय, कानुन, समाज, पालिका, सरकार, एन जि ओ, आइ एन जि ओ सबै ओहोर दोहोर गरिरहेका थिए ।
अस्मिता साँझको समय भएकोले अलिक छिटो पाइला चालिन् ।
फटाहाले पछाडिबाट च्याप्प अस्मितालाई समात्यो । गुण्डाले तानेर उखुबारी तिर लग्यो । “गुहार ऽ ऽ गुहार ऽ ऽ” अस्मिता चिच्याइन् ।
गुण्डा, फटाहा, मुन्द्रे, झ्याप्ले, चोर, डाका, बलत्कारी मिले ।अस्मिताको केही लागेन । बलत्कार अगाडि सर्यो । पालैपालो अस्मिता लुटिइन् । चोरले उनको गोजीको पैसा झिक्यो । ब्यभिचारीले उनका किताब, कपडा, चप्पल पानीमा फालि दियो ।
“यसबेला सम्म अस्मिता किन आइपुगि न । जा जा भरोसा ! बाटोमा हेर” कोखले भनिन् ।
कुद्दै आएर भरोसाले कोखलाई भनिन् “आमा ! आमा ! बातोमा धेरै मानिस पो छन् त ।”
घरका सबै बाटो तिर कुदे । हिम्मतले टोपी थापेर लाचारीपुर्वक न्याय मागिरहेका थिए ।
कचहरी बस्यो । जनप्रतिनिधिले घटनाको प्रत्यक्षदर्शीलाई सोधे ।
फटाहाले हाँस्दै भन्यो “हामीले त देखेनौं ।”
न्याय, कानुन, समाज, पालिका सबै मौन थिए ।
कचहरीले निष्कर्ष निकाल्यो “दुर्घटना ।”
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक