भेदभाव : सुनिता निरौला पौडेल (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,साउन २१ ।
“के गर्दै हो माइली ?” पल्लाघरे सेती एकाबिहानै माइलीको घरमा आइपुगिन् ।
“बसिराखेको नि ?”
माइलीको छोरा र छोरीको भरखरै बिहा भएको थियो । आफू सासू भएर मख्ख थिइन् ।
“छोरा बुहारी के गर्दै छ्न् तिम्रा ?”
“हेर न ! आजकालका छोरा, बिहा गरेका दुई दिनपनि भाको छैन आफ्नी बुढीलाई टाउकोमा टेकाउँछन् ।” कर्के स्वरले भनिन् ।
“कसरी टेकाए र ?” चासो लिँदै सेतीले प्रश्न तेस्र्याइन् ।
“एका बिहानै बुढीलाई ओछ्यानमा चिया पकाएर लग्या । हेर, सरम पचेको !”
रोष प्रकट गर्दै माइलीले भनिन् ।
“सन्चो भएन होला नि ! बुहारी पनि त छोरी जस्तै हुन् ।” सेतीले सुन्दर कुरा ल्याइन् ।
उनले कुरा नसुन्दै “हेर ! बुहारी त छोरी हुँदैनन् के !”
तत्कालै छोरीको फोन आयो, “आमा आरामयी हुनुहुन्छ नि ?”
“आरामयी छु बा” खुशी मुद्रामा माइलीले उत्तर दिइन् ।
“के गर्दै छौ, छोरी ?” हालखबर बुझ्न चाहिन्,उनले ।
“हजुरको ज्वाइँ त कस्तो असल के ।” अलि प्याउले पाराले भनिन् ।
“कसरी असल हुनुभयो त ज्वाइँराजा ?” अचम्म मान्दै भनिन् ।
“मलाई नि आमा, एकाबिहानै हजुरको ज्वाइँले ओछ्यानमै चिया ल्याइदिनु– भाको ।”
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक