मन्दिरमा बास नपाएका द्यौता (देवता) : केशवराज भट्ट सागर (लघुकथा )
कपन अनलाइन
काठमाडौं, जेठ १९।
‘म प्रत्येक मान्छेको हृदयमा बस्न चाहन्छु,मान्छे मलाई मन्दिरमा बसाउन चाहन्छन् । म मानिसको आत्ममा दर्शन दिन चाहन्छु,मान्छे मलाई मूर्ति दर्शन गर्न चाहन्छन् ।
म मान्छेको बानी व्यवहारमा सुगन्ध लेपन गर्न चाहन्छु, मान्छे मेरो मूर्तिमा रङ्गरोगन गर्छन् ।’
सपनीमा पनि होइन, कल्पनामा पनि होइन, तर मेरा अगाडि भगवान हुनु हुन्थ्यो । म झस्किएँ आफैले आफूलाई चिमोटे तर म ठिकै थिएँ । म अचम्मित भएँ म आत्तिएँ र हत्त न पत्त भगवानलाई प्रणाम गरें ।
मसँग भगवानलाई पूज्नलाई षोडषोपचार थिएन, चाँदिको थालिमा सुनको लड्डु थिएन, स्वागतार्थ सुगन्धित र उज्याला रत्न जडित मणि माणिक्य थिएनन्, भगवानलाई सम्मान साथ आसन गराउनका निम्ति सिंहासन थिएन ।
त्यसैले म आत्तिएँ !
छट्पटाएँ मेरा चिटचिटाहट र छटपटाहट देखेर
भगवानले शितल भएर भन्नु भयो । बालक तिमी किन यसरी आत्तिएको ?
मैले भन्न सकिन, भगवानले हाँस्दै भन्नुभयो, तिमी आत्तिनुको कारण मलाई थाहा छ । म केहि बोल्न सकिन, केवल हेरिरहें ।
भगवानलाई भोजन गराउनलाई मसँग चौरासी व्यञ्जन थिएन, त्यसैले म आत्तिएको थिएँ । तर भगवानले शान्त स्वरमा भन्नु भयो ‘तिमीले त प्रवित्र हृदय चढाएकाछौ,अमृतवाणीको भोजन गराएका छौ, नित्य आरतीका मणि चढाएका छौ,मेरा लागि चौरासी व्यञ्जनको कुनै कमि छैन, षोडषोपचारले पूजा गर्नेको कुनै कमि छैन, रत्न मणि माणिक्य चढाउने कुनै कमि छैन, ‘कमि छ त केवल पवित्र हृदय चढाउनेको ’
वर्तमान अवस्थामा तिमी जस्तो पवित्र हृदय राख्ने शरिर र भौतिकताको कुनै वास्ता नगरी मलाई सम्झने भक्त पाउन दुर्लव छ, त्यसैले म तिम्रो सामु छु ।
यसरी भगवानले वाणि बर्साउदै गर्दा मेरा आँखा बर्सिए आशुको वर्षाद भयो ।
सायद भगवान प्रति आसिम श्रध्दा प्रेम भएर होला ।
भगवान भन्दै हुनु हुन्थ्यो
“म प्रत्येक मान्छेको हृदयमा बस्न चाहन्छु, मान्छे मलाइ मन्दिरमा बसाउन चाहन्छन्, म मानिसको आत्ममा दर्शन दिन चाहन्छु, मान्छे मलाइ मूर्तिमा दर्शन गर्न चाहन्छन्, म मान्छेको बानी व्यवहारमा सुगन्ध लेपन गर्न चाहन्छु, मान्छे मेरा मूर्तिमा रङ्गरोगन गर्छन ।
यसरी भगवानका गुनासाहरु सुन्दै गर्दा कताकता हो जस्तो अनुभव भयो । वर्तमानका मानिस ठगि र जाली मात्रै छन्,कसैको पनि पवित्र हृदय भेटिदैन । त्यसैले होला सायद भगवानले मलाई नै दर्शन दिएर यसरी आफ्ना गुनासाहरु पोखेको यसरी भगवान आफूसँग खुलेर बगेको देखेर म झनझन भक्तिमा डुब्दै गएँ ।
भगवानले मेरा टाउको सुमसुम्याउदै भन्नुभयो अब म अन्तरध्यान हुन्छु,तिमी यो रहस्यमय कुरालाई बाहिर ल्याउनु मेरा आर्शिवाद सदासर्वदा तिमीमा रहिरहनेछ ।
त्यसपछि भगवानलाई दण्डवत् प्रणाम गरी आँशु बगाई भगवानको आज्ञालाई शिरोधार्य गर्दै शंकल्प गरें
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक