कला साधक हेम पौडेल : प्रशुराम अधिकारी ( चिनारी)

कला साधक हेम पौडेल : प्रशुराम अधिकारी ( चिनारी)

कपन अनलाइन

काठमाण्डौ,बैशाख ८।

काठमाडौंको बत्तीसपुतलीमा वि.सं. १९९७ सालमा जन्मनु भएका कलाकार हेम पौडेल नेपाली कला क्षेत्रका विशिष्ट प्रतिभा हुनुहुन्छ ।

प्रकृतिको प्रेरणाबाट कला क्षेत्रमा लाग्नु भएका पौडेल जलरंगी पारदर्शी दृश्यचित्रमा प्रखर मानिनुहुन्छ । आफ्नो जीवनमा चराको कला बनाउन बढी संलग्न रहनु भएका उहाँको चराको अति सुन्दर चित्र बनाउने चित्रकारका रूपमा परिचय स्थापित छ । अन्र्तमुखि, सरल र साधा जीवनशैलीका पौडेल ‘बर्ड आटिष्टका रुपमा प्रसिद्ध हुनुहुन्छ ।
उहाँले चित्रकारका रुपमा घरेलु शिल्पकला उद्योग त्रिपुरेश्वरमा जर्मन प्रशिक्षकबाट २०१६ देखि २०१९ सम्म तीन वर्ष कमर्सियल आर्ट कोर्ष प्रशिक्षण लिने मौका पाउनुभएको थियो । त्यस प्रशिक्षणबाट उहाँको कलाकारिता थप प्रखर भएर आएको थियो ।
लैनसिंह वाङ्देल कुलपति भएका बेला तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा उहाँले दुई वर्ष कला जागिरेको अनुभव बटुल्नु भएको थियो । त्यही बेला नेपालका चराहरूको विषयमा २५ वर्ष अनुसन्धान गरेका विशेषज्ञ रोबर्ट एल फ्लेमिङ सिनियर र रोबर्ट एल फ्लेमिङ जुनियरले पुस्तक प्रकाशन गर्न बाङ्देलसित कलाकारका लागि सम्पर्क गरेका थिए । त्यतिबेलै उहाँसँगै हिरालाल डंगोल छानिनु भएको थियो ।
चराबाहेक पनि उहाँले धेरै प्रकारका चित्र बनाउँनु भएको छ । २०६३ मा उहाँले बनाएको कलाकार लैनसिंह बाङ्देलको अनौठो अभिव्यञ्जनामूलक व्यक्तिचित्र हेर्दा उहाँले कसरी आफ्नोपनलाई स्थापित गर्नुभएको रहेछ भन्ने स्पष्ट अनुभव गर्न सकिन्छ । २०६४ सालतिर काठमाडौँमा ‘वातावरण र चराहरू’ नामक उहाँको एकल कला प्रदर्शनी बढ्दो औद्योगीकरण, शहरीकरण, ग्लोबल वार्निङ र भौतिक उन्नतिको होडमा मानिसले वातावरण विनाश गरिरहेका बेला चित्रमार्फत् उहाँले संरक्षणको सन्देश दिँदै आउनु भएको थियो ।
उहाँ २०६५ सालदेखि ‘वातावरण र चराहरू’ विषयमा वातावरण जोगाउन जनचेतनामूलक काम गर्दै आउनु भएको थियो । उहाँ ‘वातावरण र चराहरू’ शीर्षकमा चित्रकला प्रदर्शनी गरेर चेतना जगाउने काममा समर्पित हुनुहुन्थ्यो । पहिला पानी रंग प्रयोग गर्ने पौडेल २०६५ देखि तैल चित्र बनाइरहनुको थियो ।
उहाँले नेपालमा पाइने ६ सयभन्दा बढी प्रजातिका चराका चित्र बनासक्नु भएको थियो । उहाँका चित्र चरा सम्बन्धी पुस्तकमा सङगृहीत छन् । उहाँले स्वदेश र विदेशमा समेत कला प्रदर्शनी गरिसक्नु भएको थियो ।
पौडेलले आफ्नै निवासमा ‘हेम आर्ट ग्यालरी’को स्थापना गरेर एकसुर चराहरूकै संसारमा हराइरहनु भएको थियो । उडिरहेको डाँफेको पखेटा र पुच्छरको रङ, नाचिरहेको मयुर र माछापुच्छ्रेको काखमा चिरबिर गर्दै रमाइरहेको कालिजहरूको सौन्दर्ययुक्त चित्रले उहाँको ग्यालरी आउने जो कोही मन्त्रमुग्ध हुन्छन् नै । उहाँको कलामा प्रकृति र चराको आकर्षक संयोजन देखिन्छ । चराको चित्रसँगै अग्रभागमा आकर्षक हिमाल, पहाड, झ्याम्म परेको रूख र बिरुवालाई उहाँको कुचीले सौन्दर्य थपेको छ । उहाँको बारेमा मुकेश मल्लले ‘हेम पौडेलको अविरल कलायात्रा’ भन्ने पुस्तक लेख्नु भएको छ ।
प्रज्ञाप्रतिष्ठानले २०३९ सालमा उहाँको ‘नेपालका चराहरू’ कृति प्रकाशित गरेको थियो ।
कलाकार तथा साहित्यकार हेम पौडेलको आलोक’ कविता सङ्ग्रह, ‘नेपालका चराहरु’, ‘द बर्ड्स अफ गड’, ‘द हिमालयन बर्ड्स’, ‘मेमोरी कार्ड’ लगायतका कृतिहरु प्रकाशित छन् । अविरल कला यात्रामा उहाँको जीवनी छापिएको छ ।
उहाँले साउदी अरबको आराम्को कम्पनीमा भएको चित्रकला प्रदर्शनीमा प्रथम पुरस्कार र नेपाल जापान कला प्रदर्शनी २०६२ प्रशंसापत्र प्राप्त गर्नुभएको थियो । साथै उहाँले राष्ट्रिय प्रतिभा पुरस्कार (कलातर्फ), सिम्पल सम्मान लगायतका पुरस्कार सम्मान प्राप्त गर्नुभएको छ ।
पौडेलले हेमगङ्गा अपाङ कला पुरस्कार, हेमगङ्गा साहित्य कला पुरस्कार, हेमगङ्गा कबा रचना पुरस्कार लगायतको स्थापना गर्नुभएको छ । पौडेलको श्रीमती वरिष्ठ साहित्यकार गङ्गा कर्माचार्य पौडेल, एक छोरा र एक छोरी हुनुहुन्छ । पौडेल कपन बानेश्वरका आवरण चित्रकार तथा संरक्षकसमेत हुनुहुन्छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।