वाग्मती : शीला पन्त (कविता )
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक १८।
वाग्मती तिमी हौ गङ्गा सुवासित तिमी थियौ
ध्यानी ज्ञानीहरू जम्मै तिम्रै आश्रयमा थिए
चराहरू उडी झर्थे वाग्मती तीरमा सधैं
प्यूँदै जल रमाएर ताक्दै क्षण त्यसै सधैं ।
उदाए पशुका रूप मान्छेलाई तिलाञ्जलि
दिदै छन् गर्वले फुल्छन्, थाप्दै छन् अझ अञ्जुली
लेदो मैलो पिई भन्छन् गर्दैछौँ अझ सुग्घर
चर्पीका गन्धले द्यौता रमाउदैछन् धर्धरी ।
‘कली व्याप्त भयो’ भन्छन् साधू सन्त बराबर
गैसक्यो, गैसक्यो सत्व छैन छैन कुनै भर
तरबार उठाएर गिँड्दैछन् यिनी वाग्मती
‘कठैबरा’ भनी थुक्छन् तीर्थका मुखमा सबै ।
लाजै छैन कसैलाई धनले मत्मताउँछन्
भन्छन ‘स्वर्ग हो कल्पना’ मान्दैनन् धर्मको डर
नरोऊ वाग्मती माता जाऊ स्वर्ग तिमी अब
निष्ठुरीहरूका सामु नझुकाऊ तिमी शिर ।
शिवको बास हो क्षेत्र वाग्मती छिन् किनारमा
असभ्यहरूको चर्पी मिसाएर बराबरी
जता गयो उतै हुन्छ ठुस्स ठुस्स गन्हाउने
बनिन् बैरागी जस्ती हरे राम कसो हुने ।
हे मेरी वाग्मती गङ्गा नमान मनमा धक
उनै इश्वरको लीला देखिदैछ सबैतिर
के गछ्र्यौ अब जो भैगो तिर्खाले छट्पटाउँदै
सपनामा सधैं रुन्छन् जो एक्लै बर्बराउँदै ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक