डोका र नाम्ला उठ : टंकराज ढकाल (कविता )
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक १८।
भ्रष्टाचार जहाँ चुलिन्छ खलियो स्वार्थी भए घामट
पापाचार गरे कमिन्छ धन जो हात्ती र गैंडा लुट
लोकाचार बढे विभिन्न तहमा चोरी शिकारी गुट
नाफाखोर कलङ्क मास्न हलिया डोका र नाम्ला उठ ।।१।।
खोक्रा भाषणले लुकाउन यिनै गर्दै रहे हर्कत
धामा दुर्दिनको घिचाउन भने सङ्घीयता उन्नत
पार्दै गुम्फन नक्कली पतनको बाटो छ रोज्दै शठ
काला कर्तुतले थला अवनिको भोका र नाङ्गा उठ ।।२।।
भोका बाँदर लम्पसार धनमा धन्दा घडेरी लुट
चर्को सङ्कटमा लुके असुर जो तोकेर खोज्ने छुट
छोप्ने रोगनले छ दानव सरी नाचेर यी भुर्कुट
पर्दा आपतमा जुटौं मनुज हो आँसी र फाली उठ ।।३।।
गर्छन् मानव तस्करी कपटमा बन्दैछ बुङ्गो लुट
बन्छन् दानव भै हरे अकवरी जोडेर नाना गुट
पर्छौ बन्धनमा कुकर्म लहरा छोप्दै भयौ लम्पट
घाती यी अपराधको पतन होस् नाङ्ला र दाम्ला उठ ।।४।।
सत्तासीन बने हराम हलिया ढोगे पराया मठ
उल्टाकर्म गरे सदा मुलुकमा सिल्ली मलामी गठ
हाहाकार भयो यता अभरमा भुक्छन् दलाली ढिठ
सम्झौता खलको लुकेर गरियो खुर्पा हतौडा उठ ।।५।।
मार्सी चामलको भतेर छलको खायो अघायो छठ
कैयौं वर्ष बिते उखान घटिया यी बञ्चराको हठ
हत्यारा गठजोडमा कहरको हुक्का मदानी उठ
कोदाला फरुवा समस्त घरका भाला र बर्छा उठ ।।६।।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक