हार्दिक श्रद्धाञ्जली : रञ्जना पराजुली लम्साल (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ १९।
मुक्तिनाथका बुढाबुढिले खाईनखाई हाडछाला घोटेर एउटै भएको छोरो दिपेनको डाक्टर बन्ने रहर पु¥याइ दिए । सोचेका थिए छोरो डाक्टर भयो अब राम्री र असल बुहारी भित्र्याइ हामी सबै रमाएर सङ्गै बस्नेछौ ।
‘बुढी, देखिस् त छोरोले मेहेनत गरेर डाक्टर बन्यो । त पनि डाक्टरकि आमा भइस् ।’
‘उस् उस् आफू पनि त डाक्टरको बुवा हुनुभो नि !’
तर, सोचेको सबै पुरा कहाँ हुँदोरहेछ र ! दिपेनले शहरमै धनी बाबुकी एक्लि छोरी बिहे गरि उतै बस्नथाले । बिहे भएको सालको दशैंमा दुलही लिएर घर गए । त्यसपछिका दिनहरूमा न आफू जान फुर्सद निकाले न त बुबाआमालाई नै बोलाए ।
बेला बेला फोनमा सन्चो बिसन्चो र जति खर्च चाहिन्छ भन्नू म तुरुन्त पठाइदिन्छु अनि बुबाआमाले बेला बेला स्वास्थ चौकीमा गइ जाँचिरहनु भन्दै पाँच बर्ष समय बितेको पत्तै भएन । समय एकैनास कहाँ हुन्छ र ! मुक्तिनाथका बुढाबुढिको शरीर गल्न थाल्यो । खान रुच्दैनथियो। छोराबुहारिले पठाएको पैसासङ्गै दिनहुँ फोनमा दिएका सहानुभूति जतिपनी थिए तर माया गरेर तातोपानी मात्रै पनि दिने कोहि
थिएन ।
जाडोको एक बिहान । असाध्य चिसो थियो । मान्छेहरु ढिलो उठेर आ – आफ्ना दिनचर्यातिर लाग्दैथिए । स्कुल, कलेज, अफिस जाने र पठाउनेलाई कामको चटारो थियो । जतिनै चिसो भएपनि मुक्तिनाथ बिहानै उठेर भित्र बाहिर गर्थे । बुढी भने घाम लागेपछि मात्र बाहिर निस्कन्थिन् ।
तर, किन हो दैलो खुलेन । यताउता हल्लिखल्ली भयो । गाउँ छिमेक कोहिसित सम्पर्कमा नरहेका दिपेनको फोन नम्बर कसैलाई थाहा भएन ।
निकै समयसम्म दैलो नखुलेपछी ‘बुबा’ भन्दै बोलाए । चालचुल आवाज नआएपछि प्रहरीलाई खबर गरि दैलो खोलियो । सिरर् हावा छिर्यो भित्र। कुनताको चिसो त्यही माथी हावा छिरेर कोठा हिउँ जस्तै थियोे । दुई खाटमा दुईजना मस्त निन्द्रामा कि ! बिहान भएको चालै नपाए जस्तो । प्रहरीले दुबैजनाको सिरक पन्छाएर नाडी छामे र दुबै नरहेको संकेत दिए । छेउमा औषधिको थुप्रोसङ्गै मोबाइल भेटे । दिपेनको नम्बर खोजेर तुरुन्त आउन भने ।
त्यसपछि, ‘डाक्टरको बुवाआमा, हजुरहरुको बैकुण्ठमा बास होस’ भन्दै सबैले एकैसाथ हार्दिक श्रद्धाञ्जली अर्पण गरे ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।