विकृति : तिलक तारामी ‘रेशाली’ (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,बैशाख २।
एकाबिहानै जन्तरे काकाको मोबाइलको घन्टी बज्यो । चंखेको कल रहेछ । उनले फोन उठाए, ‘हेल्लो !’
उताबाट चंखेको आवाज आयो, ‘काका ! हजुरको सानो छोरालाई गाडीले हान्यो । तुरुन्त यहाँ सडकमा आउनुहोस् त ।’
जन्तरे काकाको सानो छोरा पसल जान्छु भनेर पन्ध्र मिनेट अगाडि मात्र घरबाट निस्किएको थियो । चंखेको फोनले उनको घरमा रुवाबासी चल्यो । उनी अत्तालिंदै सडकतिर हान्निए ।
सडकमा चंखे एक्लै थियो । जन्तरेलाई देखेर ऊ मुसुमुसु हाँसिरहेको थियो ।
‘के भयो मेरो सानेलाई ? खै कहाँ छ ऊ ? तँ किन हाँसिराखेको ? ’ जन्तरे काकाको मुखबाट प्रश्नहरूको ओइरो लागे ।
जन्तरे ककाको निन्याउरो अनुहार देखेर चंखे बोल्यो, ‘आज त अप्रिल फूल हो नि काका ! संस्कृति त मान्नै पर्यो ।’‘यस्तो खेलाचीं नि गर्ने हो ? यो त संस्कृति हैन, विकृति हो, बुझिस् ?’ रिस उठेपनि जन्तरे काका मनमनै खुसी भए ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक