टुसा उमार्ने रहर : छायादत्त न्यौपाने बगर (कविता )

टुसा उमार्ने रहर : छायादत्त न्यौपाने बगर (कविता )

कपन अनलाइन

काठमाण्डौ ,चैत्र २५ ।

म माटो
म माटोसँग खेल्ने मान्छे
मलाई माटोमै उम्रन मन छ
मेरा अङ्ग टुसाउने रहर गर्छन्
म धेरै सन्तान हुर्काउने अभिभावक
मलाई जरा जरासँग उभिएर
जिउभरि झ्वाम्म टुसै टुसा उमार्नु छ
न्याना हातले सन्तान सुमसुम्याउन मन छ
मैले समस्त सन्तानलाई पुग्ने गरी
स्नेह ब्युँझाएर अन्तरचेत चिन्नु छ
निर्मल आँखा अझै तिखारेर गहि¥याउनु छ
मेरो तीव्र चाह समताको साइनो गाँसेर
मुस्कानका गुच्छाहरूले अधर चिमोट्दै
स्वच्छन्द विचरणमा रमाउन अभ्यास गर्छन्
अविच्छिन्न यात्रारत सजीव जीवन बाँचेर
काँध मिलाउने सहृदयी मित्रको खोजीमा
अहोरात्र खटिरहन बानी बसेको गतिशील मान्छे
भ्रष्टद्वारा चुसिएर उराठिएका पाखाहरूमा
नवपालुवाका जोसिला बिरुवा रोप्ने
जाँगर बटुल्दै सिर्जनाले आँगन भर्ने लक्ष्य बोकेर
देउराली पछ्याउँदै निरन्तर हिँडिरहने मान्छे
माटोको सौन्दर्य टिपेर झोपडीहरू सिँगार्नु छ
सपनाको महलभित्र वास्तविक जीवन भेटेर
खुल्ला आकाश छुने यत्न गरिरहेको मान्छे
माटो कोतरेर लडबुडी गर्दै अधरबाट फुस्केको
मुस्कानले जीवन फुलाउन यत्नशील छ मान्छे !

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।