एक्लै : त्रिलोचन आचार्य (कविता )

एक्लै : त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ ,चैत्र २५ ।

एक्लै घाम घमाइलो गरि–गरी आकाशमा आउँछ
एकलै गीत वसन्तका लहरमा वैशाखले गाउँछ
एक्लै यो दिनले दिने दिन दिनै बाटो उज्यालो गरी
एक्लै शीत्तल छर्न व्यस्त छ सधैँ भञ्याङ्गको लाँकुरी ।

यो हावा पहिचान दिन्छ उसको एक्लै धराधाममा
यो वर्षा नव सिर्जना पथ भरी एक्लै छ संसारमा
एक्लै रात उठेर ज्योति पथको ढोका लगाई सक्यो
मान्छे हो कहिल्यै नहेप जगमा ठानेर एक्लै छ यो ।

स्रस्टा एक छ सृजना हरफमा कोर्ने नयाँ अक्षर
द्रस्टा एक छ यो चराचर जगत् हेरेर बस्ने पर
एक्लै छन् भिडभाड बीच दुनियाँ कर्तव्यका खातिर
एक्लै पाउँछ दौडिँदै सफलता गन्तव्यको आखिर ।

मान्छे माझ बसेर के ? हरघडी एक्लै छ मेरो मन
छन् आफनो दुनियाँ भने पनि स्वयं जाने छ एक्लै तन
एक्लै भोट मधेश गर्छ मुनियाँ छोडेर साथीहरू
एक्लै भोग्छु म दुख्ख वा सुख सबै बाँचौँ कि यध्दा मरूँ ।

एक्लै गर्छ उठी हिमालय चुली नेतृत्व संसारको
एक्लै कुद्छ तरङ्ग गर्नुछ भनी कर्तव्य सञ्चारको
एक्लै बस्छ विवेक सुन्दर बनी विश्वासको गर्तमा
छन् एक्ला विजयी जयी अमर छन् सत्कर्मको शर्तमा ।

सेवामा छ सधैँ तयार जहिल्यै एक्लै छ बाटो पनि
वर्षौं वर्ष दिँदैछ उब्जनि गनी एक्लै छ पाटो पनि
यात्रा गर्छ सुती निरन्तर अहो एक्लै छ खोला पनि
एक्लै क्यै नहुने भनेर घरमा को बस्छ ढोका थुनी ?

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।