पश्चाताप : गीता सापकोटा (कथा)
कपन अनलाइन
काठमाण्डौ ,माघ २८ ।
कक्षा सातको वार्षिक परीक्षा चलिरहेको थियो । म दोस्रो दिनको परीक्षामा सहभागी हुन विद्यालय गएको थिएँ । परीक्षालाई कहिल्यै डरलाग्दो विषय नबनाइ मैले यतिका वसन्त पार गरेको थिएँ । यसपटकको परीक्षामा भने आमाबुवाले निकै आशा राख्नु भएको थियो । त्यसैले उहाँहरुको इज्जत राख्न पनि मैले परीक्षा राम्रो गर्नु नै थियो । वर्षभरि मिहिनेत नगरे पनि परीक्षा नजिकिन थाल्दा सधैँ मेरो मुटुमा ढ्याङ्ग्रो बज्न थाल्थ्यो । तर मलाई किताबै पल्टाएर पढिहाल्ने जाँगर चाहिँ कहिल्यै हुँदैन थियो । यस पटक पनि यस्तै भयो ।
त्यसदिन मेरो अङ्ग्रजी विषयको परीक्षा थियो । सानैदेखि सामुदायिक विद्यालयमा पढेको हुँदा मलाई अङ्ग्रेजी विषय निकै गाह्रो लाग्थ्यो । नेपाली बोल्दा मात्र मज्जाले जिब्रो फड्काउँन सक्थेँ । अङ्ग्रेजी बोल्न भनेपछि जिउ नै सिरिङ्ग हुन्थ्यो । मुख आँसम्म हुन गाह्रो थियो तर परीक्षा दिनु नै थियो । उत्तरपुस्तिका पाएपछि आफ्नो सिम्बोल नम्बर, विषय र मिति लेखेर परीक्षा दिन तयार भएँ ।
केही समयपछि नै शिक्षक रामशरणले प्रश्नपत्र बाँड्न थाल्नु भयो । उहाँले हामीलाई अङ्ग्रेजी नै पढाउनुहुन्थ्यो । बोेली अलिक रुखो थियो । अङ्ग्रजी मात्र बोल्ने गुरु भएकाले उहाँसँग कसैले दोहोरो बात गर्न सक्दिन थिएँ । म पनि उहाँ भनेपछि निकै डराउँथेँ ।
परीक्षा लेख्न सुरु हुनु भन्दा अगाडि प्रश्न पत्र बाँड्दै गर्दा गुरुले एक पटक ‘अल द बेष्ट’ भन्नु भयो र उहाँ आफ्नो सुरमा यता उता हिँड्न थाल्नु भयो । सबैजना परीक्षा लेख्न थाले । मलाई भने कुनै प्रश्नपत्र पढेर उत्तर लेख्न सक्ने स्थिति भएन । व्याकरण जति यताउताका साथीहरुको हेरेर
सारेँ । अब अरु प्रश्नहरु पढेर बुझ्न सकिनँ । मैले सम्झेँ, ‘अब अगाडिको बेञ्चमा बसेको सुन्दर भट्टराईले जुन प्रश्न गर्छ त्यही म गर्नु प¥यो ।’ मैले यही योजना अनुसार सुन्दरले गर्न लागेको प्रश्न नम्बर उसको कापीमा हेरेँ । उसले प्रश्न १२ गर्न लागेको रहेछ । प्रश्नमा के लेखिएको थियो त्यो केही वास्तै नगरी मैले प्रश्न १२ कापीमा लेखेँ र उसले जेजे लेख्यो, सबै सार्न थालेँ । उसले ‘माई मदर’ शीर्षकको निबन्ध लेख्दै रहेछ मैले पनि उसका सबै वाक्य सार्न थालेँ ।
मैले सुन्दरको कापी धमाधम सारेको देखेर गुरुबा मेरो छेउमा आएर निकैबेर उभिनु भयो र मैले लेखेको कापी आफ्नो हातमा लिएर सबै पढ्न थाल्नु भयो । मलाई साहै्र डर लाग्यो, ‘कतै गुरुले रेस्टिकेट त गर्नु हुन्न ? कि गुरुले सबैको अगाडि मेरो बेइज्जत गरेर कापी खोस्नु पो हुने हो कि?’ यस्ता धेरै प्रश्न मेरो मनमा उब्जिए । गुरुलाई अनुरोध गरेर कापी मागिहाल्न पनि आँट आएन ।
गुरुले निकै बेरपछि मेरो कापी मेरै बेञ्चमा फाल्दै भन्नुभयो, ‘थुक्क गैबार, सार्नुको पनि एउटा हद हुन्छ नि । तेरो आमा राई हो ? त भट्टराई होस् कि राई होस् हँ ?’ सधैँ अङ्ग्रेजी मात्र बोल्ने गुरुले यसरी एक्कासी नेपाली भाषामा गाली गरेको देखेर कक्षाका सबै विद्यार्थी छक्क परे । कोही केही
बोलेनन् । म पनि एक शब्द बोलिनँ । मेरो मनमा लाज र डरको आँधी चलेको थियो । म अक्क न बक्क भएँ ।
त्यसदिनको परीक्षामा मैले अरु केही लेख्न सकिनँ । न कसैको सार्ने नै प्रयत्न गर्न सकेँ । केहीबेर बसेपछि कापी गुरुलाई बुझाएर कक्षाबाट बाहिरिएँ । म सरासर घर गएँ र आफ्नी आमालाई हेरेर निकैबेर मुन्टो निहुराएँ । ‘साच्चै मैले सुन्दरको कापी सार्दाखेरि आफ्नी आमाको वास्तविक नाम पनि लेख्न भुलेछु ?’ मैले आफैमाथि प्रश्न गरेँ र आफैले धिकारेँ ।
म त्यस दिनको मेरो गल्ती सम्झिएर निकै दिन विचलित भइरहेँ । मैले धेरै दिनसम्म आमालाई ‘आमा’ शब्दले सम्बोधन गरेर सहजै बोल्न सकिनँ । मैले करिब हप्ता दिनसम्म यस कुरालाई बिर्सिन निकै प्रयत्न गरेँ तर सकिनँ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक