दुई किनार कविता सङ्ग्रह पढेपछि : अंशु दुलाल ( पुस्तक समिक्षा )

दुई किनार कविता सङ्ग्रह पढेपछि : अंशु दुलाल ( पुस्तक समिक्षा )

कपन अनलाइन

काठमाण्डौ ,माघ २८  ।

१. विषय प्रवेश :
दुई किनार कविता सङ्ग्रहका लेखक डा. सीता सुवेदी पन्थी हुन् । डा सीता सुवेदी पन्थी नेपाली साहित्यलाई हृदयदेखि नै माया गर्ने स्रष्टा एवम् पाठक हुन् । उनको जन्म २०३० साल फागुन २० गते अर्घाखाँचीमा भएको थियो । नेपाली विषयमा एम. ए, एम. एड् तथा विद्यावारिधि गरेकी उनी हाल भक्तपुरको सूर्यविनायक नगरपालिका ३, बालकोटमा बस्छिन् । उनको पेसा शिक्षण हो । उनी हाल भक्तपुर ठिमीमा रहेको आदर्श मा. वि.मा नेपाली विषय पढाउँछिन् उनका पुतलीको साथी (बालकविता सङ्ग्रह, तरङ्ग (कविता संग्रह), शैक्षिक भ्रम्रण (बालकविता सङ्ग्रह), फटफटे र कमिला बालकथा सङ्ग्रह) जस्ता अन्य कृतिहरू प्रकाशित छन् । प्रस्तुत दुई किनार कविता सङ्ग्रहमा जमा ५३ ओटा कविताहरू संगृ्रहित छन् । यस सङ्ग्रहअन्तर्गत देशभक्तिसबन्धी विषयवस्तु भएका कविता, समाजसम्बन्धी विषयवस्तु भएका कविता, प्रकृतिसम्बन्धी विषयवस्तु भएका कविता, प्रेम र दाम्पत्य तथा गृहस्थीसम्बन्धी कविता, त्यस्तै जीवन र त्यसमा सार्थकता, धोका, शङ्का जस्ता अनुभूतिका गहन किसिमका विषयवस्तुलाई पनि सहज ढङ्गले प्रस्तुत भएका कविता छन् । यी कविताहरूमा कवि आफ्ना भावनाहरूलाई संवेदनात्मक रूपमा प्रस्तुत गर्न सक्षम देखिन्छिन् । यहाँ यिनै विषयवस्तुको सेरोफेरोमा रहेर कविताको अध्ययन गरी प्रस्तुत गरिएको छ ।
१.१ देशभक्तिसम्बन्धी विषयवस्तु भएका कविता :
प्रस्तुत सङ्ग्रहमा रहेको देश दुख्ने नै भयो शीर्षकको यकवितामा देशमा भएका विकृतिहरूको उजागर गर्दै राष्ट्रप्रेमको भावना अन्तर्निहित गरी व्यङ्ग्यको रूपमा प्रस्तुत गरिएको छ । समाजभित्रका यथार्थ, विकृति र त्यस विषयका प्रसङ्ग र घटनावली विचार गरी आफ्नो मनमा रहेका भावनाहरू यस कवितामा पोखेएको छ । हिंसा, झुट र फुटबाट पीडित नेपाल आमा दुख्ने भयो भन्ने प्रसङ्ग यस कवितामा प्रस्तुत गर्दै एकता र सद्भाव लिई नेपाली दाजुभाइ, दिदीबहिनी मिलेर बसुन् भन्ने नेपाल आमाको चाहना हो तर ती चाहना पूरा नहुँदा देश त दुख्ने नै भयो भन्ने भाव व्यक्त भएको छ । यो देशको नेता शीर्षकमा सुवेदीले नेपालका नेताहरूको प्रवृत्तिसँग सम्बन्धित विषयवस्तुमा आफ्ना मनमा लागेका कुरा व्यक्त गरेकी
छन् । नेपालमा नेताहरूले कसरी देशलाई पछि पार्न लागि रहेका छन्, कसरी आफू सुकिला बनी जनतालाई लुटिरहेका छन् र कसरी आशावादी जनतालाई निराश परिरहेका छन् भन्ने प्रसङ्ग उठाइएको छ । कविका आफ्ना भावना र आफ्ना विचार व्यक्त गर्ने शैली मलाई निकै राम्रो लाग्यो । यस्तो छलफल गर्नुपर्ने विषयवस्तुमा कविता रचेर उनले यस यो देशका नेता कविताद्वारा देशभक्तिको सन्देश पनि दिएकी छन् ।
१.२ प्रकृतिसम्बन्धी विषयवस्तु भएकाकविता :
बिरुवा लगाऊँ शीर्षकको कविता २०७१
सालको वातावरण दिवसको अवसरमा रचित कविता हो । यस कवितामा प्रकृतिसम्बन्धी चेतना दिने कुराहरू उल्लेख छन् । घर घरमा बिरुवा लगाई स्वच्छ बन्ने कुरा यस कवितामा लेखिएको छ । घरआँगन हराभरा बनाई स्वच्छ हावा, स्वच्छ पानी र स्वच्छ वातावरण बनाउन आह्वान गरिएको छ । संसारका प्राणीलाई रुखले बचाउने जस्तो चेतनामूलक कुराहरू यस कवितामा रहेका छन् । हामीले हाम्रा बालबच्चा जसरी नै प्रकृतिको संरक्षण गर्नुपर्छ, यो हाम्रो लागि बहुउपयोगी हुन जान्छ र यसले पर्यटन बढाउने, सौन्दर्य नै डाक्ने र रोगव्याधी हटाउने काम पनि गर्छ भन्ने कुरा प्रकट भएको यस कविताले महत्वपूर्ण सन्देश र चेतना दिन्छ । त्यसैले मलाई यो कविता धेरै राम्रो लाग्यो । होइन तिम्रो भुल शीर्षकको कविता फूलको सुन्दरतामा केन्द्रित कविता हो । यस कवितामा सुवासित फूल को गुणगान गाइएको छ । फक्रिएको पूmलमाथि हिलो छ्यापिदिँदा फूलको रूपरङ्ग उडी जान्छु । कविताको यस अंशलाई हामीले हाम्रो जीवनमा उतारेर पनि हेर्न सकिन्छ, केही कुरा फक्रिएको छ अर्थात् केहीमा राम्रो हुँदै गएको छ र कसैले त्यसमा हिलो छ्यापी नराम्रो गर्दिएमा त्यो कुरा को रूपरङ्ग उड्छ र यसो गरे पाप पनि लाग्छ भनिएको छ । यस कविताको परिप्रेक्ष्यबाट हेर्नु पर्दा केही राम्रो चिज, फूलु मन पर्नु हाम्रो भूल होइन भन्ने यस कवितामा उल्लेख छ । फूलको सुन्दरता मन परी त्यसलाई चुड्नु र टिप्नु, गमलामा सजाउनु, सुबास सँगै रमाउनु र फूलको माला गाँस्नु हाम्रो भूल होइन भन्ने वर्णन कवितामा रहेको छ ।
१.३ बालबालिकासम्बन्धी विषयवस्तु भएका कविता :
ऊर्जा भरौँ शीर्षकको कविता बालबालिकासम्बन्धी विषयवस्तु समेटी रचित कविता हो । बालकका क्षमता र रुचिको कदर गर्दै उपयुक्त वातावरणको सिर्जना गरे बालबालिका खुसी हुने कुरा यस कवितामा उल्लेख छ । बालबालिकालाई स्कुल पठाई योग्य, सक्षम, जिम्मेवार बनाउने लक्ष्य सबै ठुलाहरूको हुनुपर्ने कुरा यस कवितामा छ जुन धेरै राम्रो हो । बालबालिकाहरूको सिकाइमा सहजता हुन पर्ने, अन्तरनिहित क्षमताको उजागर गर्ने र जीवन सार्थक बनाउने जस्ता कुराहरू यस कवितामा प्रस्तुत छन् । बालबालिकालाई प्रेरणा र प्रोत्साहन गरी ऊर्जा भरौँ भन्ने कुरा यस कविताको मुख्य संदेश हो । त्यसै गरी बालबालिका शीर्षकको कविता २०७० सालको बालदिवसको अवसरमा रचित कविता हो । बालबालिकाहरू आजका सान कोपिला भए तापनि पछिका सुबास छर्ने फूल हुन् जो भोलिका जनशक्ति पनि हुन्, यिनीहरूलाई आज ममताको खाँचो भए पनि भोलि यिनले नै विकासको साँचो खोल्ने छन् भन्ने गहन भाव छ कवितामा । खेल्ने, पढ्ने, खाने, लेख्ने आदि जस्ता बालअधिकार बालकले पाए असल नागरिक बनी देशको नाम राख्ने छन्, उचित शिक्षा र वातावरण बालकले पाए सभ्य र सक्षम नागरिकको परिचय खुल्ने छ र यिनीहरू भविष्यका खम्बा हुन्, यिनीहरू तारा जसरी चम्कन्छन् भन्न कुरा मिठो गरी प्रस्तुत भएको यो कविता सन्देशमूलक छ ।
१.४ शिक्षण पेसासम्बन्धी विषयवस्तु भएका कविता :
पवित्र पेसा शीर्षकको विषयवस्तु शिक्षण पेसासँग सम्बन्धित छ । रचनाकार आफैँ एक शिक्षक भएकाले उनले पवित्र पेशा कवितामा शिक्षण पेसालाई पवित्र मानी गुणगान गाइएको छ । शिक्षण यात्रामा अघि बढ्नु शिक्षकहरूको कर्तव्य हो, अघि बढ्दा बढ्दै चोट लागे पनि सक्षम बनी सत्कर्ममा बढ्नुपर्छ, विद्यार्थीहरूका कलिला मस्तिष्कमा ज्ञान छर्न र अन्धकार हटाई शिक्षाको ज्योति छर्न शिक्षण जस्तो पवित्र पेसालाई अँगालेर बढौँ भन्ने आह्वान यस कवितामा गरिएको छ ।
१.५ समाजसम्बन्धी विषयवस्तु भएका कविता :
उर्वर छ माटो शीर्षकको कवितामा समाजदेखि राष्ट्रसम्म परिवर्तन गर्ने कुराहरू उल्लेख छन् । अघि बढ्ने हाम्रो लक्ष्य सफल रहने र मनमा कुभावना नआउने कुराबाट कविताको प्रारम्भ भएको छ । सुसंस्कार र परिवर्तन हाम्रो हातमा भएसँगै सुसंस्कृत समाज निर्माण पनि हाम्रै काँधमा छ, सकारात्मक सोच लिई अघि बढी समाजका उदाहरण बन्नुपर्छ भन्ने गहन सन्देश कवितामा रहेको छ । समाजमा नकारात्मक कुरा नभई सभ्यता र सुसंस्कार छर्नु काम हाम्रो हो । समाजमा भएका सबै मानिस हातेमालो गरी उर्वर माटोमा श्रमलाई फुलाई फलाई अघि बढ्नुपर्छ भन्ने चेतनामूलक कुराहरू यस कवितामा समावेश छन् ।
१.६ प्रेम र दाम्पत्य तथा गृहस्थी जीवनसम्बन्धी विषयवस्तु भएका कविताः
जिन्दगी हौ तिमी शीर्षकको कविता दुई किनार कविता सङ्ग्रहको मायाप्रेमसम्बन्धी विषयवस्तु भएको कविता हो । यस कविता कविले उनको साथीलाई जिन्दगी मानेकी छन् । साथीको साथ हुँदा दुःखपीडा बिर्सिदिने कुरा, ठेस लाग्ला भनी ध्यान दिने कुरा र निरन्तर ऊर्जा दिने जस्ता कुराहरू कवितामा समावेश छन् । त्यसै गरी जीवन साथी शीर्षकको कवितामा लेखिकाले आफ्नो जीवनसाथीको वर्णन गरेकी छन् । सुख दुःखमा साथ दिने उनको जीवनसाथी मात्र हुनु, उनलाई हृदयमा सजाएर राख्नु र जुनी जुनी जीवनसाथी बन्ने कुरा यस कवितामा उल्लेख छ ।
२. निष्कर्ष :
दुई किनार कविता संग्रहमा देशप्रेम, प्रकृति तथा वातावरण, पेसाव्यवसाय, समाज, जीवनजगत्का विभिन्न विषयक्षेत्र तथा मायाप्रेम, गृहस्थीजीवनसँग सम्बन्धित भावनात्मक पक्षका विविध विषयवस्तु समेटिएको पाइन्छ । यहाँ समावेश भएका कविताहरू पढ्दा मलाई असाध्यै राम्रो लाग्यो । मैले यहाँ व्यक्तिलाई असल र सबल बनाउने चेतनामूलक कविता भेटेँ जुन पढ्दा मलाई रमाइलो लाग्यो । कविताहरूले महत्वपूर्ण सन्देश दिनुको साथसाथै मनोरञ्जन पनि गराउने खालका छन् । कतै कतै कवितामा लेखिकाले व्यङ्ग्यात्मक रूपमा विकृति विसङ्गतिको वर्णन गर्ने शैली मलाई मन प¥र्यो । यस सङ्ग्रहमा भएका कविताहरू सरल छन् । लोकलय तथा गीतिलयमा रहेका यी कविताहरू हामीजस्ता बालबालिकाले पनि सजिलै बुझ्न सकिन्छ । यो पुस्तक पढेपछि मलाई आफैँले कविता रचना गर्ने प्रेरणा पनि मिलेको छ । म कविलाई धन्यबाद दिँदै निरन्तर सिर्जनयात्राका लागि शुभकामना दिन्छु ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।