गुणको बदला : रञ्जना पराजुली ‘लम्साल’ (लघुकथा)

गुणको बदला : रञ्जना पराजुली ‘लम्साल’ (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,माघ २८  ।

व्यापार नभएर सुनैनाको मन बिरक्तिएको थियोे । त्यही व्यापारको आम्दानीले आँफु र बढ्दै गरेका दुई छोराछोरीको आहार र लत्ताकपडालाई समेत मनग्ये धानेको थियो ।
समय फेरिएछ । गाउँको घरमा ताला मारेर भएको खेतबारी बाँझो छोडी विदेशिएका लोग्नेको कमाइले चिटिक्कको घर बनाउने सपना बुनेकी सुनैनालाई लोग्नेले सौता ल्याएर धोखा दिन्छन् भन्ने सपनामा पनि सोचेकी थिइनन् । त्यही पीडा खप्दै उनले छोराछोरी च्यापेर शहर पसी लुगाको व्यापार सुरु गरेकी हुन् ।
व्यापार राम्रै थियो । एक्कासि कहिँ नभएको कोरोनाले संसार हल्लायो । स्थिति डामाडोल भयो। संचित पैसाले कतिन्जेल पो पुग्थ्यो र झिकेको झिकै गर्दा कुबेरको भकारी त रितिन्छ भने सुनैनाको थैली रित्तिन बेर लागेन ।
समय बित्दै गयो । कोरोना प्रकोप केही घटेजस्तो हुँदै गयो । शहरको सुख सुबिधा सम्झेर सबैजसो मानिस गाउँबाट फर्किए । बजार बढ्न थाल्यो तर कोरोनाले तहसनहस पारेको सबैको आर्थिक अवस्थाले व्यापार सोचेजस्तो हुन नसक्दा सुनैना चिन्तित थिइन् ।
एकदिन दिक्क मानेर बसेकी सुनैनाको पसलमा उनकी पुरानी साथी मन्जु टुप्लुक्क आइपुगिन । धेरै बर्षपछि अचानक को भेटमा दुबै अङ्गालोमा बाँधिएर पुराना कुरामा हराउँन थाले। मन्जु महँगा पहिरन र गहनाले सजिएकि थिइन् । निकैबेरसम्म ग्राहक नआउँदा मन्जुले भनिन् ।
‘सुनैना, यत्रो बेर भयो एउटा पनि किन्ने आएनन् त !’
सुनैनाले जवाफमा भनिन्, ‘हो साथी, फिटिक्कै व्यापार छैन । कुनैदिन त बोहोनी नभई बेलुका पसल बन्द गर्छु ।’
त्यसपछी त झन सुनैनाको मुटु भक्कानियो र आफ्ना मनभित्रका सारा कुण्ठाहरु साथीसङ्ग पोखिन जुन जन्मदिने आमालाई पनि भनेकी थिइनन् किनकी उनको भागी बिबाह थियो ।
‘गाउँमा घरखेत छ भनेको होईन ? आफ्नै घरमा बसि तरकारी खेती गर । बाख्रा पाल । धेरै समय रहने लसुन प्याज रोप । मेहेनत गरेपछि फल अवश्य मिल्छ । छोराछोरी उतै पढाउ । पढ्नेलाई जहिँतहिँ नपढ्नेलाई कहिँ न कहिँ ।’
साथीको बेदना सुनेकी मन्जुले सम्झाउदै ब्यागबाट बिस हजार निकालेर हातमा राखिदिइन ।
सुनैनाले गला अबरुद्ध बनाउदै भनिन ‘साथी, तिम्रो यो गुणको ऋण कसरी तिरु ?’
मन्जुले सुनैनाको आँखाबाट झरेको आँशु पुछ्दै भनिन् ‘पर्दैन साथी, म आएको बेला तिम्रो चोखो परिश्रमबाट फलेको अलिकति लसुन दिए पुग्छ ।’ आँखाभरि आँशु पारेकी सुनैना एकैचोटि मुस्काउदै बोल्छिन्
‘गुणको बदला लसुन ।’

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।