अवकाशपछि : प्रेम नेउपाने ‘प्रहर’ (लघुकथा )
कपन अनलाइन
काठमाण्डौ ,पुस १६ ।
अनेकौ चुकुली लाएर भएपनि वीरमान मन्त्री बन्यो । बाउ काजीमानले राजनीतिमा ठूलै अनुभव बटुलेका कारणले पनि होला वीरमानलाई यो विजयी हासिल गर्न त्यति आपत्ति भएन ।
जसै वीरमान मन्त्री बनेर कुर्सीमा बस्यो, उसलाई नमस्कार गर्नेको ताँती लाग्न थाल्यो । हिजोसम्म ‘ओए वीर’ भन्ने साथीहरू आजदेखि ‘वी एम सर’ भन्नथाले । नमस्कार गर्नेहरूको ताँतीमा एक हूलगाउँका समाज सुधार केन्द्रका केही बुज्रुक र युवाभाइहरू थिए।
उनीहरूको पालो आए पछि त्यस हुलका एक नायकले कुरा अघि बढ़ाए, ‘वी एम सर अब तपाईले हाम्रो समाज सुधार केन्द्रलाई पनि केही सहयोग त अवश्य गर्नुहुने छ भन्ने एउटा ठूलो आशा लिएर आयौं । हामीलाई तपाईहरू जस्ता योग्य नेताको सहयोगको आवश्यकता छ ।’
वीरमानले बल्लबल्ल मन्त्री भएको झोंकमा अघि पछि केही नसोची टेबल टपले केही कागज थिच्दै भन्यो, ‘अब कुर्सीमा बस्न पाएको छुइनँ, तपाईहरू समाज सुधार भन्दै आउनुहुन्छ । खै समाज त कहीँबिग्रेको देखिनँ, मैले । अहिले त हाम्रो कमाउने र रमाउने बेलाहो । पर्खनुस् केहीदिन । म समाज सेवा अहिले होइन पछि अवकाशपछि जोड़ तोड़ले गरुम्ला । अहिले त बुझ्नु पर्यो नि कताकता के छ ?’
समाज सुधारका समिति हँसिलो अनुहार लिएर आएका थिए, मलिन अनुहार लिएर फर्के ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक