कविता : त्रिलोचन आचार्य
कपन अनलाइन
काठमाण्डौ ,मंसिर १७ ।
१. लेखी कविता किन बस्यौँ ? किन मसी यो पोख्यौँ ?
किन रचना काव्य महिमा ठुलै पौरख सोच्यौँ ?
ठुलै पौरख सोच्दै किन हो त समय अर्पेको ?
हुन्छ भन्दै सुधार दशकौँ भयो नि पर्खेको
दुनियाँ हाँस्दछ अहो, यस्तो छ रमिता देखी
भन्द्यौ न साथी हो के छ खै कविता लेखी ?
२. दाम कमाएँ भन्ने त, भेट्दै भेटिन्न खै
नाम कमाएँ भन्ने त, हो आत्मरति मात्रै
हो आत्मरति मात्रै, जीवनको लागि सास्ती ?
विचारणीय हुँदैछ, अक्षरसँगको यो दोस्ती
किन लेख्ने होला नि झट्ट समाऊँ अरु काम
दुनियाँ सुखमा रम्छ नित्य समाइकन दाम ।
३. भट्टितिर मानिस रम्छन्, पुस्तकालय खाली
लेख्यौँ सुनायौँ कविता दियो कसले ताली ?
दियो कसले ताली ? किताब यसरी लेखेर
समय कसको हुन्छ र बस्नु भन कविता सुनेर
किन रोज्ने दुःख यो, गफमा चम्क छुट्टीतिर
ढलपल चलपल नाच, जाउ रमाउ भट्टितिर ।
४. मधुरस खोज्दै न कुद्यौँ, न झन् बस्यौँ जुवामा
भुली रमिता कोठामा, सधैँ पलेटी कस्यौ
सधैँ पलेटी कस्यौ दर्शन तिम्रा को बुझ्छ
काव्य कविता पढेर सतको बाटो को हिँड्छ
पढ्दै रस को भन्छ ? भाव गहिरो दिलमा बस
सरसर लाग्दछ झट्ट प्रेममा पार्दछ मधुरस ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक