खै के भयो के भयो ? त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाण्डौ ,मंगसिर १८ ।
आमाको मन हौसिएर घरमा गर्दै थियो छुन्मुन
बाबाका सपनाहरू गगनमा खोज्दै थिए पौडन
भन्थे गाउँ समाजमा, अब युवा सङ्कल्प गर्छन् निको
सुन्दै ती सब, दौडिएँ शहरमा, खै के भयो के भयो ?
पढ्नै पर्छ पढौँ भनेर पहिले डेरा लिएको थिएँ
भोको पेट हुँदैन उन्नति भनी क्यै काम खोज्दो भएँ
बित्दा याम यतै, कि बैगुन बनेँ, यैँ फुर्कियो चित्त यो
एक्लै यो भिडमा म हिँड्दछु डुली, खै के भयो के भयो ?
बारी खेत भए उजाड थलिए बाबा र आमा पनि
को जाने घर फर्किँदै, सब यहीँ साला र मामा पनि
खाली गोठ छ जीर्ण फुङ्ग घरको, पानीबलो मक्कियो
मागौँ दिन्न बिदा, बडो शहरले, खै के भयो के भयो ?
छोरी छन् अब काम खातिर भिसा अष्ट्रेलियाको लिँदै
छोरा बस्छ अमेरिका डिभि परी फर्कन्न बस्ला उतै
साथीझैँ अब हाँस्न खेल्न घरको चोटा र कोठा भयो
बाआमासरि एक्लिँदैछु अहिले, खै के भयो के भयो ?
भन्थ्यो गाउँ बनाउँछौँ चहकिलो, साने हरायो कता ?
भन्दैछन् प्रिय बन्धु बान्धबहरू आऊन्न कैल्यै यता
आमाको गुनको ठुलो रिन थियो तिर्ने कुरा त्यो गयो
छन् भन्दै सुविधा, निल्यो शहरले, खै के भयो के भयो ?
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक