सम्मान : लक्ष्मण अर्याल ( लघुकथा )
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक २०।
हरिहर रेस्टुरेन्ट पसे । गुरू देखेर हतार हतार हातको चुरोट लुकायो चेलाले । तर गुरु हरिहरलाई नमज्जा लाग्यो । अध्ययनशील चेलाको यो दुर्व्यसन ठीक लागेन गुरुलाई र भने – ‘तिमी चुरोट खाँदा रहेछौ । यो भएन हुँदै भएन । चेलो केही बोलेन ।
अब बोल्ने ठाउँ नै के बाँकी भयो र ? चेलाका अनुहारमा लज्जाभाव भने उदाएको थियो ।
गुरु रमणले पनि हरिहरले झैं रङ्गेहात फेला पारे उही चेलालाई । उसैगरी हत्तपत्त नदेख्ने गरी फ्याँक्यो चेलो कुमुदले सल्किरहेको ठुटो चुरोटलाई । रमण केही बोलेनन् । यो पल्ट पनि चेलाको मुहारमा लाजवन्ती पसी ।
दुई गुरु र उही एक चेलो, घटना पनि काटीकुटी एकै । हलेदो हो भनी जाने पछि कोट्याइरहनु पनि ठीक होइन । गुरु हरिहरले हलेदोलाई फेरी कोट्याए तर गुरु रमणले कोट्याइरहनु आवश्यक बाटो हो भन्ने ठानेनन् । हरेकको आआफ्नो नीजि जीवन हुन्छ, त्यसमा दखलअन्दाज गर्नु कुनै बुद्धिमानी काम होइन – गुरुमध्ये एकले बुझे अर्काले बुझेनन् । बेमतलवका कुरामा धेरै छिद्रान्वेषी हुनु पनि राम्रो काम
होइन ।
आजकल हरिहरलाई देखेर चेलो हच्किँदैन तर गुरु रमणप्रति चेलाको सद्भाव र सम्मान यथावत जोगिएको छ ।सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक