गुरु : शेखरकुमार श्रेष्ठ (लघुकथा )
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक २०।
रेस्टुरेन्टमा नीरकुमारले पैसा तिरेपछि दिलबहादुरले भन्यो, ‘अब भन्, मलाई किन बोलाएको ?’
नीरकुमारले भन्यो, ‘अर्को महिना छोराको बिहे छ । समात्, यो निमन्त्रणापत्र । अनि सुन् न । मलाई एक लाख रुपैयाँ दे न । म व्याजसहित फिर्ता गर्छु ।’
‘कहाँ हुनु त्यत्रो पैसा ? म त पैसा सेयरमा लगानी गर्ने मान्छे । तँलाई थाहा छँदै छ होला ? सेयरमा कहिलेकाहीँ एक हजारको महत्व हुन्छ ।’
‘त्यसो नभन् न । थोरै पैसाका लागि सहकारीमा ऋण लिनुभएन । सत्र प्रतिशत व्याजसँगै दुई प्रतिशत सेवाशुल्क तिर्नु पर्छ । तीन महिनाका लागि मिलाई दे न ।’
‘मैले भनेँ नि, छैन क्या । त्यसैले भर नपर् । छोराको बिहे हो बरु किन भोज कटौती गर् दे ?’
‘के भनेको अहिलेको जमानामा पनि भोज नखुवाई हुन्छ । आफूले गएर
खाएको छ । तिर्नुपर्दैन ? ल भयो । म अन्त खोज्छु ।’
दुवै बाहिर निस्किए । बाहिर निस्कँदा उनीहरुले मानिसको भिड देखे । त्यहाँ वृद्ध कराउँदै थियो, ‘मलाई सहयोग गर्नुहोस् । मेरो छोरा अस्पतालमा छ । मलाई सहयोग गर्नुहोस् ।’
दिलबहादुरले वृद्धलाई गाडीमा हाल्यो । नीरकुमार पनि सँगै बस्यो । तीनै जना अस्पताल पुगे । दिलबहादुरले बोकेको झोलाबाट दुई लाख निकाली वृद्धलाई दिँदै भन्यो, ‘यतिले काम चलाउँदै गर्नुहोस् । बाँकी साथीहरुलाई भनी ल्याउने प्रयास गर्छु ।’
नीरकुमार जिल्ल पर्दै दिलबहादुरसँग बाहिर निस्क्यो । बाटोमा उसले भन्यो, ‘मित्र ! के हो ? अघि पैसा छैन भन्दै थिइस् त ? कहाँबाट आयो, त्यसलाई दिने पैसा ?’
‘त्यो होइन, उहाँ । उहाँ ईश्वरले दिएको मेरो आफन्त हुनुहुन्छ ।’
‘को हो त्यो ? मभन्दा प्यारो ?’
‘म उहाँको गुन बिर्सन सक्दिनँ । उहाँसँग कसैको तुलना हुँदैन ।’
‘को हो र ?’
‘किन रिसाएको ? पैसा नपाएर ?’
‘अनि ?’
‘उहाँले नै म बेरोजगार छँदा एक महिनाको तलब दिई लगानी गर्न सिकाउनुभएको । त्यसैले उहाँ मेरा गुरु हुनुहुन्छ ।’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक