गुरुका नाममा खाने हो खुरुखुरु ?

गुरुका नाममा खाने हो खुरुखुरु ?

बालागुरु षडानन्दका नाममा खुलेका धेरै संस्था र प्रतिष्ठान पछिल्लो समय मागीखाने भाँडोका रूपमा विकास हुँदै गएको छ । १८९२ सालमा भोजपुरको दिङ्लास्थित गढीगाउँमा जन्मिएका षडानन्दले सर्वसाधारण जनताका छोराछोरीले पढ्न पाउने गरी विसं १९३२ मा नेपालमै पहिलो विद्यालय स्थापना गरेका थिए ।

Fullscreen capture 3132015 114453 PM

दरबार हाइस्कुलमा राणाका छोराहरूले मात्रै पढ्न पाउने, तर जनताका छोराछोरीले पढ्न नपाउने राणाहरूको कठोर कदमको अवज्ञा गर्दै उनले दिङ्लामा निजी स्तरबाट पहिलो संस्कृत विद्यालय खोलेका हुन् । यस विद्यालयमा संस्कृत शिक्षा लिन नेपालबाट मात्रै नभई अन्य मुलुकका नागरिक पनि आउने गरेका थिए । उनको यस्तो कदमलाई नेपाली जनताले मूल्यांकन गरिरहेका छन् तर राज्यले अधिकारीलाई कुन रूपमा लिने भन्नेमा निर्णयसम्म लिन सकेको छैन ।

नेपालको शिक्षा क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका गुरुलाई शैक्षिक क्षेत्र र नेपालकै राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने हो । तर, यसमा भने कसैको ध्यान गएको र विभूति घोषणा गर्न पहलकदमी लिएको पाइँदैन । यसकै पराकाष्ठाका रूपमा उदय हुँदै छन् षडानन्दको नामसँग जोडिएका प्रतिष्ठानहरू ।

नेपालको शैक्षिक, धार्मिक, सांस्कृतिक एवं समाज सुधार क्षेत्रमा अतुलनीय योगदान दिएका बाला गुरुका कैयौँ रोपनी जग्गा सीताराम गुठीका नाममा छन् । हजारौँ मुरी उब्जनी हुने जग्गा यतिबेला कतिपय बेवारिसे बनेको छ भने कतिपय विभिन्न व्यक्तिले अनाहाक रूपमा कमाएर खाइरहेका छन् ।

गुरुले विद्यालय र गुठी सञ्चालन गर्न छुट्याएको गुठीको सम्पत्ति व्यापक अपचलन र गुठी सञ्चालनको नाममा गठित समितिले हिनामिना र व्यक्तिगत स्वार्थमा गुठीको सम्पत्ति प्रयोग गर्दासमेत अख्तियार दुरुपयोग अनुसन्धान आयोग व्यवस्थापिका संसद्को सुशासन तथा अनुगमन समिति राष्ट्रिय सतर्कता केन्द्र र स्वयं नेपाल सरकार मौन र लाचार भएका छन् । यसले गुरुको अपमान त गरेको छ नै देशमा हुने गरेका भ्रष्टाचारलाई थप प्रोत्साहन गर्न मद्दत गरेको छ । त्यसैले यसलाई तत्काल छानबिन गरी कारबाही गर्न सम्बन्धित निकायको ध्यान केन्द्रित हुनै पर्छ । षडानन्दको पहिचान र योगदानलाई प्रवद्र्धन गर्न र उनको गरिमालाई जोगाउन भनी संरक्षणका नाममा कैयौँ प्रतिष्ठान र संस्था खुल्ने होडबाजी चलेको पाइन्छ । षडानन्दको नामको दुरूपयोग गरेर आफ्नो श्रीसम्पत्ति जोड्ने गतिलो माध्यम प्रतिष्ठान र संस्था बन्दै गएका छन् । यसको उदाहरण हो, काठमाडौंमा रहेको षडानन्द प्रतिष्ठान र इटहरीमा रहेको यसको भगिनी संस्था जसले गृहजिल्लामा अहिलेसम्म केही सेवा गरेको छैन् । न केन्द्रमै रहेर षडानन्दलाई राष्ट्रिय विभूति घोषणा गर्न पहलकदमी नै लिएको छ ।

लाखाँै रूपैयाँ षडानन्दको नाममा काठमाडौंमा रहेको षडानन्द प्रतिष्ठान र इटहरीमा रहेको त्यसको भगिनी संस्थाले संकलन गरेको छ र विभिन्न विधामा गरी पुरस्कार पनि वार्षिक रूपमा दिँदै आएको छ तर दिङ्लामा रहेको गुरुको सालिक मर्मत–सम्भार विद्यालयको भौतिक संरचना मर्मतका लागि एक रूपैयाँ पनि खर्च गरेको पाइँदैन । न त षडानन्दको नाममा योगदान पु¥याएका व्यक्तिलाई त्यस्तो पुरस्कार र सम्मान गर्न सकेको छ । सकेको छ त जसले उसको चाकडी गरेको छ ।

एउटा व्यक्तिले राष्ट्र र समाजमा पु¥याएको योगदानबारे राज्य बेखबर हुँदा र उनका नाममा संस्था खोलेर सहयोगका नाममा विदेशी तथा स्वदेशी दातासँग लाखाँै संकलन गरेर उक्त पैसाको दुरुपयोग गर्दासमेत सम्बन्धित निकाय मौन बसेका छन् । काठमाडौंमा रहेको षडानन्द प्रतिष्ठानले षडानन्द विद्यालयमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने भनेर विभिन्न व्यक्ति संघसंस्था तथा निकायसँग लाखाँै रूपैयाँ रकम संकलन गरे पनि छात्रवृत्तिका नाममा संकलन भएको उक्त रकम सम्बन्धित विद्यालयका विद्यार्थीले पाएका छैनन् । त्यो पनि प्रतिष्ठानले आफ्नै स्वार्थमा प्रयोग गरेको देखिन्छ । यसले पनि के प्रमाणित हुन्छ भने षडानन्द प्रतिष्ठान कुनै व्यक्तिको नाममा गतिलो मागीखाने भाँडो भएको छ । षडानन्द प्रतिष्ठानले हालसम्म गरेका कामबारे जानकारी लिन प्रतिष्ठानको कार्यालय पुग्दा प्रतिष्ठानका सचिव लालानाथ सुवेदीले आफूहरूले सेवाका लागि भन्दा पनि प्रचारका लागि काम गरिरहेको कुरा सुनाए । उनले भने, ‘दिङ्लाबारे हामीलाई केही चासो छैन, हामीले त्यहाँ गएर केही गर्ने होइन, गाउँकै मान्छेले काम गर्ने हो । वार्षिक रूपमा हजारौँ पुरस्कार वितरण गर्दै आएको प्रतिष्ठानले स्वयं गृहजिल्लामा षडानन्दका लागि सहयोग माग्न त्यहाँबाट प्रतिष्ठानमा आउँदा रकम नभएको बताउँछन् ।

जनास्था साप्ताहिकबाट

तपाइँको प्रतिक्रिया ।