कमाइ : परशुराम पराशर (लघुकथा )

कमाइ : परशुराम पराशर (लघुकथा )

कपन अनलाइन

काठमाण्डौ ,असोज ९।

लामो समयको अन्तरालपछि काठमाडौँ जाने अवसर पाइयो । त्यहाँ गएर आफ्नो व्यक्तित्व र आर्थिक अवस्थाको विकास गर्न धेरै साथीसङ्गी, भाइभतिजाहरू बसेका थिए । हुनत मैले पनि त्यहीँको माटामा एउटा खुट्टो टेकेर अर्को जागिरको ढोकामा टेकेको नै हुँ ।
अवकाश पाएपछि पेन्सन पट्टाको लागि सञ्चयकोषमा विविध काम गर्नुपर्ने भएकाले तीन–चार दिन लाग्ने सङ्केत पाइयो । आफूलाई साथीहरूसँग बसेर खानपिन गर्न पनि रमाइलो लाग्ने । सरासर गएँ सहपाठी वैकुण्ठप्रसाद सुवेदीको घर सुकेधारा । त्यहाँ नगएको पनि ७–८ वर्ष भइसकेको थियो ।
उनले अङ्ग्रेजी बोर्डिङ स्कुल चलाएर बसेको निकै भएको थियो । बन्दोबस्त राम्रै थियो । भाडामा लिएको ८ रोपनी जमिन आफैँले किने । स्कुल बनाए । आफ्ना लागि चारतले घर बनाए । यी सबैको स्रोत थियो स्कुल ।
घरमा नयाँ रङरोगन, आधुनिक फर्निचर, किचन, विविध कुराहरू एकएक गर्दै देखाए । बैठक हल, डायनिङ हल माथिल्लो तलामा बनाएका रहेछन् आधुनिक शैलीले ।
बैठक हलमा बारको झैँ रक्सीका विभिन्न ब्रान्डका बोतलले भरिएका दराज ।
गफैगफमा साँझ परिसकेको थियो । खानपिनतिर लाग्ने सङ्केत गरे ।
बाहिरबाट खसीको सेकुवा र भुटन मगाएका रहेछन् । मेडम र केटाकेटीहरूका लागि अलग्गै मटनकरी आएको थियो । खानपिन सुरु भयो ।
मैले गफैगफमा भनेँ, ‘बोर्डिङ स्कुल खोलेर मनग्गे कमाउनुभएको रहेछ । बघाइ छ !’
हेँ हेँ गर्दै भने, ‘दैवले दिएको हात थापेको मात्र हुँ ।’ उनी निकै रन्किसकेका थिए ।
‘अहिले कोरोनाकालमा त त्यति आम्दानी हुन्न होला नि ?’ मैले थपेँ ।
‘किन नहुनु ? यो बेला झन् बढी कमाइ भएको छ । भन्न पो हुन्न त यार ।’ उनले कानकै छेउमा मुख ल्याएर खासखुसे पारामा भने ।
‘कसरी ?’ मेरो जिज्ञासा ।
उनले त्यही पारामा भने, ‘यता शिक्षककर्मचारीहरूलाई २५ देखि ५० प्रतिशतमात्र तलब दिइयो । उता फी चाहिँ पूरै लिइयो । यिनै दुई वर्षको कमाइले त हो नि अर्को गाडी पनि किनेँ र सिमाना मिलाएर एक रोपनी जमिन पनि थपेको छु । भन्दा चाहिँ पाप लाग्ला कि यार ! तर कस्सम होला ! अझ एक वर्ष यो महामारी थपिए तराईमा पनि भातखाने खेत जोडिन्थ्यो ।’ अनि उनले हा हा हा गर्दै हल नै थर्काए ।
‘लौ तपाईंकै दिन आएछन् । हरेक समयलाई अवसर बनाउन सक्ने क्षमता पनि हो तपाईंको । मान्नुपर्छ हौ तपाईंलाई …. ।’
गफ नसकिँदै भान्सेले खाना लगाएको जानकारी गराइन् । कुरा बाँकी राखेर भान्सातिरै लाग्यौँ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।