कवितामा नयाँ आयाम साइनो : छायाँदत्त न्यौपाने

कवितामा नयाँ आयाम साइनो : छायाँदत्त न्यौपाने

कपन अनलाइन

काठमाण्डौ ,असोज ९।

सामाजिक मर्यादा जीवन्त राख्न नीति चेतना सम्प्रेषण गरेर जीवनलाई गति दिने विषय साहित्य । साहित्यका विविध विधामध्ये बहुप्रचलित कविता । कविताको उपविधा साइनो । छोटो समयमा प्रसिद्धि प्राप्त साइनो नेपाली सम्पदाको रूपमा लहराएको ।
साइनो नेपाली भाषाको मौलिक शब्द । नाता सम्बन्ध बुझाउनु यसको अर्थ । सैना÷साइनु÷साइनो पर्यायवाची शब्द । पछिल्लो समय साइनो शब्द सिर्जनात्मक काव्यिक अभिव्यक्तिका लागि प्रयोग हुँदै आएको छरितो संरचना । प्रथम प्रयोक्ता २०७६ साउन १६ गते छायादत्त न्यौपाने बगर ।
साइनो कविताको लघुरूप अर्थात् सूत्रात्मक अभिव्यक्ति । यसको संरचना क्रमशः सात, आठ र नौ अक्षरका तीन शब्दगुच्छामा प्रयुक्त । साइनो चौविस अक्षर र तीन पङ्क्तिमा पूर्ण हुने संरचना । साइनोका तीन पङ्क्ति स्वतन्त्र अर्थ दिई अन्तर सम्बन्धित हुने । कविता भएकोले कवितामा पाइने भाव, लय, बिम्ब, प्रतीक आदि तत्वहरूको उपस्थिति यसमा पनि रहन्छ ।व्यञजना शब्दशक्तिमा साइनोको साख उचालिन्छ ।
नेपाली मन–माटाको उत्पादन साइनो कविता विधामा प्रयोग भएको नयाँ आयाम । यसको अनुुसरण गरी अरु धेरै शैली प्रयोग हुँदै आए, आइरहेका छन् । समस्त नेपालीको मनोभाव व्यक्त गर्ने नेपाली भाषाको श्रीवृद्धिका लागि यस्तो प्रयास अनुकरणीय हुने नै भयो ।
साइनो नेपालीपन चिनाउँदै छोटो समयको लगानीमा पाठकलाई साहित्यको रसास्वादन गराउन सफल नवीनतम शैलीको मन छुने प्रयोगका रूपमा पाठकप्रिय र स्रष्टा अनुकरणीय संरचना बनी देशदेशावरमा विस्तार हुँदै छ । यो राष्ट्रिय÷अन्तर्राष्ट्रिय गरी विभिन्न दसभन्दा बढी भाषाहरूमा प्रकाशन हुन सफल भइसकेको छ ।
सानो संरचनामा गहन भाव सम्प्रेषण गर्ने शक्तिशाली संरचना साइनोको लोकप्रियता कविताका क्षेत्रमा निरन्तर गतिशील छ, अनुकरण हुँदै अघि बढिरहेको छ ।

केही रचनाहरूः
१.
खुइते कूटनीति
गन्तव्य नदेख्ने आँखा
कुहिरोमा फन्फनी काग !
२.
साँढेका तिखा सिङ
दृष्टिहीन हाम्रो मान्छे
होक्काँ गर्छ भाइ गोठालो ?
३.
भएन मन सफा
खन्चुवाकै ठुलो डफा
देशघाती सन्धि रे नाफा ?
४.
कति ठुलो चुनौती !
के के न भो स्वकर्म
चेत् गुमाई जग हँसायो ?
५.
म त खुट्टेभकुन्डो
सकुनि अभिन्न मित्र
के काम विदुर विमर्श ?
६.
विकासको नाम रे
गोजी भर्ने त्यो काम रे
देशघाती एकै ठाम रे !
७.
गजब लाग्छ शैली
हैन, कता प¥यो आँट ?
म हुँ ढाँट्न सिपालु स्वाँठ !
८.
दाउपेचमा देश
सान बेची छाती टेक्छ
सकुनिको भान्जो जुवाडे ?
९.
बग्न सकेन मान्छे
रोगग्रस्त होडबाजी
समय एक्लै बगिरह्यो !
१०.
अनिकाल विवेकी
उर्वर भूमिमा झार ?
खेताला, विदेशी दलाल ?
११.
कर्मयोद्धा नेपाली
नसहौं न हस्तक्षेप
उठौं सँगै मुठी कसेर !
१२.
बन्द, बुद्धिको बिर्को ?
डाँडापरि नैतिकता
बागडोर मुर्कट्टा खेल ?

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।