नेपालको अन्तर्राष्ट्रिय विमानस्थल इतिहासकै लामो समय अवरुद्ध

नेपालको अन्तर्राष्ट्रिय विमानस्थल इतिहासकै लामो समय अवरुद्ध

काठमाडौँ, २२ फागुन । टर्कीको विमान दुर्घटनाबाट नेपालको हवाई उड्डयनको इतिहासमा सबैभन्दा लामो ७२ घन्टाभन्दा बढी समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध हुने भएको छ ।
नेपालकोे ६६ वर्षे हवाई उड्डयन इतिहासमा मुलुकको एकमात्र त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको यो पहिलो घटना हो । विश्व हवाई इतिहासमा यस्ता घटना विरलै हुने गरेका छन् । नेपालमा हवाई यात्राको सुरुवात सन् १९४९ मा भएपनि व्यावसायिक उडान भने त्यसको तीनवर्षपछि मात्र सुरु भएको थियोे ।

Turkish-Air
फागुन २० गते बुधबार बिहान टर्किस एयरलाइन्सको उडान नं टिके ७२६ को विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटना भएपछि विमानस्थलको धावनमार्ग अवरुद्ध भएको थियो ।
विकसित मुलुकहरुमा यस्ताखाले घटना बेलाबखत हुने भएपनि वैकल्पिक विमानस्थल हुनेहुँदा यति लामो समय अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध भएको पाइँदैन ।
नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प नभएकाले घटनापछिको लामो समयसम्म विमानस्थल अवरुद्ध हुन पुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका उपनिर्देशक टेकनाथ सिटौला बताउनुहुन्छ ।
“दुर्घटना भएको यति लामो समयसम्म विमानस्थल अवरुद्ध हुनु नेपालको इतिहासमै पहिलो हो । विकसित मुलुकमा विकल्पको रुपमा धावनमार्गहरु हुने र ठूला जहाज हटाउने यन्त्र रिमुभल किट राख्न सकिने भएकाले घटना लगत्तै उद्धार गर्न सकिन्छ, तर नेपालमा सम्भव छैन, त्यसैले लामो समय विमानस्थल अवरुद्ध हुनपुग्यो”–उहाँले भन्नुभयो ।
त्यसो त नेपालमा सानातिना खाले यस्तै प्रकारका घटना पाँचपटक भइसकेका छन् । करिब १० वर्षअघि नेपाली सेनाको हेलिकोप्टर अवतरणका क्रममा दुर्घटना हुँदा पाँच घन्टा अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध भएको थियो ।
अवरुद्ध धावनमार्ग खुलाउन अनवरत रुपमा काम भइरहेको विमानस्थल कार्यालयले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
धावनमार्ग खुलाउन समय लाग्ने भएकाले विमानस्थलले शनिबार बिहान १० बजेसम्मका लागि अन्तर्राष्ट्रिय उडान बन्द गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमनले जानकारी दिनुभयो ।
अवरुद्ध धावनमार्ग खुलाउन बिहीबार भारतबाट ल्याइएको उपकरणसहित भारतको विज्ञ टोलीले निरन्तर काम गरिरहेको छ ।
नेपाल एयरलाइन्स र सबै सुरक्षा निकायका ५० भन्दा बढी दक्ष जनशक्ति तथा भारतबाट आएको २५ जनाको विज्ञ टोलीले घाँसे मैदानमा धस्सिएको विमानलाई माथि उठाएर सुरक्षित स्थानतर्फ लैजान सक्रियतापूर्वक कार्य गरिरहेको उहाँले जानकारी दिनुभयो ।
दुर्घटना भएको विमान धावनमार्गको लम्बाईको बीचमा रहेकाले बाँकी उत्तरतर्फको आधा धावनमार्गबाट हाल आन्तरिक उडानहरू मात्र भइरहेका छन् ।
दुर्घटनाग्रस्त जहाजलाई चारवटा हावा भरिएका बेलुनको सहायताले माथि उठाइएको छ, ती बेलुनलाई सहायता दिन काठको प्रयोग गरिएको छ, भने ट्रकको पनि प्रयोग गरिएको छ । जहाजलाई धावनमार्गको तहमा ल्याउन अझै कठिनाइ भएको महानिर्देशक सुमनले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “जहाजलाई बेलुनको सहायताले माथि उडाउने काम पूरा भएको छ, जहाजमुनिको केही भागलाई गुड्नयोग्य बनाउने कार्य जारी छ, जहाजलाई पछाडिबाट तानेर मुख्य धावनमार्गमा ल्याउँछौँ, शनिबार बिहानसम्मका लागि सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेका छौँ ।”
उहाँले विमानस्थल अवरुद्ध हुँदा विदेशी पर्यटकको प्रवेशाज्ञा सकिएको अवस्थामा त्यसको सहजताका लागि अध्यागमनसँग संयोजनकारी परामर्श भइरहेको जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय उडान बन्द हुँदा यात्रुमा पर्न गएको असुविधाप्रति विमानस्थलले क्षमायाचना गरेको छ ।

उपप्रधानमन्त्री गौतमद्वारा निरीक्षण
विमानस्थलमा दुर्घटनामा परेको टर्कीेको जहाजको अवलोकनका लागि आज उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दीपकचन्द्र आमात्य, प्रधानमन्त्री कार्यालयका सचिव शान्तराज सुवेदी, गृहमन्त्रालयका सचिव सूर्य सिलवाल, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षकहरु आज विमानस्थल पुगी धसिएको विमान हटाउनका लागि भइराखेका कामका बारेमा जानकारी लिनुभएको थियो ।
तीन दिनसम्म अन्तर्राष्ट्रिय हवाई सेवा ठप्प हुँदा अन्तर्राष्ट्रिय उडान अवरुद्ध भई नेपाल आउने यात्रुहरु अलपत्र परेका छन् । विमानस्थलबाट दैनिक रुपमा बाहिरबाट ४० अन्तर्राष्ट्रिय उडान तथा नेपालबाट पनि ४० उडान हुने विमानस्थलले जानकारी दिएको छ ।
अवरुद्ध विमानस्थल खुलेपछि यात्रुलाई सहज सेवा दिनका लागि २४सै घन्टा विमानस्थल सञ्चालनमा ल्याइने प्राधिकरणले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।