बा को दराज : राधिका पन्त देवकोटा (कविता )
कपन अनलाइन
काठमाडौँ, श्रावण २३।
बा सुत्ने खाटदेखि
झण्डै दुईहात पर
पुस्तौँ भयो ठिङ्ग उभिएको छ
बा को दराज !
हजुर बा ले आफ्नो शेषपछि
छोरालाई छोडेर जानुभएको
उपहार हो ।
घरीघरी ऊ मुस्कुराईरहन्छ
घर्याक्क घर्याक्क उघार्न खोज्दा
मध्यरातमा बा ले
तलदेखि माथिसम्म
नियालीनियाली हेर्नुहुन्छ
बच्चाले पापा हेरेझैँ
जीवनको एक्लो साथी
दराजभित्र रहेका
तमसुकका ठेलीहरू
लालपूर्जाका विटाहरू
ईँटाका चाङ्ग मिलाएझैँ
चाङ्ग मिलाउँदै गर्दा
फेरि मुस्कुराउँछ बा को दराज !
नयाँ र सुकिला लुगाफाटाहरू
दराजको दाहिना कुनामा
पूराना आसामी र बृद्धभत्ताबाट
संकलित रकमपूरानै कपडाले बेरेर
हजुर आमाका पालाको
सुनचाँदीका गहना सम्झदै
फेरि मुस्कुराउँछ बा को दराज !
कोरोनाको कहरमा
जीवनसाथी गुमाएको पीडा
डोकोभरि बोकेर
जाडोले कापेको सर्वहारा झैँ
थरथराउँदै हल्लीरहेछ बा को शरीर
अनगिन्ति अनुभवहरू थिए बासँग
दोस्रो पिँढीमा सार्नपर्ने
बहीखाताहरू थिए नामसारी गर्नपर्ने
सन्तानले छोडेर पर भएपछि ।
बोलाउँदा नसुन्ने भएपछि
कोरोनाले कटकटी खाएको शरीर
फतक्क गलेको मांसपेशी
कलकल भोकलागेका बेला
नरम जाउलो दिने नभेटेपछि
बाले आफूलाई एक्लो सम्झिरहँदा
फेरि मुस्कुराउँछ बा को दराज !
बा विभिन्न ताजा समाचाहरहरू सुन्नुहुन्छ
आफ्नै दराजलाईहेर्दै
ओहो ! कतै मलाई लागेको कोरोनाले
मैलाई जित्यो भने
ओखतीमुलो गर्ने ठाउँ भेटिएन भने!
मान्छेले मान्छेलाई स्पर्श गर्नछोडेका बेला
कामकर्तव्य र जिम्मेवारी छोडेर मुसो लुकेझैँ
चौघेराभित्रै लुकिरहेको बेला
श्वासफेर्न नसकेर मै सकिएँ भने
स्वतन्त्रतामा आँच आउन थालेपछि
मनको तरंगले तर्काएर
शरीरै कर्कलो गलेझैँ गलेपछि
मनुष्यका चुरीफूरीहरू
सकिदै गएकाछन्।
प्रकृतिलाई स्वीकार्न नसक्दा
अदृश्यशक्तिलाई आत्मासाथ नगर्दा
मान्छेहरू नै कर्तव्यलाई छोड्दै भाग्न थालेपछि
आफूलाई शक्तिशाली ठानेर
बा को दराज फेरि मुस्कुराउँछ !