खुल्दैन पर्दा जब : त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाडौँ, श्रावण २३।

छन् हाम्रै मनभित्र छन् सय थरी कुण्ठाहरूका ठुटा
गाह्रो हुन्छ उखेल्न दीर्घ छ जरा मानौँ कुनै जर्बुटा
छन् संस्कार समान हट्छ कसरी धोई पखाली सब
कोठा बन्द सधैँ रहन्छ मनको, खुल्दैन पर्दा जब।

हाम्रै मौलिकता रहेछ कि कसो गाली भनेको पनि
हाम्रै निम्ति रहेछ शब्द ननिको जाली भनेको पनि
ताली पाउनुपर्छ नित्य नभए बिग्रन्छ ठान्छौँ सब
यस्तै हुन् व्यवहार, वाद जुन होस्, खुल्दैन पर्दा जब ।

यो बाटो नहिँडेस् भनिन्छ सजिलै लागिन्छ आफू त्यतै
यो खोला नथुनेस् भनिन्छ तर त्यै छोडिन्न आफू कठै
चश्माले जब दृश्य नै फरकझैँ देखाइदेला सब
हेर्ने छ्याङ्ग हिमालसम्म कसरी, खुल्दैन पर्दा जब ।

प्यारो लाग्दछ अन्धकार घरकै राम्रा नराम्रा कथा
शङ्का लाग्दछ झ्याल खोल्नु कसरी बिग्रन्छ सारा तथा
आफैँ जान्दछु भन्छ नित्य मनले संसार सारा तब
बाँकी देख्नु छ के र खोल्नु मनको खुल्दैन पर्दा जब ।

होला खर्च पढाइमा तर स्वयं सिक्दैन इच्छाविना
राखौँ बेच्न बजारमा गुणविना, आएर किन्छन् कुन ?
इच्छा थुन्नतिरै भए नजरले देखिन्छ के वैभव ?
के तान्छौ अझ खोलिँदैन मनको खुल्दैन पर्दा जब ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।