डाकौँ समुन्नति : त्रिलोचन आचार्य (कविता )
१. नेपाल यो छ हँसिलो र पवित्र चोखो
रम्दै सजाउँछु यहीँ म अनेक धोको
हाँस्दै हिमाल छ यहाँ म अनन्त हाँस्छु
नाँच्दै छ दिव्य झरना म त नाँच्छु नाँच्छु ।
२. यो धाममा प्रकृतिको भरिपूर्णता छ
भण्डार अन्न जलको परिपूर्णता छ
भोको रहन्न म कसै श्रम भर्न थाल्छु
सम्मृध्दि दिन्छु म खुलेर विकास डाक्छु ।
३. फोरेर उच्च पहरा पथ खोल्न सक्छु
आफैँ दगुर्न म रमाउँन बोल्न सक्छु
चाहिन्न दान र कठै अनुदान छर्ने
यो देश खातिर म हूँ बलिदान गर्ने ।
४. यैँ छर्छु दिव्य पसिना न कतै म भाग्छु
यैँ गर्छु भव्य रचना न कतै म लाग्छु
विज्ञान भन्दछ उडी पुग अन्तरिक्ष
लौ दिन्छु दिन्छु म नयाँ युगको परीक्षा ।
५. माटो सजाउँन स्वयं छ ममा उपाय
हेपी छिमेकतिरका किन टेक्न आए ?
सुस्ता तथा लिपु यही मुटुका कुना हुन्
मै भर्छु रङ्ग तिनमा, सुखमा रमाउँन् ।
६. छाप्रै भए पनि छ है घर यो विशाल
मै खुल्छु, खुल्छ जसरी हँसिलो हिमाल
फाँडेर भित्र मनका सब झोर झाङ
डाकौँ समुन्नति चढौँ युगको भरेङ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक