लैजाऊ फिर्ता : गीता सापकोटा
कपन अनलाइन
काठमाडौं ,साउन २४।
मेरा बाबाले आमालाई गाली गरेको कहिल्यै मन पर्दैन मलाई । आँखा तरेको र हातै उज्याएको दृश्य त हेर्न पनि सक्दिनँ । कहिले काहीँ त लाग्छ, ‘यस्तो बाबालाई किन बेहुलाबनाउनु भएको होलाआमाले’ अनिआमासँगै रिस उठ्छ ।
खै कसरी हो ?हप्तादिन जति घरमा राम्रै व्यवहार भएको थियो । म, मेरी आमा र बहिनी खुसी थियौँ । रमाएकै थियौँ । आज साँझ एकाएक घरमा आगोको मुस्लो झरेझैँ लाग्यो मलाई ।
प्रसङ्ग भान्सामा खानाखाने बेलाको हो । मेरो घरमा प्रायः सामान्य खानेकुरा पाक्छ । कहिलेकाहीँ मात्र मासु भात पाक्छ । आजमलाई मेरो घरको खाना मन परेन । बहिनी त निकै सानै छे । ऊ आमाकै बुबु खाएर बाँचेकी छे । म ठुलो भएको हुँदा सबैले खाने खाना खान थालेको धेरै भइसकेको थियो ।
आजको खाना त मलाई पटक्कै मन परेन । दाल र भात मात्र मेरो अनुकूल बनेको थियो । तरकारी र अचार मैले खान सकिनँ । जर्बजस्ती मेरा बाबाले थालमा राखिदिनु भयो । मैले त्यो तरकारी आमाको थालमा राखिदिएँ ।बाबाको थालमा राख्न आँट गरिनँ ।बाबाले मलाई नाम्रोसँग गाली गर्नुभयो । मेरो लागि पस्किएको खानापनि विष जस्तो भयो । आमाले मलाई पुलुक्क हेर्नुभयो । आमासँग मेरा आँखा जुधे । मेरा आँखाभरि ढिक्का ढिक्काआँसु टिल्पिलाए ।
कठै ! मेरी आमाको मन पनि कति कुडियो होला ।मलाई मेरी आमाको पनि माया लागेर आयोे । मेरो त्यो अनुहार देखेर आमाको मनै कटक्क भयो होला । आमाले आफ्नो कठोर लोग्ने प्रति आक्रोश पुख्नुभयो । ‘खान नसके किन जबर्जस्ती गर्नू त ?बच्चाकै लागि सोचेर कहिले बनेको छ खाना घरमा ?’ हुनपनिहो, मेरी आमा बिहान झिसमिसेमै अफिस जानुहुन्छ, बेलुका साँझमै मात्र घरमा आउनुहुन्छ ।
घरमा फुपू, काका र हजुरआमा बस्नुहुन्छ । साँझसम्म पनि आमा नआएपछि जसले भ्याउनुहुन्छ उहाँले खाना पकाउनु हुन्छ । उहाँहरूको स्वादको खाना, कहिले पिरो त कहिले चर्को । तरकारीकै झोलसँग पनि मिठो मानेर सबैले खाना खानुहुन्छ । मलाई अनौठो लाग्छ । मेरी आमाले खाना पकाएको दिन मेरो पेट राम्ररी भरिएको जस्तै लाग्छ ।
आमाले बोलेको बोली भुइँमा खस्न नपाउँदै बाबाले आमालाई बेस्सरी गाली गर्नुभयो । ‘तैँले गर्दा छोरा बिगारिस् । संसारमा बाबुका कारणले होइन, आमाका कारणले बिग्रिन्छन् छोराछोरी ।’ यो शब्दले मेरो मन निकै खिन्नभयो । मेरी आमाकै कारणले म यतिखुसी छु ।
यस्तो राम्रो स्कुलमा पढ्न पाएको छु । बिहान देखि बेलुकासम्म खटेर म र बहिनीमात्र हैन सिङ्गो परिवार पाल्नुभएको छ । आमाले जति बाल भावना मेरो घरमा अरु कसले बुझेको छ र ?आमाकै कारणले म बिग्रिएँ रे, म कसरी बिग्रिएँ? के गर्दा बच्चा बिग्रिन्छ ? मैले निल्न नसकेको खाना छोड्दा म बिग्रिएँ । यसमा आमाको के दोष ? मेरा मनमा यस्ता धेरै प्रश्न उब्झिए । आमाको अनुहार नियालेर हेरेँ र घोप्टिएर दालभात खान थालेँ।
आमात्यति बेला केही बोल्नुभएन । घरका अरु सदस्य पनि कोही बोलेका थिएनन् । लाग्यो, मेरी आमालाई बाबाले गालीगर्दा अरु सबै खुसी छन् । मेरी आमाले मलाई गर्ने माया सायद मलाई बाहेक कसलाई थाहा होला र बहिनीलाई पनि उत्तिकै माया गर्नुहुन्छ तर ऊ बुझ्ने भइसकेकी छैन । मेरी आमा प्यारी आमा ।
मलाई आमाकै बारेमा कविता लेखुँलाग्यो । एकदुई लाइन कविता लेखिहेरेँ । अनिमैले झट्टै सम्झिएँ, विद्यालयमा सामाजिक विषयका गुरुले बाल अधिकारका बारेमा थुप्रै कुरा गर्नुहुन्छ । बालबालिकाले खाने, हिँड्ने, बोल्ने, खेल्ने र अभिभावकको मायापाउने अधिकार त उसको नैसर्गिक अधिकार हो रे । के हो त्यो नैसर्गिक अधिकार ?मलाई त यी अधिकार हामीले पाउने अधिकार होलान् जस्तो लाग्थ्यो तर आजमलाई आफैसँग प्रश्न गर्न मन लागिरहेछ खै त मेरा लागि बाल अधिकार ?
जाबो साँझ बिहानको खानपानको विषयमा त यस्तो पीडा सहनु परेपछि कता र कसकालागि छन् बालअधिकार ? म जस्ता पीडित बालबालिका अरु कति होलान् ? कस्ता कस्ता समस्या झेलिरहेका होलान् ? मेरी आमाले मलाई हरपल माया गर्नुहुन्छ । मेरा लागि मेरी आमा हरहमेसा साथमा हुनुहुन्छ ।
कति त आमा नभएका टुहुरा बालबालिका होलान् । कति सडक सडकमा भिख मागेर बसेका बालबालिकाहरू छन् ? उनीहरूको अवस्था कस्तो होला? खै त हाम्रा लागि बालअधिकार ? हरेक बालबालिका यस्तै पीडा भोगेर बाँच्नु पर्ने हो भने किन बन्यो बाल– अधिकार ? कसले बनायो बाल– अधिकार ? लैजाऊफिर्ता, जसले बनाएका हौ उसैले लैजाऊ । चाहिँदैन हामीलाई बालअधिकार ।
सहकार्य : काप्न बानेश्वर साहित्यिक साप्ताहिक