दशैं तिहार र हामीमा हुर्किएको ठालू संस्कृति : पुरुषोत्तम नेपाल
कपन अनलाइन
काठमाण्डौ, कार्तिक २३।
पृष्ठभूमि :
एक दशकभन्दा बढी एक सहकारीमा प्रत्यक्ष संलग्न भएका कारण दशैंको नयाँ नोट संस्कृतिसँग अभ्यस्त भएको अनुभव रहेको छ । दशैंमा नयाँ नोट ल्याएर सदस्यलाई प्रदान गर्नु आफैंमा एक युद्धजस्तो हुने गर्दछ । तरपनि विगतका वर्षमा मिलाईने सम्बन्ध व्यवस्थापन (सेटिङ) यसपटक प्राविधिक कारणले अलिकति असहज भएको थियो । यसपटक मिलाएको सम्बन्ध व्यवस्थापनमा सहयोगी भूमिकामा रहेका मित्र÷भाईको पारिवारिक शोकका कारण आफैं यो व्यवस्थापनमा लाग्नुपर्ने अवस्था अकस्मात आएको थियो । नगरौं त केही सदस्यलाई ढुक्क हुनुस् भनेर दिएको वचन थियो भने गर्दा कसरी गर्ने भन्ने अन्यौल थियो । तर सदस्यलाई दिएको वचनको दायित्वले जित्यो । संस्थाकै सदस्य मार्फत पहिलेकै सम्बन्ध व्यवस्थापनमा रहनुभएको आदरणीय सरसँग सम्पर्क गरी नयाँ नोट लिन गएको बखत देखिएको दृश्यले एउटा आलेख लेख्छु भन्ने लागेको थियो । तर मेरो अल्छीपन यसमा बाधक भैदियो ।
संस्कृतिमा पूँजीवादको प्रवेश
नयाँ नोट संस्कृतिभन्दा अगाडि संस्कृतिमा पूँजीवादको प्रवेश कसरी हुँदो रहेछ भन्ने सानो दृष्टान्त राख्न चाहन्छु । नेपाली संस्कृतिमा विवाहित महिलाले पोते, तिलहरी लगाउनु अनिवार्य मानिन्छ । आजभोली अरु बेलामा नलगाएपनि चाडपर्व, विवाहब्रतबन्धमा त देखाउनै पर्ने मान्यता अझ प्रबल भैरहेको छ । पिताजी पण्डित भएका कारण पंक्तिकारको पनि अध्ययनको क्षेत्र संस्कृत भएका कारण २० वर्षको उमेरभन्दा अगाडि देखि नै विवाह गराउन थालेको अनुभव छ । तर त्यसबेला अधिकांश विवाहका कर्ममा पोते लगाउने कर्म बिर्सिएर कहिले सिन्दूर हाल्ने बेलामा कहिले यसो नजिक भएका अरुले सम्झाएपछि पोते लगाउन अराउने कर्म गरियो । यसको कारण प्राचीन विवाहपद्धतिमा पोते लगाउने सन्दर्भै आउँदैनथ्यो । केही पुस्तकमा लौकिक चलन भनेर उल्लेख गरिएको हुन्थ्यो । अबको प्रश्न भनेको विवाह पद्धतिमै नभएको पोते सौभाग्यको साधनको रुपमा कहिले देखि किन प्रचलनमा आयो होला भन्ने नै हो । मेरो विचारमा भने भारतमा मुगल शासनकालमा उनीहरुको उत्पादन बेच्ने प्रयोजनको लागि शासकहरुले अनिवार्य गरे जुन निरन्तरताको आधारमा संस्कृति बन्यो । यसको एउटा प्रमुख आधार भनेको नेपालमा पञ्चायतभन्दा अगाडि र भारतमै पनि चुरा पोते बनाउने अधिकांश व्यापारीहरु मुसलमान देखिन्छन् ।
दशैंमा ठालू संस्कृति
म आफैंले ६० को दशकको पूर्वाद्र्धमै पनि दशैंमा नयाँ नोटको हाहाकारको अनुभव गरेको थिइँन । तर आजभोली देखिएको यो हाहाकार किन ? प्रश्न आफ्नै मनमा उठ्न थालेको धेरै भयो । आखिर रु ५ को नयाँ नोटको मूल्य रु ६ हुँदैन र पुरानो रु ५ को नोटको मूल्य रु ४ पनि हुँदैन । यो परम्पराको शुरुवात नै ठालू संस्कृतिको भएको निष्कर्षमा म पुगेँ । राजतन्त्र रहँदै राष्ट्रबैंकले सायद नयाँ नोट दशैंमा निकाल्न थाल्यो जसको प्रयोजन तत्कालीन राजघरानासम्बद्ध व्यक्तिहरुलाई नयाँ नोट उपलब्ध गराउनु हुन थाल्यो । प्रजातन्त्र आयो क्रमश ः प्रधानमन्त्री मन्त्रीलाई उपलब्ध गराउन थाल्यो । त्यसपछि नयाँ नोटको चस्का शासनसत्ताको उपल्लो तहमा भएका व्यक्तिहरुलाई लाग्न थाल्यो । अब पद फुस्किएपनि त्यो नयाँ नोट आफ्नो घरमा बाँड्न पाए ठूलो भएको अनुभूति बढ्न थाल्यो । क्रमशः त्यसरी नयाँ नोट देखाएरै ठूलो हुने संस्कृति तपाईं हामी सम्म आइपुग्यो । जसका कारण नेपाल राष्ट्र बैंकले बाँड्ने नयाँ नोट लिन तपाईं हामी म राती १२ बजेसम्म राष्ट्र बैंकमा सम्बन्ध व्यवस्थापन (सेटिङ) गर्दै लाइनमा किन बस्नुपथ्र्यो र ?
यदि यो ठालू देखिने मोह हैन भने तिहारमा राष्ट्र बैंकले सुनको असर्फी र चाँदीको सिक्का निकाल्ने गर्दछ । त्यसकै खोजी हामी किन गर्दैनौं किन भने त्यो किनेर ल्याएपनि घरमै पूजा गरेर राख्ने वस्तु हो अरुलाई देखाउने आवश्यकतै पर्दैन ।
दशैंमा राष्ट्र बैंकमा देखिएको दृश्य
दशैंमा राष्ट्र बैंकको कार्यालयमा दिनको १ बजे पुगेर करिब १ घण्टा लाइन बसेर टोकन लिएर भित्र पसियो । त्यसपछि लाइनमा बसेजस्तो गर्ने तर आफूभन्दा पछाडिको मानिसलाई अगाडि पठाएर आफू फेरी पछाडि बस्ने सिलसिला करिब साँझको ८ बजेसम्म गरियो । जीवनमा पहिलो पटक लाइनको अन्तिममा आफू पर्नलाई संघर्ष गरिएको यसैपटक हो । त्यहाँको त्यो समयमा देखिएको दृश्यहरु ः
१) एकै व्यक्तिले बिहानदैखि बारम्बार गरेर १० वटा सम्म टोकन लिएको देखियो । अनि भित्र बारम्बार लाइन बसेर बेलुका ८ बजेसम्म नयाँ नोट सटही गरेको देखियो ।
२) देख्दा नै नयाँ नोट लिन लाइन बस्न त के आए होलान् जस्ता लाग्ने व्यक्ति र नाबालक पनि लाइनमा देखियो । पछि बुझियो उनीहरु नयाँ नोट सटही गरेर बाहिर फुटपाथमा निश्चित प्रतिशत लिएर सटही गर्ने व्यवसायी रहेछन् ।
३) कार्तिक २ गते पंक्तिकारको टोकन नं. २००० को हाराहारीमा थियो भने अरु दिनमा कतिले सटही गरे होलान् ?
४) राष्ट्र बैंकले दशैंको सट्टा पौषमा नयाँ नोट निष्कासन गर्ने हो भने पुराना नोटहरु राष्ट्र बैंकमा चाँडै फिर्ता हुन्थे कि ?
र अन्त्यमा तिहारमा पूँजीवादको प्रवेश
हाम्रो संस्कृतिमा कार्तिक कृष्ण त्रयोदशीका दिन कागको पूजा गर्ने दिन हो । उक्त दिन आयुर्वेदसम्बद्ध व्यक्तिहरु धन्वन्तरिको पूजा गर्ने गर्दछन्् । तर धनतेरसका नाममा हुँदै नभएको संस्कृति भित्राएर कम्तीमा एउटा तामाको भाँडो मात्र भएपनि किन्नुपर्ने व्याख्या गर्दैछन् । हुन त आखिर तिहार लक्ष्मीकै सम्मान गर्ने पर्व न पर्यो । पूँजीवादबाट हामी टाढा नै कहाँ छौं र ?