रणभुल्ल : आचार्य प्रभा (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,माघ २७।
“देश चुनावको पोखरीमा तैरिंदै छ काका ! भोट् केमा दिने होला ? जो आए पनि देशको अवस्था उस्तै छ।कि, भोटै पो नदिउँ जस्तो लाग्दैछ मलाई त !” गाउँकै छिमेकीले नरमानलाई भने ।
– “आ…मै, त रणभुल्लमा छु । अब रणभुल्लमै भोट् दिनु पर्ला ।”
नरमानको जवाफले उक्त छिमेकी भतिजले आश्चर्यचकित हुँदै भने,
यो “रणभुल्ल भन्ने पार्टी चैं कुन पार्टी हो ? यो नामको पार्टी पनि छ र ? को उठेको छ यो पार्टीमा ?”
नरमानले हाँस्दै जवाफ दिए–“लाटा ! रणभुल्ल भनेको कुनै नेताको पार्टी होईन । हामी जनतालाई छक्याएर नेताले सत्ता ओगट्ने कर्मको नाम रणभुल्ल हो । जसरी अहिलेसम्म हामी यही रणभुल्लको पेरिफेरिमा अल्झिएर अल्मलिई रहेका छैनौं त ? यो पार्टीको नाम नभई सबै पार्टीका नेताको स्वार्थी स्वभाव हो ।”
– “अहो ! कुरा नबुझ्नु पनि साह्रै रहेछ । मैले त यो पनि नयाँ पार्टीकै नाम रहेछ भनेको । च्याउसरी पार्टीहरू उम्रिएका छन् । सबैका कुरा सुन्दा ठिकै लाग्छन् । सबै उम्मेद्वारहरू देशमा सुशासन ल्याउँने र देशलाई समृद्ध बनाउँने आश्वसन दिन्छन् । हुन पनि कस्को कुरा पत्याउँने ? कस्को नपत्याउँने साँच्चै अलमल्लै परियो । अलमल्लको अर्को अर्थ नै रणभुल्ल रहेछ नि ! काका ।”
गाउँले भतिजको कुरा सुनेर दुवै मरीमरी हाँसे ।
