भजनमण्डली : छायाँदत्त न्यौपाने (लघुकथा )
कपन अनलाइन
काठमाण्डौ ,असोज २९ ।
कहाँ जान लाग्नुभा काका ? छिमेकी प्याच्च बोले ।
–कतै निस्किनला बेलाँ सोध्नुहुन्न भनेको हैन ? काका पड्कनुभो । छिमेकी पनि के कम– त्यै कविगोष्ठी, किताब विमोचनमा ताली पिट्न त होला पाइहाल्नुहुन्छ नि केको बिग्रिन्छ
साइत !
–हो नि त कला संस्कृतिको जगेर्ना गर्नुपरेन त !
काकाका कुरा नसिद्धिदै –केको संस्कृति नि उहीँ राजनीतिमा झैँ गुटबन्दी त हो नि ! छिमेकीले साहित्यका नाममा छिरलिएको बेथिति कोट्याए ।
–कहाँ हुन्छ गुटबन्दी ! साहित्यकार त जहिले पनि खराबलाई खराब र राम्रोलाई राम्रो भन्ने आँट भएको प्रतिपक्ष हो । आफ्नै पार्टीको सत्ता भए पनि नराम्रो कुराको खुलेर विरोध गर्छ ।
छिमेकीले हात हल्लाउँदै –होला खुबै ! गुट–गुट मिलेर झुर किताबको
प्रशंसा र अर्को गुटको भए राम्रोलाई पनि झुर भनेर धारेहात लाउँछन् । अहिलेका त पाठक पनि उस्तै ठुलो डाँको पत्याउँछन् । मैले पनि राम्रै मान्छेले भने होला भनेर किताब किनेको त उसैको राजनीतिक पार्टीको बखान मात्र, नभाषिक कला छ नअभिव्यक्तिमा गहनता ! पैसा मात्र खेर गयो । अचेल त साहित्य पनि गुट र भोजमा खुम्चिएको छ । छिमेकीको कुराले काकालाई त कार्यक्रममा जाऊ कि नजाऊ बनायो । छटपटिँदै उनले भने– होला विकृति पनि तर सबैलाई एउटै डालोमा हाल्न मिल्दैन । – तपाईं आफै भन्नू न जुन किताब वा व्यक्तिले पुरस्कार पाउँछ त्यसमा तत्तत् समूहकाले समर्थनमा बाँसुरी बजाउँछ अर्का थरीले झुर किताबले पायो, कामै नग¥या मान्छेलाई दिइयो भनेर ढोल पिट्छ । हेर्नुस् त ठ्याक्कै फोहोरी राजनीति खेलजस्तै छ कि छैन साहित्यिक खेल ? नेताका पछि कार्यकर्ताझैँ साहित्यकारको चाला पनि कत्ति फरक छैन ।
ऊ हेर्नुस् त पुरस्कार पनि छानी छानी आफ्नो आफ्नो भजनमण्डलीलाई दिन्छन् । होइन भने ल दिनुस् त एउटा भजनमण्डलीले अर्को भजनमण्डलीको प्रतिभालाई कदर गरेको उदाहरण !
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक