पराशर गीता : एक रहस्य (अच्युतप्रसाद पौडेल ‘चिन्तन’)

पराशर गीता :  एक रहस्य (अच्युतप्रसाद पौडेल ‘चिन्तन’)

कपन अनलाइन

काठमाण्डौ ,असोज २९ ।

हाम्रा सामु विषम परिवेशहरु धेरै छन्, कोरोना, डिँगो, दूर्घटना, बजारको विकराल अबस्था भनौँ हामीलाई हरबेला रोग, भोक र शोकले सताएको छ, दसैँ माने धेरैले मासु चपाएर, कतिले त त्यसैले अकाल मृत्यु पनि गरायो, घाँटीमा अड्केर । केही समय गीतामा प्रवेश गरौँ न, पराशर गीताको
प्रसंगमा ।
हाम्रो वेदभूमिका ऋषि पराशर र हाम्रै धर्म भूमिमा राज गर्ने राजा जनक वीचको सम्वाद नै पराशर गीता हो । गीतामा भनिएको छ, डरपोक क्षत्रीय, जे पायो त्यही खाने ब्राह्मण, वेरोजगार वैश्य र अल्छी शुद्र भएको देश कहिल्यै उँभो लाग्दैन । शील नभएको विद्धान्, सदाचार नभएकी स्त्री, विषयासक्त योगी, नियम, कानुन नभएको राज्य, व्यक्तिगत पोषणका लागि खाना बनाउने व्यक्ति, तत्कालै परिणाम खोज्ने स्वार्थी व्यक्तिको समूह, मूर्ख वक्ता, अराजक नेतृत्व, इन्द्रिय नजितेका नागरिक, जनता रक्षा गर्न नसक्ने, महँगी, कालोबजारी, घूसखोरी नियन्त्रण गर्न नसक्ने र सिमा सुरक्षा गर्न नसक्ने सरकार यी सबै शोकका संकेतहरु हुन् । जहाँ जनता शोकले डुब्छन्, शवको ताँती लाग्न थाल्छ, औषधोपचार हुन्न, स्त्रीको अस्मिता लुटिन्छ, व्यभिचारीको संख्या बढ्छ, त्यस्तो वातावरणमा रहनु भनेको मुत्युलाई अगाडि बोलाउनु हो, जंगली जनावरका वीच, सर्पको आसनमा बसे सरह हो ।
आयु दूर्लभ छ, आत्मालाई कसैले क्षीण गर्न दिइनु हुन्न । पुण्य र सुकर्मले दिन रात दुबै उज्यालो हुन्छ । अन्जानको पापलाई तप र दानले कटाउन
सकिन्छ । दाग नभएको कपडा धुँदा मात्र सफा देखिन्छ, कालो दाग लागेको कपडा साबुन, पानीले सफागर्न सक्दैन, मानिसमा पनि त्यही लागु हुन्छ । अन्जानको हिँसालाई अहिँसाको व्रतले कटाउन सकिन्छ, जानेर गरेको हिँसाले व्यक्ति र देशलाई पोलिरहन्छ । नेतृत्वले जहिले पनि न्याय पूर्वक देश सन्चालन गर्नु पर्छ, हरतरहले नागरिकलाई सुरक्षित राख्नु पर्छ, राज्य नागरिकको अभिभावक हो, करको रुपमा चुसेर उसलाई निमोठ्नु हुन्न ।
सत्य बोल्ने व्यक्तिले दिएको दान र तपको पूजा गर्नु पर्छ । चरित्र ठीक हुनेले प्रतिग्रहको दोष बोक्नु पर्दैन । विद्या भन्नु तप भन्नु एकै हो जसले जीवनलाई जीवन्त बनाउँछ । न्यायले धन आर्जन गर्ने भनौँ नीतिले कमाउने, रीतिले बाँच्ने र प्रीतिले सबैलाई बााच्न दिने, यो धर्म हो, मन्दिरमा पाठ, पूजा मात्रै धर्म होइन, भोकालाई खाना दिनु पनि ठूलो धर्म हो । मन्दिरमा सुन चढाउने तर मन्दिर बाहिरकालाई लात हान्ने गर्नु धर्म हुन्न । क्रुर कर्मले कमाइएको धनले सुख दिँदैन, शान्ति हुन्न, आनन्द त परैको कुरा हुन्छ ।

प्रत्येक व्यक्तिले जन्मैदेखि आर्जित ऋषि, देव र पितृ ऋण चुक्ता नै गर्नु पर्छ, त्यो चुक्ता स्वाध्यायबाट हुन्छ । संसारका सबै प्राणी मानिसका लागि मित्रवत् छन्, बाँच्न पाउने अधिकार सबैको हुन्छ । अतिथि सेवा, मातृ पितृ सेवा, देव, गुरुहरुको सेवा, साधु सन्तको सेवा मानिसको परम कर्तव्य नै हो । छोरा छोरीको शिक्षा, दीक्षा, बिबाह आदि कर्मले उनीहरुको ऋण चुक्ता हुन्छ भने माता, पिताको ऋण उनीहरुको यथोचित लालन पालन, मृत्यु संस्कारका कामबाट चुक्ता हुन्छ । आदर्श परिबारले आफ्ना  छोरा छोरीलाई उचित शिक्षा दिई सकेसम्म उनीहरुलाई ऋणभारमा राख्नु हुँदैन ।
धनका लागि कहिल्यै परा पूर्वदेखिको धर्म छोड्नु हुन्न, कष्ट सहेर पनि अरुको निन्दा नगर्ने, धर्माचरण गर्ने व्यक्ति देव तुल्य हुन्छ । जहिले पनि असल गुणको पछि लाग्ने गर्नु पर्छ, अरुको दोषको पछि लाग्नु हुन्न । जस्ताको संगत गर्यो व्यक्तिमा त्यही गुण सर्छ । आलु रोपेर आँप, आँपको वीउ रोपेर आलु
फल्दैन । जीवनमा सुख र दुःख दुबै आउँछ, सुखमा मात्तिने र दुःखमा आत्तिने गनु हुन्न । सिक्काका दुई पाटा हुन्छन्, नदीका दुई किनारा हुन्छन् । वाल्य जीवन सत्य युग हो, यौवन जीवन त्रेता हो, वयस्क जीवन द्धापर हो, बुढ्यौली जीवन कलि युग हो । वृद्धावस्थामा घर परदेश भएभैmँ कलिमा धर्ममा विभिन्न चुनौतीहरु आइपर्छन्, धर्म गर्ने भन्दा नगर्नेको बाहुल्यता धेरै हुन्छ, धर्म लंगडो हुन्छ कलिमा, एक खुट्टा मात्रै चले जस्तो हुन्छ, सत्य युगमा चार पाउ, त्रेतामा तीन पाउ र द्धापरमा धर्मको दुई पाउ हुन्छ ।

अर्थात् धर्मको स्वरुप नै भनौँ बाटो घट्दै आएको हुन्छ । वच्पनमा माता पिता, युवा अबस्थामा असल जोडी, वृद्धावस्थामा गुरु र गोविन्द साथमै हुनु पर्छ । एक हातले ताली बज्दैन, दिनको महत्व रातले दिन्छ तर रात भनेको कलि नै हो जसलाई अँध्यारो भनाँै अज्ञान भनिन्छ । अँध्यारोबाट उज्यालोतिर जान ज्ञानको भोको हुनु पर्छ, कोठामा आराम गरेर ज्ञान पाइँदैन, वर्षाको भेल रोक्न प्रयासै गर्नु पर्छ ।

आकाशको पानी भर्न पनि भाँडोलाई बिर्को नलगाई उत्तानो पारेर राख्नु पर्छ । विद्धान्को सेवाले धर्म बढ्छ, धर्मले धन बढाउँछ, परिश्रम नगर्नेको हातमा लक्ष्मी खुसी हुन्नन् । दान गर्दा आडम्बर गर्नु हुन्न, दाहिने हातले दिएको दान देब्रे हातले थाहा नपाउँदा पनि हुन्छ, दुष्कर्म नगर्ने, गरिहाले प्रायश्चित्ता गर्नु पर्छ । धन हुनेले आडम्बर गरेर दान गरे त्यसलाई लुटेरा भन्नु पर्छ, ढोंगी भन्नु पर्छ, फलको आशा नगरी कर्म गर्नु पर्छ । कसैले याचना नगरी स्वेच्छाले गरेको दान र अन्य सुकर्मले परिणाम राम्रो दिन्छ ।

याचनापछिको दान मध्यम हो, अपहेलना गरी दिएको दान अधम हो । इन्द्रिय संयमले सबै जाति शुद्ध हुन्छन् । जीविकाका लागि ब्राह्मणले क्षत्रीय र वैश्यको काम गर्न सक्छन् तर कुलाचारको धर्म छोड्नु हुन्न । धर्म छोडी विधर्मी भए त्यसको दोष आपूmले मात्रै होइन पूर्खा र आउने पुस्ताले पनि त्यसको फल भोग्नु पर्छ । धर्म छोड्दा घमण्ड बढ्छ, यसबाट क्रोध, क्रोधबाट सदाचार क्षीण हुन्छ, लोभ बढ्छ, त्यसपछि मोह बढ्छ, सबैथरि बढेपछि पाप बढ्छ, पाप भनु प्रदूषण हो धनको, तनको र मनको ।

यसले नराम्रो काम गर्न प्रेरित गर्छ, यो साइकल चक्र घुम्दा घुम्दै अनेकानेक जीवन सम्म पार पाउनै सकिन्न । नर जन्म बहुतै मुश्किलले पाइन्छ, चौरासी लाख जीवन व्यतीत गरेर फेरि मानवमा फर्कन लाखौँ लाख वर्ष लाग्छ, यसै मानव जीवन पाएको बेला आफुले आफै लाई उद्धार गरेन भने कहिले गर्ने ? अरुले उद्धार कसैले गरिदिने होइन । पुत्र, पुत्री, पद, प्रतिष्ठा, पैसा, परिबार शरिर रहुन्जेलका पाहुना हुन्, शरिर छोडे पछि तिनको केही अर्थ रहन्न । बिहान खाएको बस्तु साँझ दूषित भइसक्छ, बाहिर फाल्नु पर्छ, त्यही खानाले पोषित शरिर कसरी नित्य हुन सक्छ र, आज कोरोनाले बालक, जवान केही भनेन, टप् टप् टिपेर लग्यो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।