बहादुर : सुमन सौरभ (लघुकथा )
कपन अनलाइन
काठमाण्डौ ,असोज २९ ।
रात–बिरात मान्छे खाएर उधुम मच्चाएको बाघ मारेर जुगामा ताउ लगाउँदै घर फर्के उसका बाउ । बाउले आफ्ना सबै भुराहरूलाई अगाडि राखेर ‘बाघलाई कसरी फन्दामा पारियो’ भन्ने रोमाञ्चक अनुभव सुनाए । छिमेकीहरू जम्मा पारेर ‘गाउँलाई दुुःख दिँदै हिँडेको बाघ मार्नु’ कतिको साहसिक कार्य हो भन्ने बहादुुरीको कथा सुनाए । ऊ बाउको वीरताको कथा बाउकै मुखबाट सुनेर मख्ख थियो । ‘ऐया….उहु….आत्था’ उसले एकाएक बाउ आफ्नो कोठामा रुन्चे स्वरमा कराइरहेको सुन्यो । ऊ दौडेर बाउको कोठामा गयो र भित्रको कृयाकलाप देखेर ढोकैमा रोकियो ।
उसकी आमा जथाभावी बाउलाई भकुर्दै थिइन् । आमाले बाउको दुवै कानमाथिको कपाल च्याप्प समातेकी थिइन् र लगाइरहेको फरिया भित्रैबाट घरि बाउको कोखामा लात्ताले हान्थिन्, घरि आफ्नो घुडा बाउको छातिमा बजाउँथिन् । आमाको हाउभाउ हेर्दा लाग्थ्यो, उनी सकेसम्म बाउलाई सिध्याउन नै कोसिस गरिरहेकी थिइन् । बाउ आमाको हातबाट फुत्किन सक्दो कोसिस गरिरहेका थिए र लात्तीबाट बच्न फुत्रुक्कफुत्रुक्क उफ्रिरहेका थिए ।
आमाले नथाकुन्जेल बाउको बिजोग बनाइन् र थाकेपछि फरियाको सप्को कम्मरमा घुसार्दै चुनौतीमा चिच्याउन थालिन् । कति बखान गर्न सकेको आफ्नो बहादुरीको ? ओक्र्यो म बहादुर, फक्र्यो म बहादुर, लाज लाग्दैन ? आफू जन्मेको घर छोडेर चिन्दै नचिनेको यो घरमा आउन साहस गर्ने चाहिँ म ! सत्ताइस महिनासम्म पीडा खपेर तिम्रा तीन सन्तान जन्माउने र हुर्काउने चाहिँ म ! बिहान पाँच बजे उठेदेखि राति नसुतुञ्जेलसम्म दिनको सत्र घण्टा घरको काम गर्ने चाहिँ म ! अनि आधा दर्जन हतियारधारीको फौज लिएर, चारदिन लगाएर, एउटा निहत्था जनावर मार्ने तिमी चाहिँ बहादुर…. ? तिमी चाहिँ पौरखी…. ?’
ऊ अलमल्ल परेर दिमाग खियाउन थाल्यो– ‘सबभन्दा बहादुर त बाघ लाग्थ्यो, बाघ मारेपछि बाउ आफूलाई बहादुर भन्छन्, आमा त्यो कुरा मान्न पटक्कै तयार छैनन्, साँच्चिकै बहादुर चाहिँ को हो आखिर…. ?’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक