लवकुश : राजेश अधिकारी ( कथा )
कपन अनलाइन
काठमाण्डौ ,बैशाख २२ ।
आफ्ना दुधमुखे लालाबालाका बहुप्रतिक्षारत कर्णप्रिय च्याँच्याँ म्याँम्याँ सुन्न आतुर भएका मास्टरदम्पतीका सपनाहरु आफ्नो जोडी बाँधिएको एकदशकपछी पहिलो पल्ट धर्ती टेकेका जुम्ल्याहा पुत्रद्वयको प्रथम रुवाईका झन्कार सुनेर मात्र पुरा हुन्छन् । सन्तान प्राप्तिको खातिर झारफुक र खर्चिलो ओखतिमुलो गर्दा पनि केही लछारपाटो नलागेपछि जीवनभर निःसन्तानै भइएला कि भन्ने औडाहामा बाँचेका जोइपोईलाई सन्ततीहरुको महा आगमनले असाध्यै खुशी मिल्छ फलस्वरुप कुरा काट्नेहरुका खासखुसे चियो चर्चोमा नपुंसक, अपुता र बाँझी जस्ता विश्लेषणले घोचिइरहनु पर्ने विवशताबाट उनीहरुले सदाको लागि उन्मुक्ती पाउँछन् ।
झिनो समयान्तरमा जन्मेका नवजात शिशुहरुको नुहारनको दिन प्रफुल्लित मास्टरदम्पतीको निवासमा निम्तालु छरछिमेकीहरू भेला हुन्छन् । यस अवसरमा गाउँकै नम्बरी पण्डितद्वारा उनीहरूको नाम लव र कुश जुराइन्छ । बहुप्रतिक्षित जय जन्मको खुशीयाली मनाउन मास्टर कुटीमा भोजभतेरको आयोजना गरिन्छ । खानपान पश्चात निम्तालुहरू आ—आफ्ना घरतिर फिर्छन् । निम्तालुहरुलाई बिदाई गरिसकेपछि मास्टरजीलाई बस्तुभाउको खोले पानी गर्न र सुत्केरी श्रीमतीलाई स्याहार्न भ्याई नभ्याई
हुन्छ ।
मास्टरजीको पनि आफ्नै कथा ब्यथा छ । बाइस सालतिर पाँचथरबाट झापा झरेको एउटा हट्टाकट्टा जवान ठिटो होक्सेगाउँमा एकल सन्तान भएको एउटा गरिव ब्राह्मणको घरमा आश्रय लिएर त्यही गाउँकै स्कूलमा अस्थाई मास्टर बनी कालान्तरमा मास्टरजीको उपनामले चिनिन पुग्छ । मृदुभाषी र चित्ताकर्षक मास्टरजीले आफ्नै आश्रय घरकी कन्यासँग प्रेम विवाह गरी घरज्वाइ हुनपुग्छन् । नातिनातिनाको मुख हेरेरै मात्रमर्ने इच्छा लिएका मास्टरजीका वयोवृद्ध सासुससुराका अभिलाषाहरू उनीहरुको महाप्रस्थानसँगै तुहिन पुग्छ। सास छँदै आफ्नोजायजेथा छोरीज्वाइको नाममा पास गरिदिएका सासुससुराको सेखपछी घरको सम्पूर्ण जिम्मेवारी न्यूनवैतनिक मास्टरजीको थाप्लोमा पर्न जान्छ । यता मास्टरजी बिहान बस्तुभाउलाई घाँसखोले गरेर दिउँसो स्कुलमा पढाउन जान्छन् भने उता मास्टरपत्नी भात तिहुन र चुलोचम्को सकेर आफ्नो कोठेबारीमा फलेका सागसब्जी र फलफूल नजिकैको शनिस्चरे बजारमा लगेर बेचबिखन गर्नेगर्छिन् । यसरी नै जेनतेन त्यो जोडीको घर ब्यवहार चलेको हुन्छ । गाउँमा मास्टर्नी भनेर बोलाइने आफ्नी अर्धाङ्गिनीको
छाया सरी साथपाई दुःखजिलो गरेर जीवनयापन गरिरहेका जोईपोइको उराठ लाग्दो जीवनमा पुत्रद्वयको आगमनले खुशीसँगै थप पारिवारिक जिम्मेवारी पनि थपि दिन्छ ।
समयको रथलाई परिबेशको सारथीले जिवनका उबडखाबड मोडहरु पार गराउँदै अघि बढाउँदै लैजान्छ । बाँसको तामा झैं हलक्क बढेका लवकुश पनि लक्का जवानहुन्छन् । उता जीवनका अविरल संघर्षहरुले थाकेका मास्टर– मास्टर्नी दिनानुदिन कमजोर र पाका हुँदैजान्छन् । एउटै कोखबाट झिनो समयान्तरमा जन्मिएका लवकुशका बानी ब्यहोरा र स्वभावहरुमा आकाश जमिनको फरक पाइन्छ । दाजलव भद्र र ब्यवहारिक प्रकृतिको हुन्छ भने भाइ कुश चन्चल र उट्पट्याङ स्वभावको हुन्छ । मिहिनेती लवमा आफ्नो पढाईप्रति असाध्यै लगाव हुन्छ तरकुशलाई पढाईमा भन्दा चित्रकलामा बढी रुची हुन्छ।पढाईप्रति बेलगाव कुशले पाठ घोक्न रगृहकार्य गर्न त परैजाओस,उसका खाता–कितावकापानाहरु विभिन्न चित्र र रङहरुले भरिएका हुन्छन् ।
यतिसम्म कि कुशले कहिलेकाहिं सखाहरुको बिचैमा उभिएर चौरमा पिसाब गर्दै पिसाबको धाराले बिभिन्न आकृतिका चित्रहरु कोर्ने गर्छ। घरको भित्ता होसकि आँगन, भेटेजती ठाउँमाचित्र कोर्न खप्पिस कुशमा लुप्त कलाकारिता प्रस्टै झल्किन्छ । कुशका उरन्ठ्यौला हर्कतहरु देखेर गुरुहरुका साथै बाबुआमा पनिउसको भविष्यप्रती चिन्तित हुन्छन् । समयचक्र पनि कती छिटोघुम्दो रहेछ ? हिजोअस्ती जन्मिएका झैं लाग्ने लवकुशले पनि देख्दादेख्दै एसएलसी परीक्षा दिन्छन् ।
थलिदै गएका बाबुआमाको सम्पूर्णआशा र भरोसा छोराछोरीमै केन्द्रित हुन्छ चाहे त्यो वृद्धावस्थाका सहाराको रुपमा होस् या बंशबिस्तारकको रुपमा। मास्टर– मास्टर्नीलाई पनि दुबै प्राणप्यारा छोराहरु जीवनमा सफल र आत्मनिर्भर बनून भन्ने चाहना हुनु अस्वाभिक होइन । समकालिन दाजुभाईलाई भावीले फरक फरक भाग्य लेखिदिएको रहेछ । सेवानिवृत्त मास्टरजी सपत्नी छोराहरुको फलाम ढोके परीक्षाको परीक्षाफल सुन्न आतुर हुन्छन् । समयमै बहुप्रतिक्षित परीक्षाफल प्रकाशित हुन्छ जसमा लव अब्बलदर्जामा उतिर्ण हुन्छ तर कुश अनुतिर्ण हुन्छ । एउटा छोराको सफलता सँगै हर्षविभोर भएका बाबुआमा अर्कोसन्तानको असोचनिय असफलतासँगै टुट्न पुग्छन् ।
उच्च अध्ययनार्थ जेहेन्दार लवले काठमाडौँको एउटाईन्जिनियरिङ कलेजमा छात्रवृत्ति पाउँछ । बाबुआमाले हर्षबियोगका मिश्रित आसुँ झार्दै पहिलोपल्ट टाढा जान लागेकोजेठो छोराको निधारमा टिका र गलामासयपत्रीको माला लगाइदिएर बिदाईगर्छन्। गाउँमा सबैको हाई भएको मेधावीलव सुखद भविश्यको सपनाबोकी राजधानी शहरतिर पाइला बढाउन थाल्छ। काँधमा झोला भिरेर नजिकैकोबसपार्कतिर लम्किरहेको लवलाई देखेर गहभरी आसुँ बोकेको निशब्द कुश घरको धुलौटे आँगनमा खुट्टाको बुढी औंलाले कर्याङकुरुङचित्र कोर्दै ओजेल नहुन्जेलसम्म सधैंएउटै थालमा भात खाने दाजुलाईएक टकले हेरिरहन्छ। लबलेबसको ढोकाबाट फर्किएर उसका बिदाई कर्ताहरुलाई हात हल्लाएर बिदाई माग्छ। बुधबारे बजारबाट लव चढेको रात्रीबस कालो धुवाँको मुस्लोफाल्दै गन्तब्यतिर गुड्न् थाल्छ ।
एकदिन आँगनमा हिउँदे घाम तापिरहेका मास्टर मास्टर्नी लेदलिनमा बसेर टोलाइरहेको कुशलाई बोलाएर सम्झाउन थाल्छन् । ‘हेर बाबु ! विद्याधनंसर्वधन प्रधानम्’ यो संसारमा पढाई भन्दाठुलो धन केही हुँदैन । जीवनलाई सफल बनाउन पढाई नै चाहिन्छ ।
नपढेको मान्छेलाई समाजले निम्सरो र ग्वाँजे भन्छ । सँगैमा छ–सात बर्षको अवधीमा तिम्रो दाजु धेरै पैसा कमाउने ईन्जिनियर बनिसक्यो । के तिमीलाई चाहिं भविष्यमा के गर्छु भन्नेछ ? फेरी पढेर परिक्षा देऊ छोरा’ । घरमा सिन्को नभाँच्ने तर दिनभर विना लक्ष्य भौंतारिरहने कुशले बाबुआमाको उपदेशलाई एक कानले सुनेर अर्को कानले उडाइदिन्छ ।
एसएलसीमा गुल्टिएपछी पढाई–गुनाई छोडेर हरदम बरालिरहने बेइलमी कुशको बौलठ्ठी चाला देखेर उसकाबाबुआमा हैरान हुन्छन् । धार्मिक प्रवृत्तिका मास्टरजीले एकाबिहानै नित्यपाठको लागि हनुमान चालिसाकोकिताब पल्टाउन पुग्छन् । कुशले त्यो धार्मिक ग्रन्थको पानै भरी थरी थरीका चित्रहरु कोरेको हुन्छ । त्यस्तै कुशले आटोमाथि राखिएका रामायण र महाभारतका पानाहरुलाई पनि चित्र–बिचित्र पारेको हुन्छ र सो देखेर मास्टरजीको मथिंगल खलबलिन्छ ।
फ्याङ्लो छोरालाई सुमार्गमा ल्याउन हरदम प्रयासरत बाबु आमालाई अचानक एउटा जुक्ति सुझ्छ ।
चित्रकलामा उसको लगाव देखेर अभावै–अभावमा जिन्दगी बिताइरहेका मास्टर मास्टर्नीले उसको जन्मदिनमा आफुले पालेका दुईवटा खसी बेचेरै भएपनि उसलाई उपहारस्वरुप चित्रफलक, कुची र रङकिनिदिन्छन् । अद्वितिय उपहार पाएर पुलकित भएकोकुश आजकल रातदिन रंगर कुचीसँगै खेल्न थाल्छ ।
एक दशकअघि काठमाडौं छिरेर हाल सरकारी कार्यालयको हाकिम भएको लवले राजधानी शहरमा एउटा भब्य महल किन्छ । ईन्जिनियरिङ पढ्दा एउटी सम्भ्रान्त ब्यापारिक घरानाकी सुलक्षणा नामक रैथाने सहपाठीसँग प्रेम सम्बन्ध गाँसिन पुगेको लबले केटी पक्षका अन्तरजातीय विवाहका कट्टर बिरोधी परिवारको नामन्जुरीको बाबजुद पनि उसैसँग अदालती विवाह गर्छ । एक अर्कामा समर्पितर पेशाले दुबै आर्किटेक्ट ईन्जिनियर भएका नव दम्पतीले नयाँघरमा बसेर नवजीवनको सुरुवातगर्छन् । विवाह पश्चात कर्तब्यपरायण लब सपत्नी आफ्नो जन्मभुमी जान्छ र आफ्ना बाबुआमार भाइलाई लिएर काठमाडौं फर्कन्छ।
अभावग्रस्त अतितलाई गाउँमै छोडेका मास्टर दम्पतीका बर्तमानहरु कर्तन्यनिष्ठ छोराबुहारीको निस्कपट स्याहारसुसारमा खुशी–खुशी ब्यतित हुँदै जान्छन् । ऐस आरामले भरपुर शहरी जीवनमा रमाइरहेको कुशले पनि दाजुभाउजुबाट अगाधमाया र हेरचाह पाउँछ।एकदिन कुश चित्रफलकमा तस्बिर बनाइरहेको हुन्छ जसमा अचानक सुलक्षणाको नजर पर्न जान्छ । कुशले दाजुभाउजुकोहुबहु
तस्विर बनाएको देखेर सुलक्षणा अवाक हुन्छे ।
कुशले आफुद्वारा सृजित अन्य थुप्रै मनमोहक तस्बिरहरु पनि भाउजुलाई देखाउँछ । कुशका चित्ताकर्षक कृतिहरु देखेर प्रभावित भएकी भाउजुलाई देवरको लुप्त प्रतिभालाई टेवा दिएर जनसमक्ष परिचित गराउन मन लाग्छ । सोहीनुरुपलव–सुलक्षणाको ब्यवस्थापनमा कुशद्वारा बनाइएका थुप्रै मनोहर चित्रहरु काठमाडौंको एउटा नामी आर्टग्यालरीमा प्रदर्शित गरिन्छन् । कलापारखीहरुद्वारा अवलोकित कुशका कृतीहरु सयौंद्वारा रुचाइन्छन् । तँछाड्– मछाड् र हारालुछको माहोलभित्र चित्र किन्नेहरुको भिडलाई सम्हाल्न आयोजकहरुलाई हम्मे–हम्मे पर्छ। हेर्दाहेर्दै ठुलो धनराशी हातलाग्दै कुश निर्मित सबै चित्रहरु बिक्री हुन्छन्। रातारात कुशको शाखले प्रसिद्दीको शिखर चुम्छ । कुशलाई पुरस्कार र सम्मानहरु थाप्न भ्याइ–नभ्याइ हुन्छ ।
आफ्नो सफलताको मुख्य श्रेय भाउजुलाई दिने कुशलाई टेलिभिजन र पत्रपत्रिकाका अन्तर्वाताहरुमा पनि बग्रेल्ती देखिनथाल्छ्। देशबिदेशमा पनि कुशद्वारा बनाइएका चित्रहरुको माग बढ्न थाल्छ । अन्तत राष्ट्रद्वारा उसलाई उत्कृष्ट कलाकारिता पुरस्कारबाट सम्मानित गरिनुका साथै फ्रान्समा चित्रकलासम्बन्धी उच्चाध्ययन गर्नको लागि छात्रवृत्ति प्रदान गरिन्छ ।
पढाई सकेर पाँच बर्षपछी स्वदेश फर्केको कुशले काठमाडौंमा लवकुश नामक एउटा कलाकेन्द्रको स्थापना गर्छ।देवता समान दाजुभाउजुको सुझावमा एउटी चित्रकार कन्यालाई जीवनसंगिनी बनाउन पुगेको कुशले आफ्ना वृद्ध जनक जननीको इच्छा बमोजिमको एउटा अत्याधुनिक बंगला बनाउँछ ।
आफ्ना छोराछोरीको लगावलाई अदेख गरी अनिच्छित बिषयको भारी बोकाएर सफलताको पहाड चढ्न पठाउने अपितु शीप र कलाकारिताको अध्ययनलाई असुरक्षित ठान्ने समाजलाई सन्देश दिन सफल कुश,नपढ्ने छोराको भविष्यप्रति चिन्तित तर बुढेसकालमा छोराको बिषयगत सफलता देखेर आत्मबोधले परिष्कृत भएका हर्षित मास्टर दम्पती,आरोहीको सोपान बनिदिएर शिखर चुम्न सहयोगीको भूमिका निर्वाह गर्ने निस्वार्थी लव—सुलक्षणा रपारिवारिक आत्मियतालाई स्वर्गानन्दिय अमृत मान्ने कुशकी अर्धांगिनी सुचित्राबिचको आत्मियता र प्रेम पुरातनवादी मान्यताहरुलाई समय सापेक्ष बदल्न हिच्किचाउने समाजमा प्रशंसनीय र अनुकरणीय बन्छ।आ—आफ्ना क्षेत्रमा सफलताका आकाशहरु छुन सफल समृद्ध लवकुशले कहिले पनि आफ्नो धरातल बिर्सेंनन् त्यसैले त उनीहरु सपरिवारगाउँ गएर बर्षको तीनमहिना आफ्नो जन्मघरको छानोमुनी बसेर गाउँको माटोको सुगन्ध पान गर्न मरिहत्ते गर्छन् ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक