शाकाहारी भोजनः निरोगी जीवन (राजेशमान के.सी.)

शाकाहारी भोजनः निरोगी जीवन (राजेशमान के.सी.)
कपन अनलाइन

काठमाण्डौ,बैशाख २२।

मानव जीवन र भोजनबीच अत्यन्त घनिष्ट सम्बन्ध रहेको हुन्छ । हामी जस्तो खानपीन गर्छौं त्यस्तै असर हाम्रो शरीर र मन मस्तिष्कमा पर्ने गर्दछ। यही कारणले गर्दा सामान्यतः शाकाहारी व्यक्तिहरु सरल, शान्त र विनम्र स्वभावका हुन्छन् भने मांसाहारी अलिक हिंस्रक, क्रुर र झगडालु स्वभावको हुने गरेको पाइन्छ । जस्तो जीवजन्तुहरुमा पनि बाघ, भालु, चितुवा, विरालो, कुकुर आदि जस्ता मांसाहार जनावरहरु हिंस्रक र क्रुर स्वभावका हुन्छन् भने खरायो, मृग, जरायो, हात्ती आदि जस्ता जनावरहरु भने अलिक शान्त स्वभावका रहने गरेको हामी पाउँछौँ ।
त्यसो त मासुमा प्रचुर मात्रामा पोषक तत्व पाइने भएको हुँदा शरीरलाई बलियो र ह्रष्टपुष्ट तुल्याउन मासु नै सेवन गर्नुपर्छ भन्ने धेरैको धारणा रहेको पाइन्छ । तर यो धारणा त्यति जायज र युक्तिसंगत देखिंदैन । किनकि मांसाहारबाट जति पोषक तत्व पाइन्छ त्यो भन्दा कैयौँ गुणा बढी पोषक तत्व भट्मास, दाल, मटरकोसा जस्ता गेडागुडीहरुबाट पाउन सकिन्छ । एक रासायनिक विश्लेषणबाट पत्ता लागे अनुसार १०० ग्राम कुखुराको मासुबाट ११४ ग्राम क्यालोरी र अण्डाबाट १६० ग्राम क्यालोरी प्राप्त हुन्छ भने दलहनबाट ३३० ग्राम, दूध र पनीरबाट ३५० ग्राम र बदामबाट ४०० ग्रामसम्म क्यालोरी प्राप्त गर्न सकिन्छ । यस्तै १०० ग्राम अण्डाबाट १३ ग्राम प्रोटिन प्राप्त हुन्छ । जबकि पनीरबाट २४ ग्राम, बदामबाट ३१ ग्राम र अझ दूधबाट त्यो भन्दा पनि बढी प्रोटिन पाउन सकिन्छ । यसको बिपरित १०० ग्राम कुखुराको मासु र अण्डामा कोलेष्ट्रोलको मात्रा क्रमशः ६० र ५५ प्रतिशतसम्म रहेको हुन्छ जुन मुटुको रोग निम्त्याउने प्रमुख कारकतत्व मानिन्छ । त्यसमा पनि बजारमा खुला रुपले बिक्रीको लागि राखिएको रातो रंगको देखिने रांगा भैँसीको मासुको सेवनबाट क्यान्सर जस्तो घातक रोग उत्पन्न हुने प्रवल सम्भावना रहेको कुरा त स्वास्थ्य विशेषज्ञहरु नै बताउने गर्दछन् ।
स्वास्थ्यविद्हरुका अनुसार मांसाहार गर्ने व्यक्तिहरुलाई अनावश्यक मोटोपन, पिसाबसम्बन्धी रोग र छारे रोगका साथै मस्तिष्कमा ट्यूमर हुने सम्भावना पनि रहन्छ । स्मरण रहोस् ‘जुनोसिस’ नामक रोग मांसाहारकै कारण उत्पन्न हुने रोग हो । अर्को कुरा नेपालको कुनै पनि भागमा पशुपंक्षी काट्नुभन्दा पहिले ती पशुपंक्षीमा रोग छ कि छैन भनी परीक्षण गर्ने गरेको पाइँदैन । दशैँ जस्ता पर्वहरुमा त छारा र रोगी रांगा–भैँसीहरु काठमाडौँमा भित्र्याइने गरिन्छ । कतिपय यस्ता रांगा–भैँसीहरु त बाटोमै मर्ने गरेको पनि बेलाबखत सुन्ने गरिन्छ । फेरि मासुको लागि बध गरिँदा पशुपंक्षीहरु अत्यन्त तड्पिने र भयभीत हुने भएकाले तिनीहरुको रक्तप्रवाहमा पनि एक किसिमको विषाणु उत्पन्न हुन पूग्दछ जुन मांसाहारको माध्यमबाट सिधै हाम्रो शरीरमा प्रवेश गर्दछ । त्यस्तै मासु चाँडै सड्ने खालको खाद्य पदार्थ भएको हुँदा यसमा विभिन्न हानिकारक जीवाणुहरुले हुर्कने मौका पाउँछन् जुन विभिन्न घातक रोगहरुको प्रमुख कारण बन्न पुग्दछ ।
अर्को तर्फ शाकाहारी भोजन मांसाहारीको तुलनामा अधिक गुणकारी, सात्विक र सुपाच्य हुन्छ । त्यसो त आर्थिक दृष्टिले पनि अपेक्षाकृति सस्तो र सुलभ मानिने शाकाहारी भोजनमा खनीज तत्व, भिटामिन, फलाम एबं् क्यालोरी पर्याप्त मात्रामा पाइन्छ । जसले शरीरलाई चुस्त र निरोगी राख्न निकै ठूलो मद्धत पु¥याउँछ । खासगरी शाकाहारी भोजनमा भिटामीन ‘सी’ प्रचुर मात्रामा पाइने भएको हुँदा यसले हाम्रो शरीरमा कोलेष्ट्रोलको अनावश्यक बृद्धिलाई नियन्त्रण गरी मुटुको रोगबाट बचाउँछ । यसमा फाइबर एवम् रेसा हुने भएकोले क्यान्सरजस्तो घातक रोगबाट पनि धेरै हदसम्म बच्न सकिन्छ । पित्तासयमा पत्थरीको शिकायत पनि शाकाहारीमा कम हुने गरेको पाइएको छ । त्यस्तै दीर्घजीवी भएर बाँच्नेहरुमा पनि शाकाहारी ब्यक्तिहरुकै संख्या बढी देखिन्छ । सामान्यतया शाकाहारी व्यक्तिहरु मांसाहारीको तुलनामा १५ वर्ष सम्म बढी बाँच्ने विभिन्न अध्ययनहरुबाट थाहा हुन आएको छ । स्वास्थ्य विशेषज्ञहरुका अनुसार भोजनमा भिटामीन, कार्वोहाइड्रेट, सागपात, सलाद तथा एकदलीय अनाज आदि पर्याप्त मात्रामा समाविष्ट भयो भने मस्तिष्कमा सेरोटिननको मात्रा बढ्न जान्छ जसको प्रत्यक्ष प्रभावबाट हाम्रो मस्तिष्क शान्त रहन पुग्छ । तर माछा–मासु, अण्डा आदि जस्ता उच्च प्रोटिनयुक्त भोजनमा ‘ट्रिष्टोफन’ नामक एमिनो एसिड नपाइने भएको हुँदा यस्तो भोजनको सेवनले मस्तिष्कमा सेरोटिनन्को मात्रामा कमी हुन जान्छ जसले गर्दा मानसिक र शारीरिक गडबढी उत्पन्न हुन गई मानिसको आयुमा समेत ह्रास आउन थाल्छ ।
त्यसो त मानव शरीरको आन्तरिक संरचना पनि मांसाहार अनुकूलको देखिँदैन । जस्तो मानिसको पाचनक्रिया मुखबाट शुरु भएको छ जबकि मांसाहारी जीवको पाचनक्रिया आमाशयबाट शुरु हुन्छ । त्यस्तै शाकाहारी भोजनमा कार्बोहाइड्रेटको मात्रा पर्याप्त हुने भएकोले हाम्रो मुख भित्रको र्याल क्षारीय हुन्छ जबकि मांसाहारीको र्याल अम्लीय हुन्छ जसले मासुलाई गलाउन मद्धत गर्दछ । मांसाहारी जीव साधारणतया दाह्रायुक्त एवम् हिंस्रक मनोबृत्तिका हुने गर्दछन् जबकि मानिसको तीखो दाह्रा हुँदैन । यसै सन्दर्भमा अमेरिकाका एकजना वैज्ञानिक वर्ग स्टार्कको भनाई पनि यहाँ उल्लेख गर्नु सान्दर्भिक हुने देखिन्छ । उनी भन्छन् – अमेरिकामा मासु उपलव्ध गर्नका लागि प्रतिवर्ष जति खाद्यान्न वा अनाज पशुपंक्षीहरुलाई खुवाइन्छ त्यसले विश्वका झण्डै आधा जनसंख्याको पेट भर्न सकिन्छ । यस दृष्टिकोणबाट हेर्दा पनि हामीले शाकाहारी भोजनलाई बढावा दिनुपर्ने खाँचो देखिन्छ ।
वास्तवमा पृथ्वीमा रहेका मानिस लगायत सबै जीवजन्तु र पशुपंक्षीहरु प्रकृतिका अनुपम उपहार हुन् । सृष्टिका अमूल्य रचना हुन् । त्यसैले मानिसलाई जस्तै सबै प्राणीलाई बाँच्ने समान अधिकार हुन्छ । फेरि कुनै प्राणीलाई यदि हामी जीवन दिन सक्तैनौँ भने उसको जीवन लिने अधिकार पनि त हामीलाई हुँदैन । जीव वैज्ञानिकहरुले पनि भन्ने गरेका छन् कि पृथ्वी मानिसको मात्र पेवा नभई  सबै जीवजन्तु र पशुपंक्षीहरुको साझा थलो हो । जैविक विविधताको दृष्टिकोणले समेत यस्ता जीवजन्तुहरुको संहार होइन बरु संरक्षणको आवश्यकता छ । यस मानेमा विभिन्न चाडपर्व र परम्पराको नाममा गरिने पशुबली र मांसाहारलाई अब हामीले आध्यात्मिक, वैज्ञानिक र स्वास्थ्यको दृष्टिकोणले समेत विस्थापित गर्दै जानुपर्ने हो कि ?
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।