वैदिक सनातन र वेद : गोविन्द शरण पिएचडी
कपन अनलाइन
काठमाण्डौ ,बैशाख २२ ।
वैदिक धर्म–संस्कृति प्राचीन होइनन् सनातन हुन् सनातनको अर्थ हो – सधैंसधैं रहने । सनातन वैदिक धर्म प्राचीन हो भन्नुको अर्थ पुनः एसलाई समयमा सीमित पारेर बौद्धिक विरोधाभाषमा फंस्नु हो । मैले धेरै विद्वान–विदुषीहरूले अज्ञात रूपमा नै यस्तो गल्तिगरिरहेको पढेको, सुनेको र बुझेको छु । यहुदी, इसाई, मुस्लिम, जैन, बौद्ध तथा विश्वका अन्य ‘धर्महरू सनातन होइनन् ।
मान्छेले आरम्भ गरेका ‘धर्म’हरूले आफुलाई ‘सनातन’ भनेको पढिएको र सुनिएको छैन । ‘सनातन’ भन्ने र एसको स्वामित्व ग्रहण गर्ने अधिकार हामी वैदिकहरूले प्राकृतिक रूपमा प्राप्त गरेका छौँ । अरू कसैले च्यालेन्ज नगरेको यस्तो महत्वपूर्ण पहिचानको स्वामित्व ग्रहण गर्ने अग्रसरता हमारे हुनुपर्छ । यसमा हामी चुक्नुको अर्थ हो ‘सनातन’ अंगबाट विचलन ।
संस्कृतिमा विचलन हुन सक्छ तर ‘सनातन’मा कुनै विचलनको सम्भावना हुँदैन । व्यक्तिले सनातनलाई प्रभावित पार्न सक्दैनन् । यहुदी, इसाई, मुस्लिम, जैन, बौद्धआदि सबै पन्थहरुका साधनाको मूल गन्तव्य ‘सनातन’ नै हो । उनीहरू अनन्त जीवन वा अनन्त निर्वाण चाहन्छन् । वैदिकहरूले यस्तो ‘सनातन’ लक्ष स्वतः प्राप्त गरेका छन् ।
असलमा, उपरोक्त तत्थ्य आत्मसात गरे पुग्छ । यहुदी, इसाई, मुस्लिम, जैन, बौद्ध तथा विश्वका सबैले अन्ततः अन्त्यहीन जीवन नै चाहन्छन् एसको अर्थ हो हामी सनातनीका लागि अन्त्यहीन जीवन ‘अमरता’ हस्तगत नै छ । स्वामित्वका लागि पहल गरे पुग्छ । कुनै धर्म, सम्प्रदाय वा राजनैतिक धाराको विरोध वा स्वागत गर्नुपर्दैन ।
वेदको अर्थ ज्ञान हो । विश्वको कुनै पनि मान्छे अज्ञानी रहन चाहन्न । धार्मिक अधार्मिक दूवैले अज्ञानता चाहन्नन् । यदि विश्वका कुनै पनि मान्छेले अज्ञानता चाहन्नन् भने निश्चय नै ज्ञान चाहन्छन् । सनातन संस्कृतिको अंगका रूपमा हरेक सनातनीले निर्विवाद रूपमा वेदमा अधिकार प्राप्त गरेको छ । विश्वका सबै धार्मिक तथा अधार्मिक सम्प्रदायहरूले ज्ञानलाई नकार्न सक्दैनन् । वेद उनीहरूको बाध्यता हो ।
ऋकको अर्थ सत्याग्रह, यजुको अर्थ कर्म, सामको अर्थ सुख, सन्तोष तथा अथर्वको अर्थ स्वास्थ्य – यी सबैको खोज विश्वका हरेक मान्छेलाई अस्तित्व रहेसम्म रहने छ ।
धन्य छ ईश्वर ! तिमीले हामीलाई वैदिक बनायौं । विश्व वेदमय छ भन्ने सनातन ज्ञान विश्वमा स्थापित गर्यौं ।
वेदमा सबैथोक छ भन्ने ऋषिहरूको भनाईको उत्तराधिकार हामीले स्वीकार्नुपर्छ । वेद अपौरुषेय छ भन्ने ऋषिहरूको मन्त्र साच्चिकै अजेय, अकाट्य तथा सर्वजनीन छ । शिक्षाले विद्या र विद्याबाट ज्ञान आर्जित हुन्छ । विद्याले सृजना गर्छ भने ज्ञानले सृजित नवाचारहरूको उपयोगिता स्थापित गर्छ । वेद भने शिक्षा, विद्या र ज्ञानको समवेत स्वरूप हो ।
शिक्षा, ज्ञान र विद्याका हरेक विन्दूहरू वेद हुन् र मनुष्यको अस्तित्व रहेसम्म वेद प्रकाशित रहने छन् । ज्ञान विना मोक्ष हुँदैन भन्ने महावाक्यले विश्वका संपूर्ण ज्ञानहरूको प्राथमिक लक्ष तय गरेको छ । विश्वभरिका विद्यालय, विश्वविद्यालय, धार्मिक तथा नास्तिक सबैले ज्ञान (वेद) कै कुरा गरिरहेका छन् र वेदको नवीनतम अर्थ ज्ञानका लागि क्रियाशील छन् । ऋषिहरूले साक्षात्कार एस्तो महान् परम्परालाई हामीले स्वामित्व लिएनौं भने भविष्यको इतिहासले सराप्ने छ ।
अव विश्वलाई आँखा (वेद) देखाउने नेतृत्व हामीले स्वीकार्नुपर्छ । विदेशीका धेरै राम्रा कुरा होलान्, उपयोगी होलान् तर इतिहासले वेदको नेतृत्व हाम्रा लागि नै सुरक्षित गरेको छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक